ब्रेकिङ न्युज
विज्ञापन
समाज

मौलाकालिका मन्दिरमा ५० प्रतिशतले घटे भक्तजन

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोटस्थित मौलाकालिका मन्दिरमा दसैँका बेला दर्शन गर्न आउने भक्तजनको संख्यामा ५० प्रतिशतले कमी आएको छ।

देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो र विषम परिस्थितिका कारण यस वर्ष मन्दिरमा दर्शन गर्न आउने भक्तजन घटेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्रदास कँडेल (खगराज)ले गत वर्षको तुलनामा यस वर्ष भक्तजनको संख्या घटेको बताए। विगतका वर्षमा बिहान ४ बजेदेखि नै मन्दिरमा भक्तजनको चाप बढ्ने गरे पनि यस वर्ष त्यस्तो भीड नदेखिएको उनले बताए।

विज्ञापन

‘देशको विषम परिस्थिति र बाढीपहिरोका कारण पनि भक्तजनको संख्या घटेको पाएका छौँ। देश नै पीडामा रहेको अवस्थामा त्यसको प्रभाव धार्मिक क्षेत्रमा पनि परेको छ । विगतमा आउने भक्तजनको तुलनामा यस वर्ष करिब ५० प्रतिशत मात्रै आएको अनुमान छ,’ उनले भने।

दसैँको सप्तमी, अष्टमी र महानवमीमा मौलाकालिका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। विगतका वर्षमा पूजा गर्न लामो समय लाइनमा बस्नुपर्ने भए पनि यस वर्ष त्यस्तो अवस्था नरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कँडेलले जानकारी दिए। विशेष गरी अष्टमीसम्म आइपुग्दा भक्तजनको चाप अपेक्षाकृत कम देखिएको हो।

भक्तजनको चाप घटे पनि मन्दिरमा आउने दर्शनार्थीलाई सहज रूपमा पूजा गर्ने व्यवस्था मिलाइएको छ। धार्मिक सेवा समिति मौलाकालिकाले पूजा छिटोछरितो बनाउन ब्राह्मण पुजारी थप गरेको छ।

ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिँदै छुट्टै व्यवस्थापन गरिएको उनले जानकारी दिए। मन्दिर परिसरको सीमित क्षेत्रलाई ध्यानमा राखेर शान्ति सुरक्षाको व्यवस्था पनि मिलाइएको समितिले जनाएको छ।

मौलाकालिका मन्दिरमा दर्शन गर्न पैदलमार्ग, मोटरबाटो र केबलकारबाट पुग्न सकिन्छ। सडक र केबलकारको सुविधा विस्तार भएपछि भक्तजनलाई मन्दिरसम्म पुग्न सहज भएको छ।

करिब पाँच सय वर्षअघि तत्कालीन पाल्पा राज्यका सैनिक टोलीले मौला स्थापना गरी शक्तिपीठका रूपमा पूजा गर्न थालेकाले मन्दिरको नाम मौलाकालिका रहन गएको जनश्रुति छ।

पछिल्लो दुई दशकयता मन्दिरमा भौतिक पूर्वाधार विकाससँगै भक्तजनको आकर्षण बढ्दै गएको हो। मौलाकालिका मन्दिरमा दर्शन तथा पूजा गरे मनोकामना पूरा हुने जनविश्वास छ।

मन्दिरमा भक्तजनको व्यवस्थापनका लागि सुरक्षा, आर्थिक तथा व्यवस्थापनलगायत विभिन्न समिति गठन गरिएको छ।

दसैँका बेला आउने भक्तजनलाई व्यवस्थित रूपमा दर्शन तथा पूजाको व्यवस्था मिलाउन समितिले विशेष तयारी गर्दै आएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।