साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा इस्लाम धर्म र पैगम्बर मोहम्मदबारे अपमानजनक टिप्पणी गरेको आरोपमा मृत्युदण्ड सुनाइएका २७ वर्षीय श्रीलंकाली नागरिक अनोजन सिवारासाको सजाय उल्टाएको छ।
श्रीलंकाली सरकारका अनुसार कूटनीतिक र कानुनी प्रयासपछि अदालतले मृत्युदण्डको फैसला बदर गरेको हो।
श्रीलंकाका उपविदेशमन्त्री अरुण हेमचन्द्रले सामाजिक सञ्जाल फेसबुकमार्फत अदालतको निर्णय सार्वजनिक गरेका हुन्। उनले सिवारासाको पक्षमा निरन्तर कूटनीतिक पहल गरेको श्रीलंकाली सरकार तथा दुवै देशका कानुनी टोलीलाई धन्यवाद दिएका छन्।

श्रीलंकाका राष्ट्रपति अनुर कुमार दिसानायकले पनि साउदी अदालतको निर्णयको स्वागत गरेका छन्। उनले सिवारासा, उनको परिवार र घटनाबारे चिन्तित श्रीलंकाली नागरिकलाई यस निर्णयले ठुलो राहत दिएको बताएका छन्। बाँकी कानुनी प्रक्रिया पूरा नहुँदासम्म सिवारासा र उनको परिवारलाई आवश्यक सहयोग जारी राख्ने उनले बताएका छन्।
सिवारासा श्रीलंकाको पूर्वी प्रान्तस्थित कलमुनाईका बासिन्दा हुन्। साउदी अरबमा रोजगारी गर्न गएको एक वर्ष नपुग्दै उनी जुलाईमा पक्राउ परेका थिए। फेसबुकमा गरेको टिप्पणीका कारण उनलाई सुरुमा पाँच वर्षको जेल सजाय र ३० लाख साउदी रियाल जरिवाना सुनाइएको थियो। पछि पुनरावेदन अदालतले मुद्दालाई इस्लामिक कानुनअनुसार अघि बढाउँदै मृत्युदण्डको फैसला गरेको थियो।
घटनाको सुरुवात सामाजिक सञ्जालमा फैलिएको एउटा भिडियोबाट भएको थियो। हिन्दु तीर्थयात्रीसँगै रहेको एउटा कुकुरलाई एक युवकले लात्तीले हानेको भिडियो सार्वजनिक भएपछि अनलाइनमा धार्मिक बहस सुरु भएको थियो। त्यस क्रममा एक प्रयोगकर्ताले हिन्दु देवताबारे अपमानजनक टिप्पणी गरेपछि सिवारासाले तमिल भाषामा पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरेका थिए।
उनले आफ्नो फेसबुक पोस्ट हटाउनुका साथै माफी माग्दै भिडियोसमेत सार्वजनिक गरेका थिए। तर, उनको टिप्पणीको स्क्रिनसट रोजगारदातामार्फत साउदी अधिकारीसम्म पुगेपछि उनी पक्राउ परेका थिए।
श्रीलंकाली सरकारले सिवारासाको सजाय घटाउन र उनको जीवन रक्षा गर्न चार सदस्यीय कानुनी टोली रियाद पठाएको थियो। मानवअधिकारवादी संस्था र श्रीलंकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिले पनि मृत्युदण्डको फैसला उल्टाउन माग गरेका थिए।
अन्तर्राष्ट्रिय मानवअधिकार संस्था ह्युमन राइट्स वाचकी साउदी अरबसम्बन्धी अनुसन्धानकर्ता जोई शियाले फेसबुकमा गरेको टिप्पणीका कारण मृत्युदण्ड दिनु अत्यधिक कठोर सजाय भएको बताएकी थिइन्। उनले धर्मबारे टिप्पणी गरेकै आधारमा कसैलाई मृत्युदण्ड दिन नहुने धारणा राखेकी थिइन्।
यद्यपि, मृत्युदण्डको फैसला उल्टिएपछि सिवारासा जेलमै रहने वा उनीमाथि थप कानुनी प्रक्रिया अघि बढ्ने भन्ने स्पष्ट भइसकेको छैन। उनलाई साउदी अरबको दमामस्थित केन्द्रीय कारागारमा राखिएको छ। उनको परिवारले सेप्टेम्बर २८ यता उनीसँग सम्पर्क हुन नसकेको बताएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।