जेम्सका काल्किन श्रेष्ठसहित तीन खेलाडीले १४औं एनएसए कप पौडी प्रतियोगिताको पहिलो दिन राष्ट्रिय कीर्तिमान बनाएका छन्।
नेपाल पौडी संघको आयोजनामा सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतियोगितामा सोमबार काल्किन, जाडेन श्रेष्ठ, इरभिन श्रेष्ठ र टिम स्पर्धाका खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका हुन्। नेपाल पौडी संघका सचिव गंगालाल गोलेले चार खेलाडीसँगै मिक्स चार गुणा ५० मिटर फ्रिस्टायल रिलेमा राष्ट्रिय कीर्तिमान बनेको जानकारी दिए। पहिलो कुल १९ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। त्यसमध्ये काल्किनले चार सय मिटर फ्रिस्टाइल, जाडेनले एक सय मिटर ब्रेस्टस्टोक, इरभिनले एक सय मिटर बटरफ्लाई र ५० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन्। नेपाल पुलिस क्लबका इरभिनले एक सय मिटर बटरफ्लाईमा ५७.५१ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे।
उनले सौरेनबहादुर सिंहको (५८.६४ सेकेन्ड) पुरानो कीर्तिमान भंग गरेका हुन्। इरभिनले हिट चरणमा बनाएको यो कीर्तिमान फाइनलमा भने सुधार गर्न सकेनन्। उनले फाइनलमा ५९.३५ सेकेन्डको समय निकाले। चार सय मिटर फ्रिस्टाइलमा जेम्सका कल्किनले आफ्नै नामको राष्ट्रिय कीर्तिमान सुधार गरे। कल्किनले चार मिनेट १३.२७ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ कीर्तिमान बनाए। यसअघि उनको नाममा चार मिनेट १४.२४ सेकेन्डको कीर्तिमान थियो। उनले फाइनलमा सोही समय निकाले। यस स्पर्धामा पाठशालाका अथर्भ सिंह चार मिनेट १६.९७ सेकेन्डसहित दोस्रो र जेम्सकै मयोन श्रेष्ठ चार मिनेट ३३.९३ सेकेन्डसहित तेस्रो भए। पुरुष एक सय मिटर ब्रेस्टस्ट्रोकमा आइरन इन स्पोर्ट्सका जाडेनले एक मिनेट ४.५५ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाए।

उनले आफ्नै नाममा रहेको एक मिनेट ५.८१ सेकेन्डको पुरानो कीर्तिमान सुधार गरेका हुन्। नेपाल पुलिस क्लबका इरभिनले पनि पुरानो कीर्तिमानभन्दा राम्रो समय निकाले। इरभिनले एक मिनेट ५.६९ सेकेन्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरे। फाइनलमा भने जाडेनले एक मिनेट ५.२३ सेकेन्ड र इरभिनले एक मिनेट ६.९१ सेकेन्डको समय निकाले। पुरुष ५० मिटर फ्रिस्टाइलमा पनि इरभिनले राष्ट्रिय कीर्तिमान बनाए। उनले २३.८० सेकेन्डमा दूरी पूरा गर्दै अलेक्जेन्डर शाहको नाममा रहेको २३.९० सेकेन्डको पुरानो कीर्तिमान भंग गरे। इरभिनले फाइनलमा उक्त समय निकालेका हुन्। आइरन इन स्पोर्ट्सका एल्भिन महर्जन २४.०४ सेकेन्डसहित दोस्रो र निसर्ग वाटिका स्कुलका रेवन्तबहादुर श्रेष्ठ २४.३४ सेकेन्डसहित तेस्रो भए।
महिला १०० मिटर व्यक्तिगत मिड्लेमा निसर्ग वाटिका स्कुलकी इरा अमात्यले पनि राष्ट्रिय सर्ट कोर्स कीर्तिमान कायम गरिन्। उनले प्रारम्भिक चरणमा एक मिनेट १६.२४ सेकेन्डको समय निकालिन्। फाइनलमा भने इरा र जेम्सकी श्रेया महर्जनले समान एक मिनेट १६.४१ सेकेन्डमा दूरी पूरा गरे। दुवै संयुक्त रूपमा पहिलो भए भने निसर्ग वाटिका स्कुलकी पलिष्ठा शाक्य एक मिनेट १९.०८ सेकेन्डसहित तेस्रो भइन्। पहिलो दिन १९ वटा स्पर्धामा फाइनल भयो। मंगलबार पनि १९ वटामा नै प्रतिस्पर्धा हुनेछ। निसर्ग वाटिकाले मिक्स रिलेमा कीर्तिमान कायम गर्यो।
नेपाल पौडी संघको आयोजनामा असोज २६ र २७ गते सातदोबाटोस्थित पौडी पोखरीमा सञ्चालन भइरहेको प्रतियोगितामा ३६ टोलीका १५१ खेलाडी सहभागी छन्। चीनको बेइजिङमा डिसेम्बरको पहिलो साता आयोजना हुने सर्ट कोर्स विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।