आश्विन शुक्ल चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने अन्तिम दिन भएकाले सडकमा टीका थाप्न हिँड्नेको चहलपहल देखिन्छ।
विजयादशमीका दिन कात्तिक ४ गते दश दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिन अर्थात् आज सम्म जारी रहने भएकाले सडकमा धेरै मानिसको चहलपहल देखिएको हो।
नवदुर्गाको प्रसाद ग्रहण गर्ने आज अन्तिम दिन हो। पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराई भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको बताए।

केही दिन सुनसान रहेको राजधानी शहरमा शनिबार बिहानदेखि भने केही चहलपहल बढ्न थालेको देखिन्छ। मानिसको चहलपहल बढेको देखिए पनि सवारी कम हुँदा यात्रा सहज हुन सकेको छैन। सार्वजनिक यातायातमा कोचाकोच गरेर टीका थाप्न र आशीर्वाद लिन हिँड्नेको चहलपहल भने बजारमा हिजोका दिनभन्दा आज बढी छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।