खोटाङमा ‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानबाट ६४२ चेलीबेटीले निःशुल्क मोटरसाइकल सेवा पाएका छन्।
दसैंमा माइतीघर आउजाउ गर्ने चेलीबेटीलाई लक्षित गर्दै खोटाङमा उक्त अभियान सञ्चालन गरिएको हाे।
चाडबाडका बेला सार्वजनिक यातायातको अभावमा आवतजावत गर्न समस्या भोग्ने चेलीबेटीलाई लक्षित गर्दै जिल्लाका युवाहरूले चलाएकाे अभियानले चेलीबेटीलाई सहज र सुरक्षित यात्राको अवसर प्रदान गरेको हो।

दसैंको अवसरमा कात्तिक ३ देखि ६ गतेसम्म चार दिन सञ्चालन गरिएको अभियानअन्तर्गत पहिलो दिन ५०, दोस्रो दिन ११०, तेस्रो दिन २५२ र चौथो दिन २३० जना गरी ६४२ चेलीबेटीले मोटरसाइकल सेवा लिएका हुन्।
विशेषगरी आर्थिक अवस्था कमजोर भएका तथा आफ्नै सवारीसाधन नभएका छोरीचेलीलाई लक्षित गरी सञ्चालन गरिएको अभियानमा युवाहरूले आफ्नै मोटरसाइकल प्रयोग गरेर सेवा दिएका थिए।
विभिन्न सहयोगीदाताबाट इन्धनको व्यवस्था गरी माइतीघरदेखि घरसम्म र घरदेखि माइतीघरसम्म आवतजावत गर्ने चेलीबेटीलाई निःशुल्क सेवा उपलब्ध गराइएको अभियानका संयोजक सञ्जयकुमार राईले बताए।
अभियानअन्तर्गत जिल्लाभित्र ३५ किलोमिटरसम्म सेवा दिने व्यवस्था गरिएको थियो संयोजक राईले भने सेवाको आवश्यकता र चेलीबेटीको सहजता ध्यानमा राख्दै छिमेकी जिल्ला भोजपुरसम्म पनि सेवा विस्तार गरिएको अभियानमा ५० जनाभन्दा बढी राइडर परिचालित भएका थिए।
महिला, बालबालिका तथा वृद्धवृद्धालाई विशेष प्राथमिकता दिइएको थियो। अभियानका संयोजक राईका अनुसार चेलीबेटीलाई उपहार दिने परम्परा भौतिक उपहारमा सीमित नराखी उनीहरूप्रति सम्मान व्यक्त गर्ने, पारिवारिक एकता र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने तथा समस्यामा परेकालाई सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
चाडबाडका बेला सार्वजनिक यातायात पर्याप्त रूपमा उपलब्ध नहुने र यही समयमा चेलीबेटी माइती तथा मामाघर जाने परम्परा रहेकाले उनीहरूको यात्रालाई सहज बनाउन अभियान सुरु गरिएको संयोजक राईले बताए।
युवाहरूको सक्रियता र सहयोगीदाताको सहकार्यमा सञ्चालन गरिएको अभियानले सामाजिक उत्तरदायित्व र आपसी सहयोगको सकारात्मक सन्देश दिएको छ।
तिहारमा पनि निःशुल्क मोटरसाइकल सेवा दिइने
अभियानलाई निरन्तरता दिँदै तिहारलाई लक्षित गरेर कात्तिक २४, २५ र २६ गते पनि निःशुल्क मोटरसाइकल सेवा सञ्चालन गर्ने तयारी गरिएको छ।
सेवा लिन इच्छुक चेलीबेटीले रत्नपार्कस्थित अभियानको सचिवालयमा सम्पर्क गरी यात्राको सुरुवात र गन्तव्य स्थान तथा सम्पर्क नम्बर टिपाउनुपर्नेछ। अभियानलाई सहयोग गर्न विभिन्न दाताहरू सचिवालयमै पुगेर सहयोग उपलब्ध गराइरहेका छन्।
युवाहरूको श्रम, आफ्नै सवारीसाधनको उपयोग र सहयोगीदाताको योगदानबाट सञ्चालन भइरहेको यस अभियानले चाडपर्वमा घरपरिवारसँग भेटघाट गर्न जाने चेलीबेटीको यात्रामा राहत पुर्याउने अपेक्षा गरिएको छ।
चेलीबेटीप्रतिको सम्मानलाई व्यवहारमै उतार्दै सामाजिक सद्भाव, पारिवारिक आत्मीयता र सहयोगको संस्कारलाई बलियो बनाउने उद्देश्यले सुरु गरिएको यो अभियान खोटाङमा युवाहरूको सामाजिक सक्रियताको उदाहरणका रूपमा देखिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।