ब्रेकिङ न्युज
विज्ञापन
समाज

दशैंको टीका : कतै रौनक, कतै सुनसान

आज विजयादशमी। निधारमा रातो टीका र शिरमा पहेँलो जमरा सिउरिएर आफन्तबाट आशीर्वाद थाप्ने दिन। घरआँगन आफन्तले भरिएका छन्। कोही टीका र जमरा लगाएर तस्बिर खिचिरहेका छन्, कोही सामाजिक सञ्जालमा खुसी साटिरहेका छन्। कतै पिङको मच्चाइ छ। धेरैका लागि दशैं उमङ्ग, भेटघाट र मीठोमसिनो खाने पर्व बनेको छ। गाउँबस्ती र सहरका टोलटोलमा दशैंका गीत गुञ्जिरहेका छन्।

आउँथ्यो दशैं आउन त पहिला नि, यस्तो मज्जा भा’थे’न कहिल्यै नि…।’ गायक हेमन्त शर्मा र गायिका मेलिना राईको स्वरमा रहेको यो गीतमा ओठ मिलाउँदै टिकटकमा रमाउने पनि कम छैनन्। तर, यसको ठीक विपरीत ‘यस्तो नमज्जा कहिल्यै भएको थिएन’ भन्ने अवस्था यसपालि भोटेकोशी बाढीपीडितले भोग्नुपरेको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण घरबार र आफन्त गुमाएकाहरूका लागि यस वर्षको दशैंजस्तो पीडादायी दशैं सायद यसअघि कहिल्यै आएको थिएन।

विज्ञापन

आज दशैंको टीका। कसैका निधारमा रातो टीका टल्किएको छ, कतै प्रियजनको सम्झनाले आँखा रसाएका छन्। कतै आफन्तको हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिन भ्याइनभ्याइ छ। तर, कतिपयका आशीर्वाद दिने आफन्तलाई नै बाढीले बगाएको छ। बाढीमा बेपत्ता भएका आफन्त कतैबाट फर्किएर आइहाल्छन् कि भन्ने प्रतीक्षा अझै टुटेको छैन। कतै घरमा दशैंको रौनक छ, कतै घर नै छैन। कतै गाउँमा रमझम बढिरहेको छ, कतै गाउँ नै बगर बनेको छ।

विनाशकारी बाढीले घरबार र सम्पत्ति मात्र बगाएन, त्योभन्दा पीडादायी रूपमा परिवारका सदस्य र आफन्त पनि गुमायो। बाढी आएदेखि नै धेरै प्रभावित परिवारलाई पीडा बिर्सन मुस्किल भएको छ। वर्षमा एकपटक आउने दशैंले समेत उनीहरूको मनमा खुसी फर्काउन सकेन।

नुवाकोटको विदुर नगरपालिका–१० का वडाध्यक्ष गणेशकुमार नेपाललाई यस वर्षको दशैंले विगतका वर्षभन्दा बढी पीडा दिएको छ। बाढीले प्रभावित परिवारका घर, सम्पत्ति र आफन्त खोसेको छ। यस्तो अवस्थामा टीका लगाउने र उत्सव मनाउने कुरा उनीहरूका लागि निकै परको विषय बनेको छ।

“यहाँ न बस्ने घर छ, न अलिअलि गरेर जोडेको सम्पत्ति छ, न आफ्ना प्रियजन छन्। दशैंमा टीका लगाउने त कुरै भएन,” नेपाल भन्छन्, “टीका लगाउन मिल्नेहरूलाई पनि खुसी छैन। सामाजिक सञ्जालमा देखिने तस्बिरले मात्रै दशैं आएछ भन्ने थाहा हुन्छ। यहाँ त केही छैन। दशैं आएको हो कि होइन भन्ने पत्तै हुँदैन।”

दशैंमा घर फर्किने, आफन्तसँग भेटघाट गर्ने र मीठोमसिनो खाने चाहना सबैको हुन्छ। तर, घर नै नरहेपछि र आफ्ना मान्छे नै गुमाएपछि पर्वको अर्थसमेत फेरिएको महसुस भएको छ नेपाललाई। अरूका घरमा टीका र जमराको रौनक देख्दा आफ्नै विगत सम्झिएर उनको मन भक्कानिन्छ।

विदुर नगरपालिकाकै वडा नं. ११ मा बाढीको प्रत्यक्ष प्रभाव खासै परेन। तर, छिमेकी वडाका बासिन्दाले भोगेको पीडाले त्यहाँका स्थानीयको मन पनि दुखाएको छ। आफ्नो घर सुरक्षित रहे पनि छिमेकीको घर उजाडिएको र आफन्त गुमाएको दृश्यले दशैंको उत्साह घटाएको वडाध्यक्ष बाबुराम तामाङ बताउँछन्।

“गत वर्ष पिङ खेल्ने, बाजा बजाउने, नाचगान गर्ने, आफन्त भेट्ने, मिठा खाने र राम्रा लुगा लगाउने गरिन्थ्यो। दशैंको रौनक नै अर्कै हुन्थ्यो,” तामाङ भन्छन्, “यस वर्ष त छिमेकीलाई परेको पीडा देखेर हाम्रोमा पनि दशैंको उत्साह छैन।”

दशैं आफन्तसँगको भेटघाट र आपसी सद्भावको पर्व हो। त्यसैले छिमेकीको आँसु देखेर रमाउन सकिँदैन। यस वर्ष विदुर–११ का बासिन्दाले पनि त्यही अनुभूति गरिरहेका छन्। बाढीले प्रत्यक्ष क्षति नपुर्‍याएको बस्तीमा समेत दशैंको उल्लास पहिलेझैँ फर्किन सकेको छैन।

छ दशकको जीवनमा नभोगेको पीडा

रसुवाको उत्तरगया गाउँपालिका–५ का बासिन्दा बासुदेव लामिछानेले जीवनका छ दशक पार गरिसक्दा पनि अहिलेको जस्तो पीडादायी दशैं कहिल्यै अनुभव गरेका थिएनन्। बाढीले उनका आफन्त र गाउँलेको ज्यान लियो। सम्पत्ति बगायो। गाउँले र आफन्तसँगको पुरानो सामीप्य पनि बाढीसँगै हरायो।

“आफ्नो सम्पत्ति सबै बगायो। आफन्त छैनन्, गाउँले छैनन्। दुई महिना बित्न लाग्दा पनि हामी शोकमै छौँ,” लामिछाने भन्छन्, “ओहो, आज टीका पो रहेछ भन्ने लाग्छ। दशैं आएको हो कि गएको हो, त्यसको महत्त्व नै छैन।”

विगतका वर्षमा दशैं नजिकिँदै गर्दा घरआँगन सफा गर्ने, नयाँ लुगा किन्ने, आफन्तलाई बोलाउने र टीकाको तयारी गर्ने चटारो हुन्थ्यो। यस वर्ष भने लामिछानेका लागि ती सबै सम्झनामा सीमित भएका छन्। आफ्नो ठाउँमा फेरि पहिलेजस्तै रमझमसहित दशैं फर्किएला कि नफर्किएला भन्ने चिन्ताले पनि उनलाई सताएको छ।

उत्तरगया गाउँपालिकाकै अर्की स्थानीय सपना तामाङलाई पनि यसपटक दशैं आएको अनुभूति हुन सकेको छैन। विगतमा खुसी र उल्लास बोकेर घरभित्रिने दशैं यस वर्ष पीडा र बिछोडका सम्झना लिएर आएको उनको अनुभव छ। चाडपर्वले विगतका सुखद क्षण सम्झाउँछन्, तर त्यही सम्झनाले प्रियजन गुमाएकाहरूको घाउ थप बल्झाउँछ।

बाढीको प्रत्यक्ष मारमा परेका परिवारको पीडा आफ्नै ठाउँमा छ। तर, घर सुरक्षित रहेकाहरूका लागि पनि यस वर्षको दशैं सहज छैन। कुनै समय सँगै चाडपर्व मनाएका छिमेकी नहुँदा गाउँबस्ती नै सुनसान बनेको छ। एकै ठाउँमा हुर्किएका, दुःखसुख साटेका र वर्षौंदेखि दशैंमा भेटघाट गर्दै आएका मानिस नहुँदा चाडको रौनक हराएको छ।

३० छिमेकी गुमाएको गाउँमा छैन दशैंको उल्लास

गोरखाको पालुङटार नगरपालिका–५ मा पनि यस वर्ष विगतका दशैंमा जस्तो चहलपहल छैन। घरआँगनमा आफन्त भेला हुने र गाउँमा चाडपर्वको उल्लास छाउने क्रम कमजोर बनेको छ। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले यहाँका ३० जना छिमेकीको ज्यान लिएपछि गाउँले अझै शोकबाट बाहिर निस्कन सकेका छैनन्।

रसुवाको गोसाइँकुण्ड यात्राका लागि ३६ यात्रु बोकेर गएको ग २ ख ११५२ नम्बरको पृथ्वी यातायातको बस बाढीमा बग्दा छ जना मात्रै सकुशल रहेका थिए। एउटै घटनामा ठूलो सङ्ख्यामा छिमेकी गुमाउनुपर्दाको पीडा पालुङटार–५ का बासिन्दाका लागि अझै ताजा छ।

यस वर्ष गाउँमा दशैंको टीका थाप्ने, जमरा लगाउने र आफन्तसँग भेटघाट गर्ने चहलपहल नभएको सोही वडाका वडाध्यक्ष दीपक पाण्डे बताउँछन्।

“यसपटक पहिलाको जस्तो दशैंको टीका थाप्ने, जमरा लगाउने र आफन्त भेटघाटको चहलपहल नै छैन,” पाण्डे भन्छन्।

दशैंमा गाउँ फर्किनेहरूका लागि घर मात्रै गन्तव्य हुँदैन। त्यहाँ भेटिने आफन्त, छिमेकी र साथीभाइ पनि उत्तिकै प्रिय हुन्छन्। तर, यसपटक पालुङटारका धेरै बासिन्दाका लागि घरमै बसेर पनि आफ्ना मान्छे भेट्न पाउने अवस्था छैन। सँगै दशैं मनाउनेहरू नै नरहेपछि चाडपर्वको खुसी हराएको छ।

दशैंको टीका निधारमा लगाइने रङ मात्रै होइन, आफन्तबीचको सम्बन्ध, माया र आशीर्वादको प्रतीक पनि हो। त्यसैले प्रियजन गुमाएका परिवारका लागि टीका र जमराभन्दा उनीहरूसँग बिताएका पुराना क्षणको सम्झना बढी गहिरो बनेको छ।

एकातिर देशभर दशैंको रौनक छ। सामाजिक सञ्जालमा टीका र जमराका तस्बिर छरिएका छन्। अर्कातिर बाढी प्रभावित बस्तीका धेरै घरमा शोकको सन्नाटा छ। उनीहरूका लागि यसपटक दशैं आएको छ, तर दशैंको खुसी आएको छैन।

यस वर्षको दशैंले यही फरकफरक अनुभूति उजागर गरेको छ, कतै रौनक छ, कतै सुनसान।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।