मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका इन्जिनियर कुमार लामिछाने।
काठमाडौँ नागार्जुन नगरपालिका-६ रामकोट, डाँडापौवामा गाई तथा भैँसीपालन गरी मासिक रु १५ लाख आम्दानी गरेर इन्जिनियर लामिछाने समाजमा उदाहरणीय बन्न सफल भएका छन्।
गोरखा सिरानचोक गाउँपालिका-७ खहरेका सिभिल इन्जिनियर लामिछानेले २०७७ साल जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी सो पेसा अँगाल्दै आएका हुन्।

उनले रु १० करोड लगानीसहित मासिक रु एक लाखका दरले जम्मा छ रोपनी जग्गा भाडामा लिई गाई तथा भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएको जानकारी दिए। सुरुमा ३० वटा भैँसीबाट व्यवसाय सञ्चालन गरेका लामिछानेको गोठमा अहिले २०० गाई र ५० वटा भैँसी रहेका छन्।
‘इन्जिनियर भएपछि निर्माणसँग सम्बन्धित काम गर्थें, सात वर्षदेखि जीवनसाथी इन्जिनियर सङ्गीतासँगको सहयोग र सहकार्यमा ‘इन्जिनियरिङ’ पेसासँगै गाई तथा भैँसीपालन व्यवसाय गरेको हुँ। यस व्यवसायबाट केहीले रोजगारी पाएका छन् भने आम्दानी पनि राम्रै छ,’ उनले भने।
इन्जिनियर लामिछानेको गोठबाट हाल दैनिक एक हजार २०० लिटर दूध उत्पादन हुन्छ। उत्पादित दूधमध्ये केही दूध विकास संस्थान (डिडिसी) र नमुना डेरी तथा बाँकी दूध उपत्यकाका विभिन्न डेरीहरूमा बिक्रीवितरण हुँदै आएको उनले जानकारी दिए।
लामिछानेका अनुसार हाल भैँसीको दूधको मूल्य प्रतिलिटर रु १७० र गाईको रु १०० छ। गाई र भैँसीको दूध दुहुन मेसिन जडान गरिएको छ। उनको फार्ममा हाल प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा ५० कर्मचारी कार्यरत छन्।
दूध बिक्रीबाट मासिक रु ४५ देखि ५० लाख आम्दानी हुँदै आए पनि खर्च कटाएर रु १५ लाख बचत हुने गरेको उनले बताए। गाई र भैँसीलाई खुवाउने पराल र दानामा बढी खर्च हुने गरेको उनको भनाइ छ। रासस


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।