भोजपुर नगरपालिका–५ का किसान कृतिमान विष्ट परम्परागत डोको बुन्ने पेसाको संरक्षणमा जुटेका छन्। खेतीपातीको कामबाट बचेको समय सदुपयोग गर्दै उनले पुस्तौँदेखि चलिआएको बाँसको चोयाबाट डोको बुन्ने सीपलाई निरन्तरता दिँदै आएका छन्।
गाउँघरमा कृषि तथा घरायसी काममा प्रयोग हुने डोको पछिल्लो समय बजारमा पाइने आधुनिक सामग्रीका कारण निकै कम मात्रामा प्रयोग हुन थालेको छ। ग्रामीण क्षेत्रमा यसको आवश्यकता भने अझै रहेको स्थानीयवासीको भनाइ छ। ग्रामीण आवश्यकतालाई ध्यानमा राख्दै विष्टले स्थानीयस्तरमै पाइने बाँसको प्रयोग गरेर विभिन्न आकारमा डोको तयार पार्दै आएका छन्।
चोया तयार गर्ने, चोयालाई आवश्यक आकारमा मिलाउने र हातैले बुनेर डोको तयार गर्ने उनको नियमित काम हो। उनका अनुसार आकारका आधारमा एउटा डोको रु ३०० देखि ७०० सम्ममा बिक्री हुने गरेको छ। ठूलो आकारको डोको बनाउन पाँचदेखि छ घण्टासम्म समय लाग्ने उनले बताए। “आफ्नै गाउँमा पाइने बाँसबाट चोया तयार गरेर डोको बुनिन्छ। फुर्सदको समयमा बुन्दा सीप पनि जोगिन्छ भने केही आम्दानी हुन्छ”, विष्टले भने।

कृषि कार्यमा प्रयोग हुने डोको, नाङ्लो, डालोलगायतका सामग्री ग्रामीण जीवनका अपरिहार्य साधन हुन्। खेतबारीबाट उत्पादित मकै, धान, कोदो, आलुलगायतका कृषि उपज ओसारपसार गर्न तथा घाँस, दाउरा र घरायसी सामान बोक्न डोको प्रयोग हुने गरेको छ। स्थानीयस्तरमा सहजै पाइने बाँसको उपयोग गरी तयार गरिने यस्ता सामग्री वातावरणमैत्री हुनुका साथै स्थानीय सीप र स्रोतसाधनको उपयोगको उदाहरण बनेको छ।
पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको डोका बुन्ने सीप पछिल्लो पुस्तामा हस्तान्तरण हुन नसक्दा हराउँदै जाने अवस्था रहेकाले आफूले जानेको सीपलाई निरन्तरता दिएको उनले बताए। नयाँ पुस्ताले सीप सिकेर व्यावसायिक रूपमा अघि बढ्न सके यसलाई आम्दानीको महत्त्वपूर्ण स्रोत बनाउन सकिने उनको भनाइ छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।