संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल रविन थापाको नेतृत्वको प्रशंसा गरिएको छ।
कंगोस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा बटालियन कमान्डरका रूपमा काम गरेका थापाले महिला सैनिकलाई सक्रिय भूमिकामा सहभागी गराएको भन्दै संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना अभियानले उनको कामको चर्चा गरेको हो।
संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना अभियानले सामाजिक सञ्जालमार्फत थापाको नेतृत्वमा महिला सैनिकलाई गस्ती, स्थानीय समुदायसँगको संवाद, सुरक्षा टोली र आपत्कालीन अभियानमा सहभागी गराइएको जानकारी दिएको छ। यसले स्थानीय महिला तथा बालिकाका समस्या बुझ्न र समुदायसँग प्रभावकारी संवाद गर्न सहयोग पुगेको थियो।

थापाले महिला, शान्ति तथा सुरक्षा एजेन्डालाई सैन्य अभियानकै अभिन्न अंगका रूपमा अघि बढाएका थिए। महिला सैनिकलाई परम्परागत रूपमा पुरुषको भूमिका बढी रहने जिम्मेवारीमा समेत सहभागी गराइएको थियो।
हिंसापछि हजारौं सर्वसाधारणले संयुक्त राष्ट्रसंघका आधार शिविरनजिक सुरक्षा खोजेका बेला थापाको बटालियनले गस्ती र सुरक्षा व्यवस्था थप मजबुत बनाएको थियो। सुरक्षा खोज्नेहरूमध्ये महिला र बालबालिकाको संख्या उल्लेख्य थियो।
त्यस्तै, महिला सैनिकलाई सामुदायिक छलफल र शिक्षामा पहुँच बढाउने काममा पनि सहभागी गराइएको थियो। एक अभियानका क्रममा सुरक्षा जोखिम बढेको क्षेत्र हुँदै नौ बालिकासहितका विद्यार्थीलाई परीक्षामा सहभागी हुन सुरक्षित रूपमा पुग्न बटालियनले सहयोग गरेको थियो।
संयुक्त राष्ट्रसंघले महिला सैनिकलाई नेतृत्वको अवसर दिनु, स्थानीय महिलाका कुरा सुन्नु र उनीहरूको दृष्टिकोणलाई सुरक्षा अभियानमा समेट्नुले शान्ति मिसनलाई अझ प्रभावकारी बनाउने जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।