ब्रेकिङ न्युज
विज्ञापन
समाज

बाढीले खोस्यो दशैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बडादशैंमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ?

बर्षभरि जहाँ भए पनि दशैंमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका केही परिवारका लागि यस बर्ष दशैंको खुसी आएन ।

भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको दशैं उल्लासमय नभएर खल्लो बन्न पुग्यो ।

विज्ञापन

विगतका बर्षमा दशैंको दिन घरमा आफन्त जम्मा हुन्थे । अभिभावकको हातबाट टीका र जमरा लगाउने, आशीर्वाद लिने र परिवारसँगै रमाइलो गर्ने चलन थियो ।

तर, यस बर्ष दशैंको टीका लगाउन घर फर्किने आफन्तको खबर कुरिरहेका परिवारमा बाढीले एकाएक दुःख निम्त्यायो । टीका लगाउने प्रतीक्षामा रहेका उनीहरूका लागि बाढीको खबरसँगै दशैंको खुसी पनि खोसियो ।

गेरुवा–५ सुखारकी ४२ वर्षीया भगिरथी थारुका लागि यस बर्षको दशैं विगतका वर्षजस्तो रहेन । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर छोरा जगत थारु बेपत्ता भएपछि उनको परिवार शोकमा छ । दशैंमा छोरासँगै टीका लगाउने र खुसी साट्ने आशा गरेकी भगिरथीको निधार यस वर्ष खाली नै रह्यो ।

“दशैंमा छोराछोरीसँगै बसेर टीका लगाउने, आशीर्वाद दिने र लिने गथ्र्यौं । यस बर्ष पनि दशैंमा छोरा आउला, टीका लगाउन पाइएला भन्ने आशा थियो । तर, बाढीमा छोरा बेपत्ता भएपछि हाम्रो त खुसी नै खोसियो,” उनले भनिन।

डेढ महिनादेखि छोराको पर्खाइमा रहेकी भगिरथीलाई दशैं आए पनि मनमा खुसी छैन । घरमा चाडपर्वको वातावरण बने पनि छोराको अत्तोपत्तो नहुँदा उनको मनमा पीडा र पर्खाइ मात्रै छ । आफन्त फर्किएर आउने आशा अझै मरेको छैन, तर यस वर्षको दशैं भने छोरासँग टीका लगाउने रहर अधुरै राखेर बितेको छ ।

राजापुर ९ तिनघरवाका सिर्जना थारुको पीडा पनि उस्तै छ । भोटेकोशी बाढीमा श्रीमान प्रदीप थारु बेपत्ता भएपछि उनको परिवारमा पनि दशैंको रौनक हराएको हो । हरेक वर्ष दशैंमा श्रीमानसँग टीका लगाएर आशीर्वाद साट्ने उहाँ यस बर्ष श्रीमान्को अनुपस्थितिमा निकै निराशामा दशैं बित्ने भएको छ ।

“दशैंमा श्रीमान् घर आउनुहुन्छ, टीका लगाउँछौँ भन्ने आशा थियो । बाढीमा बेपत्ता भएपछि त्यो खुसी पनि रहेन । श्रीमान कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ भन्ने थाहा छैन । यस्तो अवस्थामा कसरी खुसी भएर दशैं मनाउनु ?” उनले भनिन् ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर गेरुवा गाउँपालिका–५ सुखारका जगत थारु, मनोज थारु, सुरेन्द्र थारु र सर्वेस थारु गरी चार जना बेपत्ता भएका थिए । त्यसैगरी राजापुर–९ तिनघरवाका सुरेश थारु, अमिस थारु, सिसन थारु, प्रदीप थारु र राजु थारु गरी पाँच जना बेपत्ता भएका थिए ।

उनीहरूका परिवार डेढ महिनादेखि आफन्त फर्किने आशामा छन् । बेपत्ताको अवस्था पत्ता नलागेकाले परिवारले अन्तिम संस्कार तथा काजक्रिया गर्न सकेका छैनन् ।

गेरुवा गाउँपालिका–५ का वडाध्यक्ष तथा प्रवक्ता धर्मप्रकाश चौधरीका अनुसार भोटेकोशी बाढीका कारण गाउँपालिकाका १४ परिवारमा यस बर्ष दशैंको खुसी छाउन सकेन ।

“बाढीमा आफन्त बेपत्ता भएपछि परिवार शोकमा छन् । दशैंमा टीका लगाएर खुसी साट्ने समयमा उनीहरू आफन्तको पर्खाइमा छन् । यस्तो अवस्थामा कसरी खुसी भएर चाडपर्व मनाउन सकून् र ?” उनले भने ।

भोटेकोशी बाढीमा परी बर्दियाका ७६ जना बेपत्ता भएका छन् । बेपत्ता आफन्तको अवस्था अज्ञात रहँदा ती परिवारका लागि दशैंको टीका केवल परम्परा र उत्सवको विषय मात्र बनेन, आफन्तसँगको विछोड र पुनर्मिलनको आशासँग जोडियो ।

अरूका घरमा परिवारका सदस्यले एकअर्कालाई टीका लगाइदिँदै आशीर्वाद साटिरहेका बेला पीडित परिवार भने बेपत्ता आफन्त फर्किने आशामा दिन गन्दै छन् । दशैंको टीका लगाएर परिवारसँग खुसी साट्ने उनीहरूको रहर यस वर्ष बाढीले अधुरै बनायो ।

उनीहरुका घरमा पनि चाडपर्व त आएको छ । तर पनि मनमा खुसी भने फर्किन सकेको छैन । उनीहरूका लागि यस वर्षको दशैं टीका र जमराको उत्सव भन्दा पनि बेपत्ता आफन्तको सम्झना, फर्किने आशा र पीडाबीच बितेको छ । शम्भु प्रसाद थारु/रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।