विज्ञापन
समाज

‘दशैं’ मनाउन पर्यटक बोलाउँदै पोखरा

हिमाल, ताल र प्राकृतिक सुन्दरताका लागि प्रख्यात पोखराले अब नेपाली संस्कृति र चाडपर्वमार्फत पनि पर्यटक आकर्षित गर्ने प्रयास थालेको छ। यही उद्देश्यसहित पोखराको लेकसाइडमा पहिलोपटक दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना गरिएको छ। महोत्सवमा विदेशी पर्यटकलाई टीका, जमरा लगाइदिनुका साथै दशैंका परिकार, पिङ र मौलिक सांस्कृतिक प्रस्तुतिमार्फत नेपाली पर्वको अनुभव गराइएको छ।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा आइतबार लेकसाइडस्थित वाराही खेलमैदानमा भएको महोत्सवमा सहभागी पर्यटकले नेपाली परम्पराअनुसार टीका, जमरा र दक्षिणा ग्रहण गरेका थिए। नेपालीको प्रमुख चाड दशैंलाई नजिकबाट अनुभव गर्न पाउँदा पर्यटक उत्साहित देखिएका थिए।

प्रकृति, संस्कृति र साहसिक गतिविधि पर्यटनका प्रमुख आधार हुन्। यी तीनै पक्षको संगम पोखरामा छ। हिमाल र तालको दृश्यसँगै प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जम्प, जिपलाइन, स्काई डाइभिङ, क्यानोनिङ, र्‍याफ्टिङ र कायाकिङजस्ता गतिविधिले पोखरालाई साहसिक पर्यटनको आकर्षक गन्तव्य बनाएका छन्। अब स्थानीय संस्कृति र चाडपर्वलाई पनि पर्यटनको उत्पादनका रूपमा विकास गर्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन्।

विज्ञापन

ट्रेकिङ सकेर महोत्सवमा सहभागी भएकी आयरल्यान्डकी पर्यटक ईथा दशैंको अनुभवबाट निकै उत्साहित भइन्। थकानका बीच नेपाली चाड मनाउँदा आफूले थकान नै बिर्सिएको उनले सुनाइन्।

‘न्यानो आतिथ्यतासँगै टीका, जमरा लगाउँदा साह्रै खुसी भएँ। त्यसमाथि सेलरोटीसहितका दशैंका परिकार खान र पिङ खेल्न पाउँदा मनै फुरुङ्ग भयो,’ उनले भनिन्।

महोत्सवका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दशैंलाई पर्यटनसँग जोडेर नयाँ पर्यटकीय उत्पादनका रूपमा विकास गर्नुपर्ने बताए। उनका अनुसार हिमाल, ताल र प्राकृतिक छटा पोखराका स्थापित आकर्षण हुन् भने दशैं, तिहारजस्ता मौलिक चाडपर्वले पर्यटकलाई नयाँ अनुभव दिन सक्छन्।

‘अब संस्कृति पनि पर्यटकको आकर्षण बन्नुपर्छ। दशैं, तिहारजस्ता हाम्रा मौलिक पर्व पर्यटकका लागि नयाँ आकर्षण र अनुभव हुन सक्छन्,’ उनले भने। आचार्यले दशैं महोत्सवलाई वार्षिक कार्यक्रमका रूपमा निरन्तरता दिन सुझाव दिँदै त्यसका लागि महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाए।

नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले पर्यटनलाई स्थानीय कला र संस्कृतिसँग जोड्ने प्रयास सकारात्मक भएको बताए। मौलिक कला, संस्कृति र परम्परालाई उजागर गरेर पर्यटक आकर्षित गर्न सकिने उल्लेख गर्दै उनले यस्ता गतिविधिमा पर्यटन बोर्डले सहयोग गर्ने बताए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले दशैंको सुरुआत, यसको धार्मिक तथा सांस्कृतिक महत्त्व, प्रचलित किंवदन्ती र परिकारबारे पर्यटकलाई जानकारी दिन सके महोत्सवलाई थप प्रभावकारी बनाउन सकिने बताए। उनका अनुसार स्टोरी टेलिङमार्फत दशैंको महत्त्व बुझाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न सके आगामी वर्षदेखि पर्यटक दशैं मनाउनकै लागि पोखरा आउने वातावरण बनाउन सकिन्छ।

ओटेफकी अध्यक्ष ममता न्यौपानेले सांस्कृतिक पर्यटनको खोजी र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइन्। पहिलो प्रयासका रूपमा सुरु गरिएको महोत्सवलाई आगामी वर्षदेखि पनि निरन्तरता दिने उनले जानकारी दिइन्।

ओटेफकी निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक उमा रेग्मी भण्डारीले दशैंलाई पर्यटनसँग जोडेर पर्यटकको आगमन बढाउन र पोखरा आएका पर्यटकको बसाइ लम्ब्याउन महोत्सवले सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गरिन्। पहिलो कार्यक्रममै पर्यटकको उल्लेख्य सहभागिताले आयोजकलाई उत्साहित बनाएको उनले बताइन्।

महोत्सवमा मालश्री धुनले सहभागीलाई मन्त्रमुग्ध बनाएको थियो भने पञ्चेबाजाको तालमा पर्यटक र दर्शक छमछमी नाचेका थिए। मैत्रीपूर्ण कबड्डी खेलमा अतिथि र पर्यटकसमेत सहभागी भएर रमाएका थिए।

पोखराले यसअघि भाइटीका महोत्सवमार्फत विदेशी पर्यटकलाई नेपाली परम्पराअनुसार भाइटीका लगाउने अवसर दिँदै आएको छ। रोपाइँ महोत्सवमार्फत धान रोपाइँ संस्कृतिको अनुभवसमेत गराउँदै आएको पोखराले दशैं महोत्सवलाई पनि सांस्कृतिक पर्यटनको नयाँ आकर्षणका रूपमा अघि बढाउन खोजेको छ। प्राकृतिक सुन्दरतासँगै नेपाली जीवनशैली, परम्परा र आतिथ्यताको अनुभव गराउने यस्ता प्रयासले पोखराको पर्यटनलाई थप विविध बनाउन सक्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।