चितवनको राप्ती नगरपालिका-५ चौकीडाँडास्थित भित्री सडकखण्डमा शनिबार दिउँसो बोलेरो जिप अनियन्त्रित भई पल्टिँदा १८ जना घाइते भएका छन्।
कालिँटारबाट भण्डारातर्फ जाँदै गरेको ग ३ च ५२२५ नम्बरको बोलेरो जिप दिउँसो करिब २:५० बजे दुर्घटनामा परेको हो। दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको थियो।
दुर्घटनामा घाइते भएकामध्ये सात जनाको भण्डारा अस्पतालमा उपचार भइरहेको छ भने ११ जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको छ। बोलेरो चालक राप्ती नगरपालिका-१३ का २६ वर्षीय रोशन प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भण्डारा अस्पतालमा उपचाररत घाइतेहरूमा राप्ती नगरपालिका-१३ बस्ने १० वर्षीया आशिका प्रजा र १२ वर्षीय भीषण प्रजा रहेका छन्, जसको अवस्था मध्यम छ।
सोही ठाउँका १३ वर्षीया झरना प्रजा, ३५ वर्षीय सन्तोष प्रजा, ६ वर्षीया निरुता प्रजा, २९ वर्षीया माया प्रजा र उनका ११ महिनाका छोरा इशान प्रजाको अवस्था सामान्य रहेको छ।
यसैगरी, पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत घाइतेहरूमध्ये राप्ती-१३ का १५ वर्षीया ममता प्रजा, १० वर्षीया प्राप्ति प्रजा, ३० वर्षीया सनिता प्रजा र २५ वर्षीया यानीमाया प्रजा तथा कालिका नगरपालिका-१२ का २४ वर्षीय विशाल मगरको अवस्था मध्यम छ।
भरतपुरमै उपचाररत राप्ती-१३ का १९ वर्षीया अस्मिता प्रजा, २ वर्षीय रियन प्रजा, ८ वर्षीय समीर प्रजा, ७ वर्षीय अविरल प्रजा, ९ वर्षीय सुशान्त प्रजा र ६ वर्षीय जेम्म प्रजाको अवस्था सामान्य रहेको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।