बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण आगामी बुधबारदेखि नेपालमा मौसम बदली हुने र बिहीबारदेखि वर्षा तथा हिमपातको सम्भावना बढ्ने मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार यसको असर विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा बढी देखिन सक्नेछ।
बिहीबारदेखि शनिबारसम्म पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेकाले हिमाली जिल्लामा यात्रा, पदयात्रा तथा पर्वतारोहणमा निस्कने पर्यटक एवं यात्रुहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसै सन्दर्भमा नागरिककर्मी तेजेन्द्र काफ्लेले मौसमविद् उज्ज्वल उपाध्यायसँग मौसममा आएको फेरबदल, वर्षाको सम्भावित प्रभाव तथा विपद् जोखिमका विविध पक्षमा केन्द्रित रहेर कुराकानी गरेका छन्।
बिहीबारदेखि नेपालमा देखिने मौसमी फेरबदल जलवायु परिवर्तनको प्रभावसँग कत्तिको सम्बन्धित छ ? यो सामान्य मौसमी चक्रभन्दा कसरी फरक छ ?
जलवायु परिवर्तनका कारण यस्ता न्यूनचापीय प्रणालीहरूको विस्तार भइरहेको छ। एक महिनाभित्र देखिएको यो तेस्रो मौसमी प्रणाली हो। यसअघि पनि यस्तै प्रणाली आएको थियो, तर बीचको अर्को प्रणाली सामान्य प्रकृतिको थियो। नेपालमा प्रवेश गर्दा र आसपासका मौसमी वायुसँग मिसिँदा यसले ठुलो वर्षा गराएको छ।
यस्तो प्रणाली विकसित हुनका लागि मनसुन सकिएपछि त्यस क्षेत्रको समुद्री सतहको तापक्रम कम्तीमा २६ डिग्री सेल्सियस हुनुपर्ने हुन्छ। तर अहिले त्यस क्षेत्रको समुद्री सतहको तापक्रम २९ डिग्री सेल्सियस पुगेको छ, जुन सामान्यभन्दा निकै बढी हो। मनसुन बाहिरिएपछि यस्ता चक्रवातीय प्रणाली बन्ने प्रक्रिया हामीले विगतमा पनि देखेका हौं। तर यति कम समयमा, लगातार रूपमा यसरी प्रणाली विकसित हुनु र समुद्री सतहको तापक्रम यति उच्च रहनु असामान्य हो।
यस विषयमा प्रत्यक्ष अध्ययन आवश्यक छ। जलवायु परिवर्तनकै प्रत्यक्ष प्रभावका कारण यस्तो भएको हो वा होइन भन्ने पुष्टि स्पष्ट अध्ययन र पर्याप्त प्रमाणबिना भन्न गाह्रो छ। यद्यपि, समग्र अवस्थालाई विश्लेषण गर्दा ‘एल निनो’ को प्रभाव पनि उल्लेख्य रूपमा सक्रिय देखिन्छ।
विशेषगरी प्रशान्त र हिन्द महासागरको पूर्वी क्षेत्रमा भइरहेका गतिविधि तथा त्यहाँको अत्यधिक तापक्रमका कारण यस्तो परिस्थिति निर्माण भएको हुन सक्ने प्रारम्भिक संकेतहरू छन्। यसै कारणले मात्र यो घटना भएको हो भन्न नसकिए तापनि बढ्दो जलवायु परिवर्तनसँगै विश्वभर मौसमी अस्थिरता बढिरहेको छ र यो त्यसकै उपज हुन सक्ने सम्भावना छ।
यो मौसमी प्रणालीका कारण कुन-कुन प्रदेशमा कति वर्षा र हिमपात हुने सम्भावना छ ? भारी वर्षा वा हिमपातको जोखिम कुन क्षेत्रमा बढी छ ?
सुदूरपश्चिम र पश्चिम कर्णालीबाहेकका क्षेत्रहरूमा पनि उल्लेख्य वर्षा हुन सक्ने देखिन्छ। कुनै स्थानमा मध्यम वर्षा होला भने कतै वर्षाको मात्रा कम पनि हुन सक्छ। त्यसैले कुन जिल्लामा कति वर्षा हुन्छ भनेर अहिले नै किटान गर्न कठिन हुन्छ। तर समग्र रूपमा हेर्दा सुदूरपश्चिमको तुलनामा अन्य भूभागमा वर्षा केही बढी हुन सक्छ।
विशेषगरी यो मौसमी प्रणाली दक्षिण-पूर्वबाट नेपाल प्रवेश गर्ने भएकाले कोशी, मधेश र बागमती प्रदेशमा यसको प्रभाव बढी देखिन सक्छ। त्यस्तै गण्डकी क्षेत्रमा पर्ने धवलागिरि, मनास्लु र अन्नपूर्ण हिमालका दक्षिणी भेगका खोँच तथा उपत्यकाहरूमा पनि वर्षाको मात्रा बढी हुन सक्छ।
लुम्बिनीका पहाडी क्षेत्रहरू, गुल्मी, अर्घाखाँची, रुकुम र सल्यानमा पनि बढी वर्षा हुन सक्ने सम्भावना छ। दाङजस्ता दक्षिणी भूभागमा समेत वर्षाको सम्भावना रहेको छ। कर्णाली नदीभन्दा पश्चिमतर्फ भने तुलनात्मक रूपमा कम वर्षा हुने आकलन गरिए पनि वर्षाको प्रभाव देशभर नै फैलिने देखिन्छ।
कति मिलिमिटरसम्म वर्षा हुने अनुमान गर्न सकिन्छ ?
हालसम्मका विभिन्न मौसमी मोडेलहरूले देखाएको वर्षाको तीव्रता र न्यूनचापीय प्रणाली चक्रवातीय प्रणालीमा रूपान्तरण भइरहेको अवस्थाको मूल्याङ्कन गर्दा औसतमा १०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने आकलन गरिएको छ। केही निश्चित स्थानहरूमा भने २०० मिलिमिटरभन्दा बढी वर्षा पनि हुन सक्छ। यो आँकडा एकै दिन वा एकै घण्टाको वर्षा नभई तीनदेखि चार दिनसम्मको समग्र वर्षा हो।
यसको अर्थ मौसम लगातार रूपमा बिग्रिरहन्छ भन्ने मात्र होइन। कुनै समय भारी वर्षा हुन सक्छ, कुनै बेला आकाश बादलले मात्रै ढाकिन सक्छ, कतिपय समय वर्षा रोकिन सक्छ भने कहिले सिमसिम पानी मात्र पर्न सक्छ। समग्रमा देशभर १०० मिलिमिटरभन्दा माथि र केही भौगोलिक खोँचहरूमा २०० मिलिमिटरभन्दा बढी वर्षा हुने सम्भावना पनि छ।
यो प्रणालीको प्रभाव कति दिनसम्म सक्रिय रहन्छ ?
यो प्रणाली बुधबार रातिदेखि सक्रिय हुनेछ र बिहीबार मध्याह्नपछि देशभर विस्तार हुनेछ। सामान्यतया यस्ता मौसमी प्रणालीको प्रकृति हेर्दा कुनै पनि क्षेत्रमा ७२ घण्टासम्म वर्षा सक्रिय रूपमा रहनुपर्ने हुन्छ, तर सधैँ यस्तो नियम लागू हुँदैन। कहिलेकाहीँ यस्ता चक्रवातीय प्रणाली भारततर्फबाट अघि बढ्छन्। समुद्री सतह छाडेर जमिनमा प्रवेश गरेपछि यिनको शक्ति र प्रभाव क्रमशः क्षीण हुँदै जान्छ।
कहिलेकाहीँ भारतको आन्ध्र प्रदेश, ओडिशा, झारखण्ड, छत्तीसगढ र बिहार हुँदै नेपाल प्रवेश गर्ने क्रममा प्रणालीको शक्ति कमजोर बनेर त्यो चक्रवातबाट न्यूनचापीय प्रणालीमा परिणत हुन सक्छ। यस्तो अवस्थामा प्रणालीको शक्ति घटे पनि त्यो लामो समयसम्म वायुमण्डलमा सक्रिय रहन सक्छ। यसले गर्दा निरन्तर हल्का वर्षा भइरहने, झरी पर्ने र यसको प्रभाव पाँच दिनसम्म पनि लम्बिने हुन सक्छ।
यसको समग्र प्रभाव कस्तो रहन सक्छ ?
अहिले लगातार वर्षा दोहोरिइरहेका छन्। गत फागुन महिनामा पनि प्रि-मनसुन वर्षा निकै सक्रिय बनेको थियो र उल्लेख्य वर्षा भएको थियो। त्यसपछि सेप्टेम्बरको अन्त्यतिर अर्को ठुलो प्रणाली आयो, जसले अविरल वर्षा गरायो। यसले गर्दा हाम्रा डाँडापाखा, जमिन र जङ्गलहरू पहिले नै पूर्ण रूपमा भिजेका छन्। खोलानालाहरूमा अहिले पनि पानीको बहाव पर्याप्त छ।
त्यसैले अहिले थपिने नयाँ वर्षाले राम्रोसँग सुक्न नपाएका डाँडाकाँडा र भिरपाखालाई अझ बढी गलाउने र छिट्टै पहिरो निम्त्याउने जोखिम छ। जलाधार क्षेत्रहरू पहिले नै पानीले संतृप्त भइसकेकाले सामान्य वर्षाले पनि खोलानालामा बाढीको रूप लिन सक्छ। देशभर नै यस्तो जोखिमको अवस्था छ। डुबानको सन्दर्भमा भने कुनै निश्चित क्षेत्रमा छोटो समयमै अत्यधिक पानी परेमा तल्लो तटीय तथा समथर भूभागहरू जलमग्न हुन सक्छन्।
सामान्यतया मनसुन बाहिरिएपछि झरी र भारी वर्षाको सम्भावना रहँदैन। तर जलवायु परिवर्तनका कारण नेपालमा वर्षाको समय, तीव्रता र ढाँचामा स्पष्ट फेरबदल देखिएका छन्। असोज र कात्तिकमा हुने यस्तो बेमौसमी वर्षाले के संकेत गरिरहेको छ ?
पछिल्ला ३० वर्ष, विशेषगरी सन् १९९५ देखि २०२४ सम्मको तथ्याङ्कलाई त्यसअघिको सन् १९६५ देखि १९९३ सम्मको अवधिसँग तुलना गरेर हेर्दा विगतमा मनसुन सामान्यतया जुन ४ मा नेपाल प्रवेश गरेर सेप्टेम्बर २० तिर बाहिरिने गर्थ्यो।
तर पछिल्ला वर्षहरूमा मनसुन प्रवेश गर्ने समय नै पर सरेर जुनको तेस्रो सातासम्म पुग्न थालेको छ भने बाहिरिने समय पनि पहिलेको तुलनामा करिब दुई साता ढिलो हुन थालेको छ।
प्राविधिक रूपमा नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर ४ मानिन्छ। तर यस पटक अक्टोबर १४ मा मात्र मनसुन पूर्ण रूपमा बाहिरिएको थियो। विगतका वर्षहरूमा भदौ महिनामै मनसुन सकिने र असोजको पहिलो सातातिर यस्ता छिटपुट वर्षा हुनुलाई सामान्य मानिन्थ्यो। अहिले मनसुन ढिलो भित्रिने र ढिलो नै बाहिरिने प्रवृत्ति देखिएको छ।
त्यसमाथि मनसुन औपचारिक रूपमा सकिएपछि पनि लगातार तीनवटा मौसमी प्रणालीहरू विकसित हुनु जलवायु परिवर्तनको प्रभावसँग सम्बन्धित हुन सक्ने बलियो संकेत हो।
नेपालमा पछिल्लो समय आएका बाढीपहिरो किन विनाशकारी बन्ने गरेका छन् ?
यसमा दुईवटा पक्ष छन्, एउटा प्राकृतिक र अर्को मानवीय। विगतमा पनि वर्षाको मात्रा उस्तै हुन सक्थ्यो, तर अहिले छोटो समयमा ठूलो पानी पर्ने गरेको छ। पहिले सात दिनसम्म लगातार पर्ने झरीको पानी अहिले एक दिन वा छ घण्टामै पर्न थालेको छ।
पहिले अधिकांश भारी वर्षा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म हुने गर्थ्यो भने अहिले साँझ ५ बजेदेखि राति ११ बजेसम्म, विशेषगरी राति ८ देखि ११ बजेको बीचमा भारी वर्षा हुने गरेको छ। मानिसहरू आराम गरिरहेका वा सुतिरहेका बेला यस्तो वर्षा हुँदा उद्धार गर्नसमेत कठिन हुन्छ। त्यसैले क्षति बढिरहेको छ।
अर्कोतर्फ, नदी तथा खोलानालाको किनारमा बनाइएका पूर्वाधार पनि जोखिमअनुसार निर्माण भएका छैनन्। पुलको उचाइ कम हुनु र बाढीको जोखिम भएका ठाउँमा समेत बस्ती विस्तार हुनु क्षति बढ्नुका कारण हुन्।
त्यसैले प्राकृतिक र मानवीय दुवै कारण उत्तिकै जिम्मेवार छन्। तापक्रम वृद्धि र वर्षाको ढाँचामा आएको परिवर्तन यसका पर्याप्त संकेत हुन्। जलवायुजन्य जोखिमलाई कम आँकेर पूर्वाधार बनाउनु र खोलानालालाई सामान्य रूपमा लिनु पनि क्षति बढ्नुका कारण हुन्।
पहिले वर्षौंसम्म सुरक्षित रहेका नदीकिनारका बस्ती अहिले किन अचानक विनाशकारी बाढीको जोखिममा पर्न थालेका छन् ?
नेपालमा हिमनदीहरू धेरै छन्। विश्वव्यापी रूपमा तापक्रम बढिरहेको छ। गत सय वर्षमा विश्वको तापक्रम करिब १.५ डिग्री सेल्सियस बढेको अध्ययनले देखाएको छ। हिमाली क्षेत्रमा तापक्रम अझ बढी, कतिपय ठाउँमा चार डिग्रीसम्म बढेको देखिएको छ।
हिमाली क्षेत्रमा जेठ महिनामा पनि तापक्रम शून्य डिग्रीभन्दा माथि नजाने ठाउँहरू छन्। तापक्रम चार डिग्रीले बढेपछि ती क्षेत्रको तापक्रम शून्यभन्दा माथि पुग्न थाल्यो र हिउँ पग्लिन थाल्यो।
हिमाली क्षेत्रमा ठूला चट्टानहरू छन्, जसले लामो समयदेखि ठूला भूकम्पका धक्का पनि सहँदै आएका छन्। समयसँगै ती चट्टान चिरा पर्न सक्छन्। पहिले हिउँले सिमेन्टले जस्तै चट्टानलाई बाँधेर राखेको थियो, त्यसैले ती भत्किएका थिएनन्। तर तापक्रम बढ्दै जाँदा हिउँ पग्लिन्छ र चट्टान फुट्न थाल्छन्।
यसको परिणाम भोटेकोशी र बूढीगण्डकीमा देखिने बाढीजस्ता घटना हुन्। यी प्राकृतिक प्रक्रियासँग सम्बन्धित छन्। हिमताल विस्फोट हुनु पनि अर्को कारण हो। वर्षौंसम्म बाँधिएर रहेका हिउँका थुप्रा पग्लिएपछि चट्टान खस्ने र ताल फुट्ने घटना हुन सक्छन्।
यसरी हिमतालबाट आउने बाढी तीव्र र शक्तिशाली हुन सक्छन्, जसले तल्लो क्षेत्रमा ठूलो विनाश निम्त्याउँछन्। गत भदौ १० गतेको भोटेकोशी बाढी यसको एउटा उदाहरण हो
मौसमी घटनाको बढ्दो जोखिमले नेपालको कृषि, जनजीवन र अर्थतन्त्रमा दीर्घकालीन रूपमा कस्तो असर पार्न सक्छ ?
यसको प्रभाव गम्भीर हुन सक्छ। नेपालको करिब ६२ प्रतिशत जनसंख्या कृषिमा निर्भर छ र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषिको योगदान करिब २४ प्रतिशत छ। पछिल्ला बाढीका घटनाले कृषिमा ठूलो क्षति पुर्याएका छन्। भोटेकोशीको बाढीले पनि कृषिमा उल्लेख्य क्षति गरेको छ।
मानवीय र भौतिक क्षतिको तुलनामा कृषि क्षेत्रमा भएको क्षति कम देखिन सक्छ। तर कृषिमा निर्भर जनसंख्या र उनीहरूको जीवनशैलीलाई हेर्ने हो भने यसको असर निकै ठूलो छ।
आश्रित समुदायमा यसको प्रभाव व्यापक हुन्छ। दीर्घकालीन रूपमा यसले खाद्य सुरक्षामा असर पार्छ। उनीहरूको आर्थिक अवस्था, शिक्षा र स्वास्थ्यमा समेत असर पर्न सक्छ।
अर्कोतर्फ, पछिल्ला ३० वर्षमा बनेका धेरै बाटो नदीखोलाका किनारमा छन् र हिमनदी नजिकका क्षेत्रमा पनि पूर्वाधार निर्माण भएका छन्। हिमनदीहरू उच्च जोखिममा छन् भने ती पूर्वाधारलाई भविष्यमा कसरी सुरक्षित बनाउने भन्ने प्रश्न उठ्छ।
पूर्वाधारका विषयमा स्थानीय बासिन्दा पुरानै ठाउँमा फर्किएर बस्न चाहन्छन्। तर त्यहाँ पुनः बस्ती बसाउँदा जोखिम रहन्छ। भोटेकोशीमा बाढी आएको ठाउँको माथिल्लो भागमा ग्लेसियर झुन्डिएर बसेको छ, जुन जुनसुकै बेला खस्न सक्छ। ग्लेसियर र चट्टानबीच चिरा परेका छन् र ग्लेसियरले चट्टानलाई छाडिसकेको अवस्था छ। चिरा परेका चट्टान पनि जुनसुकै बेला खस्न सक्छन्।
अब चुनौती भनेको त्यति ठूलो समुदायलाई कहाँ स्थानान्तरण गर्ने, कसरी पुनर्वास गराउने र त्यति ठूलो स्रोत नेपालजस्तो मुलुकले कसरी जुटाउने भन्ने हो। यसका लागि हाम्रा कार्यविधि र नीतिहरू परिवर्तन गर्नुपर्ने हुन्छ।
जलवायु क्षतिका लागि दुई करोड अमेरिकी डलर अनुदानको चर्चा कत्तिको सान्दर्भिक छ ?
यसका लागि एफएआरएलडी कोषमार्फत नेपाललाई दुई करोड अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) दिने प्रक्रिया सुरु गरिएको हो। तर रकम प्राप्त भइसकेको भने होइन। यसका लागि सम्बन्धित निकायले प्रस्ताव तयार गरी पेस गर्नुपर्छ।
पहिलोपटक एफएआरएलडी कोषमार्फत कुनै देशले यस्तो रकम पाउन लागेको विषयलाई अन्तर्राष्ट्रिय समुदायले पनि ध्यानपूर्वक हेरिरहेको छ। नेपालले यो रकम पाएमा कसरी परिचालन गर्छ भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ। क्षतिको तुलनामा यो रकम ०.४७ प्रतिशत मात्र हो। रकम प्राप्त भएमा कुन क्षेत्रमा कसरी खर्च गर्दा बढी लाभ लिन सकिन्छ भन्ने स्पष्ट योजना आवश्यक हुन्छ।
सबै क्षेत्रमा यो रकम पर्याप्त नहुन सक्छ। त्यसैले यसको प्रभावकारी उपयोग गर्नुपर्छ। थोरै लगानीबाट धेरै मानिसलाई लाभ पुग्ने क्षेत्र छनोट गर्नुपर्छ। उदाहरणका लागि, कृषि क्षेत्रमा लगानी गर्दा हजारौं मानिसलाई प्रत्यक्ष लाभ दिन सकिन्छ। नेपालले यो रकमको प्रभावकारी उपयोगको उदाहरण प्रस्तुत गर्न सकेमा यस्ता कोष तथा अन्य देशबाट थप सहयोग प्राप्त गर्ने सम्भावना पनि बढ्न सक्छ। यो नेपालका लागि आफूलाई प्रमाणित गर्ने अवसरसमेत हो।
नेपालका हिमाल, हिमनदी र जलचक्रमा परिरहेको असरले आगामी दिनमा यस्ता मौसमी प्रणालीलाई अझ जोखिमपूर्ण बनाउने सम्भावना कति छ ?
त्यो सम्भावना निश्चित रूपमा छ। मैले मनसुन ढिलो आउने र ढिलो जाने विषयमा अघि नै चर्चा गरिसकेको छु। वायुमण्डलको तापक्रम बढ्दै जाँदा यस्ता परिवर्तन भइरहेका छन्। हालै संयुक्त राष्ट्रसंघको एउटा प्रतिवेदन पनि आएको छ, जसमा सन् २०१५ को पेरिस सम्झौताले पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्य लिएको भए पनि त्यो सीमा नाघिसकेको र तापक्रम वृद्धि २.८ डिग्रीसम्म पुग्न सक्ने उल्लेख छ। यसपटकको कोप सम्मेलनमा पनि यस विषयमा छलफल हुनेछ।
यसको अर्थ तापक्रम वृद्धि रोक्ने प्रयासहरू चुनौतीपूर्ण बन्दै गएका छन्। यस्तो अवस्थामा नेपालको मनसुन प्रणाली पनि गम्भीर रूपमा प्रभावित हुने सम्भावना छ। यस वर्ष एल निनोको प्रभाव देखियो। आगामी केही वर्षमा ला निनाको प्रभाव पनि देखिन सक्छ। दुवै अवस्थाले मौसमी प्रणालीमा चरम प्रभाव पार्न सक्छन्। हिन्द महासागरको द्विध्रुवीय अवस्था (इन्डियन ओसन डाइपोल) ले पनि प्रभाव पार्छ। समुद्र र वायुमण्डलको तापक्रमबीचको अन्तरसम्बन्धले भविष्यको मौसममा असर गर्न सक्छ।
हिमनदीहरू ठूलो जोखिममा छन्। भारी वर्षाका कारण हिमनदीबाट मात्र नभई महाभारत क्षेत्रबाट उत्पत्ति हुने नदीहरूमा पनि ठूला बाढी आउने जोखिम बढ्न सक्छ। खडेरीको समस्या पनि उत्तिकै बढ्न सक्छ। त्यसैले खडेरी, अत्यधिक गर्मी र ठूला बाढी, यी तीनवटै समस्याको सबैभन्दा ठूलो प्रभाव कृषि क्षेत्रमा पर्नेछ।
नेपालको करिब ६२ प्रतिशत जनसंख्या कृषिमा निर्भर छ र देशको जीडीपीको झन्डै २४ प्रतिशत योगदान कृषिले नै गर्छ। त्यसैले निरन्तर परिवर्तन भइरहेको जलवायुका कारण कृषि, जनजीवन र अर्थतन्त्रमा पर्ने जोखिम अझ बढ्ने देखिन्छ।
नेपालको करिब ६२ प्रतिशत जनसंख्या प्रत्यक्ष रूपमा कृषिमा निर्भर छ र राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान झन्डै २४ प्रतिशत छ। त्यसैले निरन्तर बिग्रँदै गएको जलवायु सन्तुलनका कारण मुलुकको कृषि, आमजनजीवन र समग्र अर्थतन्त्रमा पर्ने जोखिम अझ बढ्ने देखिन्छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।