ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

हिलो, मैलो र कालो बादल हटी

१) मुक्तक

हिलो, मैलो र कालो बादल हटी शीतल शरद्को याम आएपछि

बच्चाबच्ची, बुढाबुढीहरूका मुहारमा उज्यालो घाम आएपछि

विज्ञापन

पिङ खेल्दै, रातो टीका लाउँदै साँच्चै आउँला दसैँ सद्भावको,

हरेक स्त्रीका मनमा दुर्गा र पुरुषका चेतनामा राम आएपछि।

२) मुक्तक

दिउँसै अज्ञात बनाउन खोजिरहेछ

कसैले कुख्यात बनाउन खोजिरहेछ

षड्यन्त्रको जाल बिछ्याएर वरिपरि,

मलाई सुकरात बनाउन खोजिरहेछ।

३) मुक्तक

आँखामा सूर्यको टक पर्दैमा

धार्मिक बन्ने सनक चढ्दैमा

हरकोही कहाँ साधु बन्छन्,

निधारभरि तिलक दल्दैमा।

४) मुक्तक

नकारात्मक सोच लिएमा भय हुन्छ

दम्भ धेरै गर्यो भन्ने आफ्नै क्षय हुन्छ

सुन हे स्वयमलाई बलवान् ठान्नेहरू,

सबैभन्दा शक्तिशाली त समय हुन्छ।

५) मुक्तक

आफैँले टेकेको धर्ती फाटे पनि

खसीकोझैँ गरी गर्दन काटे पनि

हामी किन इमान्दार बनिरहन्छौ?

जजसले जति पटक ढाँटे पनि।

६) मुक्तक

खन्चुवा बन्दै भण्डार रित्तो पारेर

सीमा मिच्दै घरको भित्तो ढालेर

मेरो तनमा खुन उमाल्यो कसैले,

मेरै स्वाभिमानको उछित्तो काढेर।

७) मुक्तक

अनेक थरी तर्कना गर्नेहरू छन् यहाँ

सत्यको आलोचना गर्नेहरू छन् यहाँ

हामीलाई बारुदको टिका लगाई दिँदै,

दीर्घायुको कामना गर्नेहरू छन् यहाँ।

८) मुक्तक

फराक ठाउँलाई कुना भन्छन्

टपरी देखेर पनि दुना भन्छन्

आफूलाई हात्ती ठान्नेहरूले नै,

अरूलाई चाहिँ भुसुना भन्छन्।

९) मुक्तक

खानै नहुने वस्तुहरू पनि अन्न भइरहेछन्

सत्ताको नजिकमा बस्ने नै टन्न भइरहेछन्

मान्छे खाने बाघहरू बलशाली बनिरहँदा,

झुटाका अघि सच्चा मरणासन्न भइरहेछन्।

१०) मुक्तक

छाँगाबाट झरेको छहरा जस्तो

भीरबाट खसेको पहरा जस्तो

तिम्रो अभिमानको महल पनि,

एकदिन ढल्नेछ धरहरा जस्तो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।