आयो दसैं; गयो दसैं! आउँदैछ अब भाइतिहार!
दशैँ आउनुअघि कति लामो हुन्छ प्रतीक्षाको बाटो! आँगनदेखि परदेशसम्म फैलिएको हुन्छ त्यसको लम्बाइ। कसैलाई घर फर्किने टिकटको प्रतीक्षा, कसैलाई छोराछोरी आइपुग्ने दिनको प्रतीक्षा। कसैलाई नयाँ लुगाको रहर, कसैलाई वर्षौँदेखि निधारमा नपरेको आफ्नै मान्छेको हातको अभाव। हामी दिन गन्छौँ, औँला भाँच्छौँ र मनमनै सोध्छौँ– यसपालिको दशैँ कहिले आउला, कसरी आउला, कति खुसी लिएर आउला? अनि एकदिन दशैँ आउँछ।
आँगनमा पाइला नयाँ थपिन्छन्। भान्सामा बासना थपिन्छ। घरका खुइलिएका पुराना भित्ताले नयाँ रङ फेर्छन्। कोठामा फेरि परिचित आवाज गुञ्न्छिन्। हाँसोका बीचमा केही दुःख लुक्छन्। टट्टाएका घाउ बिसेक हुन्छन्। आँसु नै झर्न नसकिरहेका आँखाबाट हर्षका आँसु झर्न थाल्छन्। भेटघाटका बीचमा केही दूरी मेटिन्छन्।

लाग्छ – यसपटक समयलाई यहीँ रोकिदिऊँ; संघारमा उभिएको बिदाइलाई अलि परै बस्न भनिदिऊँ तर समय कहाँ मान्छ र! उसको गतिलाई, उसको नियमलाई कसैले तोड्द सक्दैन।
निधारको रातो टीका राम्ररी ओभाउन नपाउँदै, जमराको पहेँलोपन सम्झनामा बस्न नपाउँदै, आँगन फेरि सुनसान हुन थाल्छ। झोलामा लुगा मिलाइन्छ। बाटाका लागि पोको बाँधिन्छ। ‘पुगेपछि खबर गर्नु’ भन्ने वाक्यमा घरको सारा माया अटाउँछ।
आयो दशैँ; गयो दशैँ! बिदाइको हात बाध्यताले उठाउनुपर्छ। त्यसपछि बाटाभरि फर्किनेहरूको लर्को लाग्छ। आकाशमा चङ्गा घट्दै जान्छन्। पिङमा मच्चिनेहरू घरमै थच्चिन्छन्। फेरि उही निराशा निम्तिन्छ। बिदाइको घडीले शून्यता छाउँछ। त्यसपछि आशा सँगालिन्छ – अब अर्को साल दशैँ आउँछ। दशैँमा फेरि खुसी छाउँछ। सबैसँग भेटघाट र रमाइलो हुन्छ।
‘आयो दशैँ र गयो दशैँ !’ कति छोटो वाक्य तर यसभित्र कति लामो कथा छ– आगमनको, मिलनको, खर्चको, ऋणको, आशाको र फेरि अर्को वर्षसम्म साँचिराख्नुपर्ने सम्झनाको।
दशैँ बिदा भएको बाटोतिर हेर्दाहेर्दै खेतले बोलाउन थालिसकेको हुन्छ।
खेतका गरागरामा धान पाकेको छ। धान नुहेर गरामा धानका बाला होइन पात मात्रै देखिन्छ। झुलेका बाला नदेखिनु र पात मात्रै धेरै देखिनु धान राम्रो फल्नुको आशय हो। ठिङ्गरिङ्ग बाला मात्रै देखिँदा त्यस धानबालीमा धानबाली राम्रो नफलेको बुझ्नुपर्छ।
हावाले बाला छोएर जाँदा खेतभरि सुनौलो तरङ्ग उठ्छ। मानौँ पृथ्वीले धेरै महिनादेखि मनमा राखेको एउटा खुसी अब लुकाउन सकेकी छैन। असारमा हिलोले हिलाम्मे भएका खुट्टाहरू अहिले त्यही खेतमा पाकेको अन्न खोजिरहेका छन्। त्यतिबेला आकाशतिर हेर्ने आँखामा चिन्ता थियो; अहिले झुकेको बालातिर हेर्दा तिनमा अलिकति ढुक्क मन देखिन्छ। किसानलाई आफूले रोपेको परिश्रमको फल ढुकुटीमा भर्न ढिलो भइसकेको हुन्छ।
खेतमा झुकेका धानका अन्न–ऐश्वर्यले सजिसजाउ ती देहहरूलाई हेरिरहँदा लाग्छ– मान्छे अन्न काट्न मात्र झुकेको होइन, आफ्नो परिश्रमलाई उठाउन झुकेको हो। एकातिर काटिएका धानका मुठा छन्, अर्कोतिर अझै हावासँग हल्लिरहेका बाला। बीचमा छन् काम गरिरहेका परिश्रमी हात। खेतपारि घरहरू उभिएका छन्; यता माटोमाथि जीवनको पुरानो काम चलिरहेको छ।
हँसियाको चालसँगै धान ढल्छ। मुट्ठीले त्यसलाई समाउँछ। सम्याएर मिलाइएको खलामा लिपपोत गरी त्यसमा धानको दाँही गरिन्छ। कतिले हलगोरु नारेर दाँही गर्छन्। यसपछि धानको बालाबाट धान एकातिर र त्यो धानको बोट अब पराल बनेर वस्तुभाउको निम्ति हिउँदे खाना बन्छ।
यसरी दाँही गरेर थुन्से र बोरामा धान निकालिन्छ। धान निकालिएको परालको कुन्यू बनाउने कामसँगै धानलाई घरमा लगिन्छ। त्यो अन्न वर्ष दिनको भोकको भोजन हुन्छ। केही बेरअघिसम्म खेतको शोभा भएको बाली अब घरको भरोसा बन्न तयार हुन्छ।
यो दृश्यमा कुनै ठूलो घोषणा छैन। न त खुसीको चर्को प्रदर्शन नै छ तर साँझ घर फर्कँदा आज यति काम सकियो भन्न पाउने सन्तोष छ।भोलिका लागि केही अन्न सुरक्षित हुँदैछ भन्ने विश्वास छ। भोकको प्रश्नलाई आफ्नै हातले दिएको सानो, ठोस उत्तर छ।
सायद सुख सधैँ हाँसेको अनुहारमा मात्र देखिँदैन। कहिलेकाहीँ त्यो थाकेको देहले एकछिन सुस्ताउन पाउँदा निस्कने लामो सासमा पनि हुन्छ।
जीवन यसरी नै अघि बढ्छ। एउटा कामबाट अर्को काममा। एउटा चाडबाट अर्को चाडमा। बिदाइको रित्तोपनबाट भेटको नयाँ आशामा।
दशैँ गयो भनेर घरबाट सबै खुसी गइसकेको छैन। खेतमा अझै बाली छ। बारीको डिलमा फूल छ। हातमा सीप छ। मनमा कसैका लागि माला उन्ने इच्छा छ।
अब तिहार आउँदै छ।
यसपालि दियो बाल्दा म खेतमा झुकेका ती हातहरू सम्झनेछु। असारको हिलो सम्झनेछु। भकारीमा अन्न खन्याउँदा आउने आवाज सम्झनेछु र सम्झनेछु – उज्यालो सधैँ माथिबाट झर्दैन; कहिलेकाहीँ त्यो माटोबाट उम्रन्छ, पसिनाले हुर्कन्छ र अन्न बनेर घरभित्र पस्छ।
त्यसपछि त्यही घरको ढोकामा एउटा सानो दियो बल्छ।
त्यसको प्रकाशमा थकित अनुहार पनि कति आफ्नै, कति सुन्दर देखिन्छ!
‘आयो दसैं,गयो दसैं’ यी शब्दमा आउँदाको खुसी र जाँदाको नैराश्य होइन बरु समुज्जवल जीवनको कामना र प्रकृति, संस्कृतिको निरन्तरता हो भन्ने मनन–महसुस गरौँ। सबैमा आरोग्य जीवनको कामना!


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।