नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नेपाली राजनीतिलाई सही बाटोमा डोहोर्याउन र लोकतन्त्रको रक्षा गर्न पत्रकारिता जगत् थप जिम्मेवार बन्नुपर्ने बताएका छन्।
नेपाल प्रेस युनियनसँग सम्बद्ध दाङका पत्रकारहरूसँग कुराकानी गर्दै उनले विद्यमान राजनीतिक विकृति र बेथितिलाई सञ्चार क्षेत्रले कुनै पनि हालतमा नजरअन्दाज गर्न नहुने बताए।
‘नेपाली राजनीतिमा अहिले देखिएको असङ्गतिबाट देशलाई निकास दिनु अपरिहार्य बनिसकेको छ,’ पोख्रेलले भने, ‘यसका लागि पत्रकारिता क्षेत्रको भूमिका निर्णायक हुन्छ। त्यसैले सिङ्गो सञ्चार क्षेत्र यसप्रति गम्भीर र जिम्मेवार भएर लाग्नुपर्ने टड्कारो आवश्यकता छ।’

राजनीतिमा उत्पन्न हुने विकृतिले अन्ततः लोकतन्त्रलाई नै धरापमा पार्ने चेतावनी दिँदै उनले गलत राजनीतिक अभ्यासविरुद्ध सशक्त खबरदारी आवश्यक रहेको बताए।
उनले थपे, ‘हामीले अहिलेको विकृत राजनीतिलाई अनदेखा गर्यौँ भने समाज अझ बढी भ्रष्टाचारको दलदलमा भासिन्छ र राजनीतिका नाममा गलत अभ्यासहरू मौलाउँछन्।’
राजनीति जनताका लागि हो भन्ने अनुभूति दिलाउन मिडियाबाहेक अरू कसैले नसक्ने उल्लेख गर्दै पोख्रेलले लोकतन्त्रको रक्षाका लागि सञ्चारमाध्यम स्वयं पनि परीक्षणको घडीमा आइपुगेको बताए।
सञ्चारकर्मीहरूले आफ्नो प्लेटफर्मको सही सदुपयोग गर्दै राजनीतिको स्वस्थ अभ्यासका लागि निरन्तर खबरदारी गर्नुपर्नेमा उनले जोड दिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।