ब्रेकिङ न्युज
विज्ञापन
समाज

विराटनगरवासीको स्वच्छ खानेपानी चाहना अधुरै

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा विराटनगरको खानेपानी गुणस्तर सुधार गर्ने आयोजनाले काम सम्पन्न गरे पनि विराटनगरवासीको स्वच्छ खानेपानी चाहना भने अधुरै हुने भएको छ।

विराटनगरको खानेपानी सुधारका लागि सञ्चालनमा ल्याइएको भए पनि आयोजनाले नगर क्षेत्रका सबै पाइपलाइन परिवर्तन नगरेका कारण काम सम्पन्न गरे पनि स्वच्छ खानेपानीको चाहना अधुरै रहेको हो। विराटनगरवासीलाई स्वच्छ र सुरक्षित खानेपानीको सुनिश्चितता गर्न हालको परियोजनाले फेरेको ५८ किलोमिटर पाइपलाइन मात्रै पर्याप्त नहुने नेपाल खानेपानी संस्थान विराटनगर कार्यालयका प्रमुख सन्तोष रौनियार बताउँछन्।

रौनियारका अनुसार विराटनगरमा आयोजनाले काम गरेको क्षेत्रका उपभोक्तालाई स्वच्छ र सुरक्षित खानेपानी पुर्‍याउन अझै एक सय किलोमिटर पाइपलाइन परिवर्तन गर्नुपर्ने आवश्यकता छ, तर उक्त खानेपानी पाइपलाइन परिवर्तनका लागि अझैसम्म बजेटको सुनिश्चितता नभएका कारण परियोजना सम्पन्न भएर हस्तान्तरण भए पनि विराटनगरका सबै वासिन्दाले सुरक्षित खानेपानी नपाउने उनले बताए। विराटनगरमा बिछ्याइएको खानेपानी पाइपलाइनमध्ये कतिपय पाइपलाइन पञ्चायतकालमै बिछ्याइएका हुन्। पञ्चायतकालमा बिछ्याएका पाइपलाइनका भरमा अझै पनि खानेपानी वितरण गर्नुपरेका कारण पुराना र जीर्ण पाइपलाइन परिवर्तन नगरेसम्म गुणस्तरीय खानेपानी पुर्‍याउन सम्भव नरहेको रौनियार बताउँछन्।

विज्ञापन

जाइकाले सञ्चालन गरेको परियोजनाले विराटनगर खानेपानीको मुख्य स्रोत भने गुणस्तरीय बनाएको रौनियारले दाबी गरे। उनका अनुसार विराटनगरमा वितरण गरिने सबै खानेपानीलाई फिल्टर गरेर गुणस्तर परीक्षणपछि मात्रै ग्राहकलाई वितरण गरिने भएकाले गुणस्तरमा समस्या नभएको उनले स्पष्ट पारे।

हाल पाइप फेरेको ५८ किलोमिटर क्षेत्रबाहेकका शाखा सडकहरूमा बिछ्याइएका पाइपलाइनबाट वितरण हुने पानीमा अझै पनि समस्या भइरहेको गुनासो उपभोक्ताले गरिरहेका छन्। विशेषगरी पुराना पाइपलाइनका कारण जताततै पाइप फुटेर खानेपानीमा संक्रमण हुने खतरा पनि देखिएको छ। विराटनगरका भित्री सडकका पुरना पाइपलाइन फुटेर सडकसमेतमा क्षति पुर्‍याइरहेको छ।

मुख्य सडकका नयाँ पाइपलाइनमा पर्याप्त पानी आउने भए पनि भित्री सडकका पुराना र जीर्ण पाइपलाइनमा जाँदा ती पाइपलाइनले प्रेसर थेग्न नसकेर पाइप फुट्ने गरेका छन्। यसरी पाइप फुटे पनि ती पाइप मर्मत गर्न संस्थानका कर्मचारी धेरै दिनसम्म नजाँदा पाइपबाट निस्किएको पानीले कालोपत्रे सडकलाई क्षति पुर्‍याउने गरेको छ।

भित्री सडकका पाइप परिवर्तन नगरेसम्म विराटनगरका उपभोक्ताले स्च्छ खानेपानी नपाउने मात्रै हैन, राम्रो सडकसमेत प्रयोग गर्न नपाउने अवस्था देखिएको छ। विराटनगर– ५ स्थित सम्झना चोक उत्तरतर्फको एउटै सडकमा पाँचभन्दा बढी स्थानमा खानेपानी पाइप फुटेर कालोपत्रे सडकलाई क्षति पुर्‍याएको स्थानीयले गुनासो गरेका छन्। यस सडकमा मात्रै हैन अन्य भित्री सडकमा पनि यस्तो समस्या देखिएको छ।

तर, खानेपानी संस्थानसँग आवश्यक जनशक्ति अभावका कारण समयमै पाइपलाइन मर्मत गर्न नसकिएको संस्थानका विराटनगर कार्यालय प्रमुख रौनियार स्वीकार गर्दछन्। उनले भने, ‘धेरै ठाउँमा समस्या देखिएको छ, तर आवश्यक जनशक्ति अभावका कारण समयमै मर्मतको काम गर्न सकिएको छैन।’ रौनियारले विराटनगरका धेरैवटा सडकका खानेपानीका पाइपलाइन मर्मत गरेर पुग्ने अवस्थाको नभएको पनि बताए। अझै विराटनगरमा एक सय किलोमिटर पाइपलाइन फेर्न आवश्यक रहेको उनको भनाइ छ। उनले पुराना पाइपलाइन परिवर्तन नगरेसम्म मुख्य सडकबाहेक भित्री सडकका उपभोक्तालाई उमालेर मात्रै पानी पिउन आग्रह गरेका छन्।

‘जारको भन्दा खानेपानी संस्थानले वितरण गरेको पानी नै पिउनका लागि उपयुक्त छ’, रौनियारले भने, ‘तर पुराना पाइपलाइन भएका स्थानका उपभोक्तालाई उमालेर मात्रै पानी पिउन आग्रह गर्दछु।’ करिब १२ वर्षपहिले विराटनगरमा जन्डिस महामारी फैलिएको थियो। उक्त महामारीका कारण १४ जनाभन्दा बढीको मृत्यु भएको थियो। जन्डिस महामारी फैलिनुको मुख्य कारण नेपाल खानेपानी संस्थानले वितरण गरेको पानी नै भएको हल्ला चलेपछि विराटनगरका उपभोक्ता खानेपानी संस्थानले वितरण गरेको पानी पिउनका लागि नभई लुगा धुन, नुहाउन र सरसफाइका कामका लागि प्रयोग गर्दै आएका छन्।

अढाइ अर्ब लागतको परियोजना
जापान सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा सन् २०२४ देखि विराटगरमा सञ्चालनमा आएको खानेपानी सुधार परियोजना सम्पन्न भएको छ। सन् २०२४ को अक्टोबरदेखि निर्माण सुरु गरेर २०२६ को अक्टोबरमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजना निर्धारित समयमै सम्पन्न भएको हो।

परियोजना विराटनगर महानगरपालिका, खानेपानी संस्थान विराटनगर कार्यालयको समन्वयमा जाइकाले नै निर्माण गरेको हो। महानगरका वासिन्दालाई सुरक्षित र नियमित खानेपानी उपलब्ध गराउने लक्ष्य राखिएको आयोजनामार्फत खानेपानी उत्पादन तथा प्रशोधनसम्बन्धी संरचनाको सुधार, नयाँ पम्पिङ स्टेसन निर्माण र वितरण पाइपलाइन विस्तार गरिएको थियो।

जापान सरकारले यस परियोजनाका लागि २ अर्ब ५४ करोड १० लाख जापानी येन अनुदान उपलब्ध गराउने सम्झौता गरेको थियो। विराटनगरको खानेपानी प्रणाली सुधार तथा विस्तार गर्ने उद्देश्यले नेपाल सरकार र जाइकाबिच सन् २०२२ मार्च १० मा अनुदान सम्झौता भएको थियो। त्यसपछि सन् २०२४ जुन २८ मा विराटनगरमा आयोजनाको शिलान्यास गरिएको थियो।

परियोजना कार्यान्वयनको जिम्मेवारी नेपाल खानेपानी संस्थानलाई दिइएको थियो। यो आयोजना विराटनगरमा लामो समयदेखि देखिँदै आएको खानेपानीको अपर्याप्त आपूर्ति, पुराना वितरण पाइपलाइन र पानीको गुणस्तरसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले अघि बढाइएको हो। आयोजना निर्माण तथा संरचना सुधार पूरा भएपछि दैनिक खानेपानी आपूर्ति बढ्ने र सेवा क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ।

हाल परियोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण तयारी भइरहेको छ। सम्भवत: दसैंपछाडि नै परियोजना हस्तान्तरण हुने नेपाल खानेपानी संस्थान विराटनगरका कार्यालय प्रमुख रौनियारले जानकारी दिए। उनका अनुसार परियोजनाले विराटनगरका विभिन्न १४ वटा वडाका करिब एक लाख जनसंख्यालाई खानेपानी पुर्‍याउने लक्ष राखेको छ। एक लाख नगरवासीलाई स्वच्छ खानेपानी पुर्‍याउने लक्ष पूरा गर्न नेपाल खानेपानी संस्थान विराटनगर कार्यालयले जनशक्तिलगायतका आवश्यक तयारी पनि गर्न आवश्यक रहेको रौनियार बताउँछन्।

रौनियारका अनुसार हाल नेपाल खानेपानी संस्थान विराटनगर कार्यालयले विराटनगर महानगरपालिकाभित्रका १३ हजार २ सय परिवारलाई खानेपानी वितरण गर्दै आइरहेको छ। खानेपानीको गुणस्तरमा सुधार परियोजना सम्पन्न भइसकेको र लक्ष्यअनुसार धारा वितरण गर्न संस्थानले थप आठ हजार परिवारलाई धारा जडानको लक्ष्य राखेको रौनियारले बताए।

विराटनगर महानगरपालिकाभित्रका २० हजार बढी घरधुरीमा धारा जडान भए परियोजनाले लिएको एक लाख मानिसलाई खानेपानी पुर्‍याउने लक्ष्य पूरा हुने उनको भनाइ छ, तर त्यसका लागि खानेपानी वितरण प्रणालीमा सुधार गरी कार्यालयलाई आवश्यक जनशक्तिसमेत उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।