नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा भारतीय क्रिकेट कमेन्टेटर मिखाइल वासवानी पुनः कमेन्ट्री प्यानलमा फर्किने भएका छन्।
उनले भिडियो सन्देशमार्फत प्रतियोगिताको आगामी सिजनमा कमेन्ट्री गर्न पाउँदा उत्साहित रहेको बताए। वासवानीले नेपाली दर्शकलाई सम्बोधन गर्दै भनेका छन्, ‘विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना। म नेपाल प्रिमियर लिग सिजन ३ को कमेन्ट्री प्यानलमा जोडिन पाउँदा निकै उत्साहित छु।’
एनपिएललाई ‘हिमालको महोत्सव’ भन्दै उनले सबैलाई एकजुट भएर प्रतियोगिताको उत्सव मनाउन आह्वान गरेका छन्। नेपाल प्रिमियर लिगजस्तो ठुलो प्रतियोगिताको हिस्सा बन्नु सौभाग्य र सम्मानको कुरा भएको पनि उनले बताए। उनले थप भनेका छन्, ‘नेपाल प्रिमियर लिगजस्तो ठुलो लिगको हिस्सा बन्नु सधैँ सौभाग्य र सम्मानको कुरा हो।’

वासवानीले यसअघि पनि एनपिएलमा कमेन्ट्री गरिसकेका छन्। सन् २०२४ मा आयोजित पहिलो सिजनमा उनी अंग्रेजी कमेन्ट्री प्यानलमा थिए। त्यसपछि दोस्रो सिजनमा पनि उनले प्रतियोगितामा कमेन्ट्रीलाई निरन्तरता दिएका थिए। उनको ऊर्जावान प्रस्तुति र नेपाली क्रिकेटप्रतिको चासोले नेपालमा पनि उनलाई दर्शकमाझ परिचित बनाएको छ।
एनपिएल सिजन ३ सोमबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ।
नोभेम्बर २१ सम्म सञ्चालन हुने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा कुल ३२ वटा टी-२० खेल हुनेछन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।