काराकास। भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक रूपमा तनावपूर्ण अवस्थामा उनको स्वदेश फिर्ती भएको हो।
‘म यहाँ छु, तपाईँहरूसँगै छु,’ माचाडोले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्। यसअघि उनले पटक–पटक स्वदेश फर्कने प्रयास गरे पनि सफल हुन सकेकी थिइनन्।
माचाडोले सन् २०२३ मा स्वतन्त्र रूपमा आयोजित राष्ट्रपतीय प्राथमिक निर्वाचनमा ९० प्रतिशतभन्दा बढी मत प्राप्त गरेकी थिइन् । तर, राष्ट्रपति निकोलस मादुरो नेतृत्वको सरकारले उनलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो। सरकारले उनीमाथि ठगी र कर उल्लङ्घनको आरोप लगाएको थियो । माचाडोले भने ती आरोप राजनीतिक उद्देश्यबाट प्रेरित रहेको बताउँदै आएकी छन्।

मादुरो सरकारले चुनाव लड्न रोक लगाएपछि सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेज उम्मेदवार बनेका थिए। निर्वाचन निकायले मादुरोलाई विजयी घोषणा गरे पनि विस्तृत मतपरिणाम सार्वजनिक नगरेपछि विपक्षीले त्यसको विरोध गरेको थियो। विपक्षीले गोन्जालेज विजयी भएको दाबी गर्दै मतगणनाका विवरणसमेत सार्वजनिक गरेको थियो।
माचाडो नोबेल शान्ति पुरस्कार ग्रहण गर्न नर्वे जानुअघि भेनेजुएलामै लुकेर बसेकी थिइन् । उनी रातको समयमा स्पिडबोटमार्फत देश छाडेर नर्वे पुगेकी थिइन्।
गत जनवरीमा अमेरिकी सेनाले मादुरोलाई नियन्त्रणमा लिएर देशबाहिर लगेको थियो। उनी अहिले अमेरिकाको न्युयोर्कमा लागुऔषध, हतियार तथा यातनासम्बन्धी आरोपको सामना गर्दै हिरासतमा छन् । उनले आफूमाथिका आरोप अस्वीकार गरेका छन्।
मादुरो सत्ताबाट हटेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले उनकी उपप्रमुख डेल्सी रोड्रिगेजलाई अन्तरिम नेताका रूपमा समर्थन गरेको थियो। रोड्रिगेजले पछि अमेरिकालाई अनुकूल हुने सर्तसहितको तेल सम्झौतामा हस्ताक्षर गरेकी थिइन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।