विज्ञापन
राजनीति

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

जेरुसेलम।इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सत्ताबाट हटाउने लक्ष्यसहित केन्द्र–दक्षिणपन्थीदेखि वामपन्थीसम्मका विपक्षी दलहरू एकजुट भएका छन्।

‘चेन्ज ब्लक’ मा आबद्ध दलहरूले नेतान्याहु र उनका अतिदक्षिणपन्थी सहयोगीलाई पराजित गर्न गठबन्धन बनाउने प्रतिबद्धता जनाएका छन्। अरब पार्टीले पनि सहभागी हुने इच्छा देखाएको छ, तर अन्य दलले त्यसबारे स्पष्ट धारणा दिएका छैनन्।

पूर्व सेना प्रमुख गदी आइसेनकोट, पूर्व प्रधानमन्त्री नफ्ताली बेनेट, यायर लापिड, एभिग्डोर लिबरम्यान, यायर गोलन र अरब पार्टीका नेता मन्सुर अब्बास नेतान्याहुविरोधी मोर्चाका प्रमुख व्यक्तित्व हुन्।

विज्ञापन

६५ वर्षीय आइसेनकोट गाजा युद्धमा छोरा र दुई भतिजा गुमाएपछि सार्वजनिक सहानुभूति पाएका नेता हुन्। उनले प्यालेस्टिनी राज्य स्थापनाको विरोध र गाजामा हमासको शासन अन्त्य गर्ने धारणा राखेका छन्। सन् २०२४ मा नेतान्याहुको युद्ध मन्त्रिपरिषदबाट राजीनामा दिएका उनले अर्को वर्ष आफ्नै ‘याशर’ पार्टी स्थापना गरेका थिए।

५४ वर्षीय बेनेटले सन् २०२१ मा अरब पार्टीको समर्थनसहित विविध दलको गठबन्धन बनाएर नेतान्याहुको लगातार १२ वर्षको शासन अन्त्य गरेका थिए ।

उनको सरकार भने एक वर्षमै ढलेको थियो। दक्षिणपन्थी मतदातालाई आकर्षित गर्ने प्रयासमा रहेका बेनेटले नेतान्याहुलाई विपक्षी गठबन्धनको सरकारमा समावेश गर्न सकिने धारणा पनि राखेका छन्।

पूर्व पत्रकार तथा पूर्व प्रधानमन्त्री ६२ वर्षीय यायर लापिड मध्यमार्गी येश अटिड पार्टीका नेता हुन्। उनले अर्थ र विदेशमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। नेतान्याहुको आलोचक लापिडलाई आफ्नो परम्परागत सहरी तथा धर्मनिरपेक्ष मतदाताभन्दा बाहिर समर्थन विस्तार गर्न चुनौती रहेको बताइन्छ।

धर्मनिरपेक्ष राष्ट्रवादी नेता एभिग्डोर लिबरम्यान कुनै समय नेतान्याहुका निकट सहयोगी थिए। अहिले उनले प्रधानमन्त्रीको सुरक्षा नीतिको आलोचना गर्दै आएका छन्। उनले विदेश, रक्षा र अर्थ मन्त्रालयको नेतृत्व गरिसकेका छन्।

यायर गोलन नेतृत्वको ‘द डेमोक्रेट्स’ पार्टीले परम्परागत वामपन्थी धारको प्रतिनिधित्व गर्छ। गोलनले प्यालेस्टिनीहरूसँग दुई राज्य समाधानको समर्थन गर्नुका साथै समलिङ्गी विवाहलाई मान्यता दिन र यहुदी विश्रामदिनमा सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने धारणा राखेका छन्।

अरब समुदायको प्रतिनिधित्व गर्ने मन्सुर अब्बासको पार्टी सन् २०२१ मा बेनेट नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने पहिलो अरब पार्टी बनेको थियो। इजरायलको जनसंख्यामा अरब समुदायको हिस्सा करिब २० प्रतिशत छ। अब्बासको समर्थन विपक्षी गठबन्धनका लागि निर्णायक हुन सक्ने बताइएको छ।

नेतान्याहुले भने उनीसँग सहकार्य गर्ने विपक्षी नेताहरूको आलोचना गर्दै आएका छन्। समर्थन विस्तार गर्न अब्बासले इजरायली यहुदी तथा पूर्वप्रहरी अधिकारी योव सेगालोभिट्जलाई आफ्नो पार्टीबाट उम्मेदवार बनाएका छन्। –रासस/एएफपी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।