संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा शनिबारदेखि सुरु भएको प्रथम ‘मझिया स्मृति कप २०८३’ आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा धरानको रेवाहाङ फेयर फुटबल क्लबले फराकिलो जित निकालेको छ। रेवाहाङले आयोजक क्षेत्रको मावादिन युवा समाज विकास केन्द्रलाई ५–० गोलले पराजित गरेको हो।
खेलको सुरुदेखि नै आक्रामक देखिएको रेवाहाङले पहिलो हाफमै तीन गोलको अग्रता बनाएको थियो। खेलको १४औँ मिनेटमा आसिका कार्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। त्यसपछि २७औँ मिनेटमा प्रजिता राई र २९औँ मिनेटमा यमकुमारी बीकेले गोल थपेपछि रेवाहाङ पहिलो हाफमा ३–० ले अघि रह्यो।
दोस्रो हाफमा पनि रेवाहाङले आक्रमणलाई निरन्तरता दियो। दोस्रो हाफको नवौँ मिनेटमा शिक्षा याक्खाले गोल गरिन्। उनले अतिरिक्त समयमा व्यक्तिगत दोस्रो गोल गरेपछि रेवाहाङले ५–० को जित सुनिश्चित गर्यो। खेल अवधिभर मावादिनले गोल फर्काउन सकेन। उत्कृष्ट प्रदर्शन गरेकी रेवाहाङकी प्रजिता राई ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले गरेका थिए। उद्घाटन समारोहमा मन्त्री लिङ्थेपले श्रमदानबाट निर्माण सुरु गरिएको खेलमैदानलाई थप व्यवस्थित बनाउन आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय क्षेत्रमा महिला फुटबल प्रतियोगिता कम आयोजना हुने गरेको अवस्थामा मझिया स्मृति कपले महिला खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। फुटबल विकास र सामाजिक क्षेत्रमा योगदान पुर्याएका स्वर्गीय मानबहादुर जिमी ‘मझिया’को स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो।
मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजना तथा हाङ्थुम क्लबको सह–आयोजनामा भइरहेको प्रतियोगिताले नयाँ पुस्तालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै महिला फुटबलको विकासमा योगदान पुर्याउने प्रतिष्ठानका अध्यक्ष रामकुमार जिमीले बताए।
प्रतियोगितामा आठ टोली सहभागी छन्। विजेताले तीन लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले २१ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताअन्तर्गत दोस्रो क्वार्टरफाइनल खेल आइतबार कात्तिक ९ गते दिउँसो १ बजे पदमा स्पोर्ट्स क्लब, ओखलढुङ्गा र बेलबारी फुटबल क्लब, मोरङबीच हुनेछ। प्रतियोगिता कात्तिक १३ गतेसम्म सञ्चालन हुनेछ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।