भारतको उत्तर प्रदेशस्थित मेरठमा सौरभ राजपूतको हत्या प्रकरणमा मृत्युदण्डको सजाय पाएका मुस्कान रस्तोगी र साहिल शुक्लाले जिल्ला अदालतको फैसला चुनौती दिँदै इलाहाबाद उच्च अदालतमा पुनरावेदन दिएका छन्।
उनीहरूले आफूहरूलाई दोषी ठहर गर्ने निर्णय र मृत्युदण्डको सजाय खारेज गर्न माग गरेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार दुवै जनाले आफ्ना वकिलमार्फत १६८ पृष्ठको संयुक्त पुनरावेदन दायर गरेका हुन्। उच्च अदालतको दोहोरो इजलासले आगामी साता मुद्दाको सुनुवाइ गर्न सक्ने बताइएको छ।
मेरठको जिल्ला तथा सत्र अदालतले ३० सेप्टेम्बर २०२६ मा मुस्कान र साहिललाई हत्यामा दोषी ठहर गरेको थियो। त्यसपछि १४ अक्टोबरमा अदालतले यसलाई दुर्लभमध्ये दुर्लभ घटना भन्दै दुवैलाई मृत्युदण्ड र जनही ५० हजार भारतीय रुपैयाँ जरिवाना सुनाएको थियो। प्रमाण नष्ट गरेको अभियोगमा पनि उनीहरूलाई सजाय दिइएको थियो।

यो घटना मेरठको ब्रह्मपुरी प्रहरी क्षेत्रसँग सम्बन्धित छ। प्रहरीका अनुसार सौरभ राजपूतको हत्या गरेपछि उनको शवलाई नीलो प्लास्टिकको ड्रममा राखेर सिमेन्ट र कंक्रिटले बन्द गरिएको थियो। यस घटनामा मुस्कान रस्तोगी र साहिल शुक्ला पक्राउ परेका थिए।
मुस्कान र साहिलले जिल्ला अदालतको फैसला गैरकानुनी र मनोमानी भएको दाबी गरेका छन्। उनीहरूको पुनरावेदनमा अभियोजन पक्षले आरोप शंकाभन्दा पर पुग्ने गरी प्रमाणित गर्न नसकेको उल्लेख गरिएको छ। मुद्दा मुख्यतः परिस्थितिजन्य प्रमाणमा आधारित थियो। तर जिल्ला अदालतले कानुनी सिद्धान्तलाई बेवास्ता गर्दै अनुमानका आधारमा दोषी ठहर गरेको उनीहरूको दाबी छ। हतियार, सिमेन्ट र ड्रम खरिदसम्बन्धी साक्षीका बयानमा विरोधाभास रहेको तथा सिसिटिभी फुटेज र खरिदका वैध रसिद प्रस्तुत नगरिएको पनि पुनरावेदनमा उल्लेख गरिएको छ।
पुनरावेदनमा वरिष्ठ वकिल सुशील शुक्ला, निधि त्रिवेदी, रवितेन्द्र प्रताप सिंह चन्देल र सन्दीप कुमार दुबेले उनीहरूको पक्षमा बहस गर्ने बताइएको छ।
यसैबिच, मेरठको अर्को चर्चित सर्प प्रकरणमा अमित कश्यपको हत्यामा मृत्युदण्डको सजाय पाएका रविता र अमरदीपले पनि इलाहाबाद उच्च अदालतमा पुनरावेदन दिने तयारी गरेको जनाएको छ।
यो पनि पढ्नुहोस्
श्रीमानको हत्या गरी सर्पबाट डसाउने रवितालाई मृ*त्युदण्ड, प्रेमीलाई पनि सजाय


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।