२०६४ साल कात्तिक १८ गते अपहरण गरी हत्या गरिएका पत्रकार वीरेन्द्र साहको हत्या अभियुक्त तत्कालीन नेकपा माओवादी बाराका जनसरकार प्रमुख लालबहादुर चौधरीलाई बारा जिल्ला अदालतले पुर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
साहको हत्या गरी फरार रहेका चौधरीले कात्तिक १२ गते बारा जिल्ला अदालतमा हाजिर भएका थिए।
हत्या गरेको लगभग १९ वर्षपछि अदालतमा हाजिर भएका चौधरीलाई पूर्वपक्षका लागि थुनामा पठाइएको बारा जिल्ला अदालतका श्रेस्तेदार राजकुमार दाहालले बताएका छन्।

बारा जिल्ला अदालतका ४ नम्बर इजलासका न्यायाधीश दुर्गादेवी गुरुङको इजलासले चौधरीलाई थुनामा पठाउने आदेश दिएको उनले बताए।
तत्कालीन माओवादी शान्ति वार्तामा आएको अवस्थामा पत्रकार साहलाई २०६४ असोज १८ गते पिपरा बजारबाट तत्कालीन नेकपा माओवादीका बारा जनसरकार प्रमुख लालबहादुर चौधरी, कुन्दन फौजदार, हरेराम कुर्मी, रामएकबाल सहनी र मैनेजर गिरी गरी पाँच जनाको संलग्नतामा अपहरण गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो।
अपहरण गरेको ३४ दिनपछि साहको शव २०६४ कार्तिक २२ गते टाँगिया बस्ती जङ्गलमा गाडिएको अवस्थामा फेला परेको थियो।
तत्कालीन प्रेस चौतारीका केन्द्रीय सदस्य तथा एभिन्युज टेलिभिजन, हिमाल खबर, नेपाल एफएम लगाएतका संचार क्षेत्रमा आबद्ध रहेका साहको हत्याको देशभरि नै विभिन्न संघ संस्थाहरूले विरोध प्रदर्शन गर्दा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालेले दोषीलाई कारबाही गर्न निर्देशन दिएका थिए।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।