रोशी खोलामा आएको बाढीले सडकका विभिन्न संरचना तथा डाइभर्सन बगाएपछि अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा आउन अझै समय लाग्ने भएको छ।
दुई दिनदेखिको अविरल वर्षाका कारण शनिबार बिहानैदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहे पनि सडकमा भएको क्षतिका कारण तत्काल यातायात सञ्चालन गर्न कठिनाइ भएको हो।
रोशी खोलामा आएको बाढीले गिम्दीबेँसी क्षेत्र तथा पुनर्निर्माण भइरहेको सडकखण्डका अन्य विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन बगाएको छ। बाढीका कारण सडकका केही भागमा क्षति पुगेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।

पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक डिभिजन भक्तपुरले बिहानैदेखि सडक खुलाउने काम सुरु गरे पनि क्षति अनुमान गरेभन्दा बढी देखिएकाले सञ्चालनमा ल्याउन समय लाग्ने जानकारी दिए। दिउँसो २/३ बजेसम्म सडक खुल्न सक्ने भएकाले बिपी राजमार्गको यात्रा गर्दा जानकारी लिएर मात्रै गर्न गजुरेलले अनुरोध गरे।
सडक डिभिजन कार्यालय भक्तपुरले बिहान १० बजेसम्म यातायात सञ्चालन गर्ने लक्ष्यसहित मर्मत तथा डाइभर्सन निर्माणको काम अघि बढाइएको थियो। तर, बाढीले सडकमा पुर्याएको क्षति र निर्माण गर्नुपर्ने संरचनाको अवस्थाका कारण निर्धारित समयमा सडक खुलाउन नसकिने देखिएको छ।
कार्यालयका अनुसार सडक खुलाउन आवश्यक उपकरण तथा जनशक्ति परिचालन गरी काम भइरहेको छ। अवस्था अनुकूल रहे दिउँसोसम्म यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
बिपी राजमार्ग अवरुद्ध हुँदा काठमाडौँबाट पूर्वी नेपाल जाने तथा पूर्वबाट काठमाडौँ आउने यात्रु र सवारीसाधन प्रभावित भएका छन्। राजमार्गमा निर्भर यात्रुवाहक तथा मालवाहक सवारीसाधन बाटोमै रोकिएका छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।