विगतका कमजोरीहरूप्रति आत्मआलोचित बन्दै र पार्टीभित्र नेतामुखी तथा केन्द्रमुखी प्रवृत्ति बढेको स्वीकार गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दुई महिने राष्ट्रिय जागरण अभियानमा होमिएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत मंसिर २५ गतेसम्म चल्ने यस देशव्यापी अभियानको औपचारिक उद्घाटन गरिएको हो।
अभियानको शुभारम्भ गर्दै नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतका उपलब्धि र कमजोरीको समीक्षा अब शीर्ष नेताहरूले मात्र गरेर नपुग्ने भएकाले जनताको आलोचना सुन्न गाउँ-गाउँ जान लागिएको बताए।

‘विगतका कमजोरी र उपलब्धिको समीक्षा अब नेताहरूले मात्रै गरेर पुग्दैन,’ संयोजक प्रचण्डले भने, ‘जनताको तहमा पुगेर उनीहरूकै मुखबाट आलोचना सुन्नुपर्यो र त्यसलाई आत्मसात् गर्नुपर्यो। देशका तमाम अप्ठ्याराहरूलाई पार गर्न नयाँ संकल्पसहित अघि बढ्न यो अभियान थालिएको हो।’
उनले नेता-कार्यकर्तालाई जनताका बीचमा विनम्र भएर जान र भाषणभन्दा कामबाट विश्वास जित्न निर्देशन दिए।
जागरण अभियानका अवसरमा नेकपाले सार्वजनिक अपिल जारी गर्दै कम्युनिस्ट पार्टीको मुख्य आधार मानिने किसान, मजदुर, श्रमजीवी, गरिब तथा उत्पीडित वर्गसँगको सम्बन्ध कमजोर बन्दै गएको औपचारिक रूपमा स्वीकार गरेको छ।
अपिलमा जनमुखीभन्दा नेतामुखी तथा गाउँमुखीभन्दा केन्द्रमुखी प्रवृत्ति बढेको उल्लेख गर्दै जनताको जीवन र अपेक्षासँग नजोडिएको राजनीति दिगो हुन नसक्ने निष्कर्ष निकालिएको छ।
आफ्ना विगतका कामको इमानदारीपूर्वक समीक्षा गरी गल्तीहरूप्रति आत्मआलोचित बन्दै गुमेको जनविश्वास पुनः आर्जन गर्नु पार्टीको मुख्य दायित्व भएको अपिलमा औंल्याइएको छ।
यस अभियानका क्रममा पार्टीका केन्द्रीय नेताहरूकै कमान्डमा गाउँ, वडा र टोलसम्म पुगेर किसान, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, अल्पसंख्यक समुदाय, बुद्धिजीवी, कर्मचारी र व्यवसायीसँग प्रत्यक्ष संवाद गरिनेछ।
अभियान केवल गुनासो सुन्नेमा सीमित नभई समस्या समाधानको पहलकदमी लिन केन्द्रित हुने नेकपाले जनाएको छ। महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवाको ढिलासुस्ती, सुकुम्बासी र वैदेशिक रोजगारीका समस्याबारे तल्लो तहबाट तथ्य संकलन गरिनेछ।
संकलित समस्याहरूलाई प्रतिवेदनका रूपमा तयार पारी सम्बन्धित सरकारी निकायमा मागपत्र तथा ज्ञापनपत्र बुझाउने र समाधानका लागि भएका प्रयासबारे पुनः जनतालाई जानकारी गराउने पार्टीको कार्यतालिका छ।
अपिलमार्फत नेकपाले वर्तमान दुईतिहाइको सरकार जनअपेक्षा पूरा गर्न पूर्णतः असफल भएको दाबी गरेको छ। सरकार गठनपछि महँगी, बेरोजगारी र युवा पलायन झनै बढेको तथा सरकार फरक मतप्रति असहिष्णु बन्दै अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउन र लोकतान्त्रिक संस्थामाथि हस्तक्षेप गर्न उद्यत रहेको आरोप पार्टीले लगाएको छ।
यस्तै, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति र बेपत्ताको खोजी तथा उद्धारमा राज्यले चरम लापरबाही देखाएको भन्दै नेकपाले आपत्ति जनाएको छ। पीडितलाई तत्काल राहत, सुरक्षित पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधारको शीघ्र पुनर्निर्माण गर्न माग गरिएको छ।
एमालेसँग पार्टी एकताको सम्भावना छैन : प्रचण्ड
पत्रकार सम्मेलनमा संयोजक प्रचण्डले नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारे।
‘राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका लागि जोसँग पनि सहकार्य हुन सक्छ, तर यसको अर्थ एमालेसँग पार्टी एकता हुन्छ भन्ने होइन,’ उनले भने। उनले दुवै दलको चरित्र फरक रहेको दाबी गरे।
तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित २६ वटा साना-ठूला कम्युनिस्ट घटकहरू मिलेर वर्तमान नेपाली कम्युनिस्ट पार्टी बनेको प्रस्ट्याउँदै उनले माओवादी अस्तित्वबारे भ्रम नछर्न आग्रह गरे।
सुशासन र सामाजिक न्यायको पक्षमा काम गरिरहेकै बेला संसद्का दुई ठूला दल (कांग्रेस र एमाले) मिलेर आफूलाई सरकारबाट हटाएको उनको आरोप थियो।
३५ वर्षमा केही भएन भन्ने भाष्य तथ्यहीन : माधवकुमार नेपाल
नेकपाका सहसंयोजक माधवकुमार नेपालले पुराना दल र नेताहरूले विगत ३५ वर्षमा केही काम नै गरेनन् भन्ने भाष्यलाई तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिए।
‘पुराना दल र नेताले केही गरेनन्, देशमा केही भएन भन्ने भाष्य कति सही हो, कति गलत ? मनोगत ढंगले आरोप लगाएर हुँदैन, तथ्यगत रूपमा पुष्टि गर्नुपर्छ,’ सहसंयोजक नेपालले भने, ‘तथ्यले पुष्टि गर्छ भने कमजोरी स्वीकार्न तयार छौं, तर तथ्यले खण्डन गर्छ भने त्यसलाई अस्वीकार गरिन्छ।’
विगतका जोखिमपूर्ण काम र उपलब्धिको जस नदिई अपजस मात्रै पुराना दलमाथि थोपर्ने प्रवृत्ति गलत रहेको बताउँदै उनले पुराना पार्टीहरूले विगतका कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने धारणा राखे।
मंसिर २५ सम्म चल्ने अभियान अवधिभर पार्टी समायोजनका बाँकी काम टुंग्याउने, सदस्यता नवीकरण गर्ने र संगठनलाई जगैदेखि सुदृढ बनाउने नेकपाको योजना छ।
पार्टीका नेता तथा कार्यकर्तालाई श्रम र उत्पादनसँग जोड्दै राष्ट्रिय पुँजीको विकास, कृषि तथा उद्योगको आधुनिकीकरण र न्यायपूर्ण वितरणमार्फत समाजवाद निर्माणको आधार तयार पार्ने कार्यदिशामा अघि बढ्न नेकपाले आह्वान गरेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।