विज्ञापन
स्वास्थ्य

जाडो सुरु भएसँगै घट्न थाल्यो डेङ्गी सङ्क्रमण

वर्षायाम सकिएर जाडोयाम सुरु भएसँगै गण्डकी प्रदेशमा डेङ्गीको सङ्क्रमण दर उल्लेख्य रूपमा घट्न थालेको छ।

प्रादेशिक रोग नियन्त्रण केन्द्रका अनुसार यस वर्ष सबैभन्दा बढी गत अगस्टमा १ हजार २७४ जनामा डेङ्गी पुष्टि भएकोमा अक्टोबर लागेयता त्यो सङ्ख्या घटेर ४२५ मा सीमित भएको छ।

केन्द्रका महानिर्देशक मनमोहन मिश्रका अनुसार जुलाईदेखि बढ्न थालेको सङ्क्रमण सेप्टेम्बरमा १ हजार १९१ जनामा देखिएको थियो।

विज्ञापन

यस वर्ष हिमालपारिको जिल्ला मनाङबाहेक गण्डकीका सबै जिल्लामा डेङ्गी फैलिएको र तीमध्ये सबैभन्दा बढी बागलुङ प्रभावित भएको उनले बताए।

गत जनवरीयताका ४३ हप्तामा गण्डकी प्रदेशभर कुल ३ हजार ५७६ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ।

‘कुनै समय एकै हप्तामा २७४ जनासम्म सङ्क्रमित भेटिएका थिए, तर पछिल्लो ४३औँ हप्तामा यो सङ्ख्या घटेर ६९ जनामा झरेको छ,’ महानिर्देशक मिश्रले भने, ‘सामान्यतया जाडो याममा यो रोगको प्रकोप न्यून रूपमा मात्र देखा पर्छ।’ विगतको तथ्याङ्क अनुसार जनवरीमा ३५, फेब्रुअरीमा ३७ र मार्चमा २६ जनामा मात्र डेङ्गी देखिएको थियो।

पछिल्लो हप्ताको आँकडा अनुसार पर्वतमा २०, गोरखा र कास्कीमा १३-१३, म्याग्दीमा ६, बागलुङमा ५, लमजुङमा ४, स्याङ्जा र तनहुँमा ३-३ तथा मुस्ताङ र नवलपुरमा १-१ जनामा सङ्क्रमण पुष्टि भएको छ।

सङ्क्रमण दर घटे पनि जोखिम पूर्ण रूपमा नहटिसकेको चिकित्सकहरूको भनाइ छ।

‘सङ्क्रमण घट्दै गएको भए पनि कात्तिक अन्तिमसम्म डेङ्गीको जोखिम कायमै रहने भएकाले नागरिकले आवश्यक सावधानी अपनाउनुपर्छ,’ महानिर्देशक मिश्रले सचेत गराए।

डेङ्गी सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेले जमेको सफा पानीमा फुल पार्ने र दिउँसोको समयमा मात्र टोक्ने गर्दछ।

चिकित्सकहरूले घर, कार्यालय र सार्वजनिक स्थलका खाल्डाखुल्डी, पुराना टायर, ड्रम तथा भाँडाकुँडामा पानी जम्न नदिन र नियमित सरसफाइ गर्न आग्रह गरेका छन्।

यसअघि सङ्क्रमण तीव्र बनेपछि विभिन्न स्थानीय तहमा लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियानसमेत सञ्चालन गरिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

स्वास्थ्य बाट थप

थप — स्वास्थ्य

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।