झापा।झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण सुस्त भएकाले सो कार्यलाई तीव्र बनाउन जोड दिइएको छ। दशकौंदेखि पूर्जाको प्रतिक्षामा रहेका नागरिकलाई यथाशीघ्र पूर्जा वितरण गर्नुपर्नेमा जोड दिइएको हो।
जिल्ला प्रशासन कार्यालय झापामा आज भएको छलफलमा झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य शम्भु सुस्केरा ढकालले पूर्जा वितरणमा भइरहेको ढिलाइको कारण पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताए।
“दशकौंदेखि लालपुर्जा नपाएकालाई चाँडो वितरण गर्नुपर्यो। त्यसका लागि के समस्या हो, कहाँ समस्या छ ? सबै समस्या हटाउने गरी सरकारले अध्यादेश ल्याइसक्यो, काम किन ढिला हो ?”, उनले प्रश्न गरे।

झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य प्रकाश पाठकले सरकारले तोकेको समय सीमाअनुसार पूर्जा वितरणको प्रगति सन्तोषजनक नरहेको बताए।
उनका अनुसार निर्धारित अवधिमा २१ प्रतिशत पूर्जा वितरण भइसक्नु पर्नेमा हालसम्म एक प्रतिशत प्रगति नहुनु विडम्बनापूर्ण भएको बताए। उनले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रविधिमैत्री तथा वैज्ञानिक उपाय अपनाउनु पर्नेमा जोड दिए।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भूमिसम्बन्धी समस्या समाधानको कामलाई तीव्रता दिन मन्त्रालयबाट जिल्लामा थप जनशक्ति माग गर्ने तयारी गरिएको जानकारी दिए। उनका अनुसार जिल्लामा भूमिसम्बन्धी समस्या समाधानका लागि कुल ६० हजार २८७ जनाले आवेदन दिएका छन्।
तीमध्ये भूमिहीन दलित दुई हजार ८९३, भूमिहीन सुकुम्बासी १५ हजार ७२८ र अव्यवस्थित बसोबासी ४१ हजार ६६६ जना छन्। हालसम्म जिल्लाका विभिन्न पालिकामा गरी ६५ जनालाई जग्गाधनी पूर्जा वितरण गरिएको उनले जानकारी गराएका थिए ।
छलफलमा एसियन हाइवे, मदन भण्डारी राजमार्ग र हुलाकी राजमार्गलगायत जिल्लामा सञ्चालित विकास आयोजनाको प्रगतिबारे पनि चासो व्यक्त गरिएको थियो । एसियन हाइवे निर्माण कम्पनीका प्रतिनिधिले विद्युत्का पोल समयमै नसारिएको र ओभरपास निर्माणका लागि आवश्यक माटो समयमा उपलब्ध हुन नसकेको गुनासो गरेका थिए।
प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्लामा सरकारी निकायबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन गरिएका प्रयासबारे जानकारी गराएका थिए। छलफलमा सार्वजनिक सेवा प्रवाहलाई जनमुखी, छिटोछरितो र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने खालको बनाउनु पर्नेमा जोड दिइएको थियो।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।