सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण र दुई देशका सीमावर्ती सुरक्षा निकायबीच समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले १०औँ द्विपक्षीय समन्वय बैठक सुरु भएको छ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन् भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिंघलले गरेका छन्।
बैठकमा नेपालका गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा नापी विभागका प्रतिनिधि सहभागी छन्। भारतीय पक्षबाट गृह मन्त्रालय, विदेश मन्त्रालय, काठमाडौंस्थित भारतीय राजदूतावास र सशस्त्र सीमा बलका उच्च अधिकारी सहभागी छन्।

सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार बैठकमा सीमाको प्रभावकारी सुरक्षा व्यवस्थापन, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, मानव तस्करी तथा लागुऔषध ओसारपसार नियन्त्रण, अवैध हातहतियार तथा अन्य सामग्रीको तस्करी नियन्त्रण र सीमा क्षेत्रमा शान्ति तथा सुव्यवस्था कायम गर्ने विषयमा छलफल हुनेछ।
दुई दिनसम्म चल्ने बैठकमा दशगजाको अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण, मर्मतसम्भार तथा निर्माण र सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका विषयमा पनि छलफल हुनेछ। सीमा व्यवस्थापन संयन्त्रले निर्दिष्ट गरेको मार्गदर्शनका आधारमा यी काम अघि बढाउने विषयमा दुवै पक्षले समीक्षा गर्नेछन्।
त्यस्तै, सीमापार प्रभाव पार्न सक्ने महामारी तथा विपद्को जोखिम न्यूनीकरण गर्न नियमित समन्वय बैठक र तत्काल सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने विषय पनि बैठकको कार्यसूचीमा छ।
सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकसँगको सम्बन्ध सुदृढ बनाउने तथा दुवै सुरक्षा निकायबीच आपसी सम्बन्ध र सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल हुनेछ। यसका लागि मैत्रीपूर्ण खेलकुदलगायत समन्वय अभिवृद्धि गर्ने गतिविधि सञ्चालन गर्ने प्रस्तावमा विचारविमर्श गरिने प्रवक्ता कार्कीले बताए।
बैठकमा दुवै सुरक्षा सङ्गठनको क्षमता अभिवृद्धि र संस्थागत सहयोग विस्तार गर्ने, नेपाल–भारत खुला सिमानाको प्रयोग गरी तेस्रो मुलुकका नागरिकबाट हुन सक्ने अवैध आवागमनलाई कडाइका साथ नियमन गर्ने तथा सीमा व्यवस्थापनलाई आधुनिक र प्रभावकारी बनाउन उपयुक्त प्रविधिको प्रयोग गर्ने विषय पनि उठाइनेछ।
विपद् पूर्वतयारी तथा प्रतिकार्यमा संयुक्त सहकार्य प्रभावकारी बनाउने र सीमा नाकामा यात्रुको सहजताका लागि थप सहायता कक्ष स्थापना गर्ने विषयमा पनि छलफल हुनेछ। सीमा क्षेत्रमा उत्पन्न हुन सक्ने समस्या तथा चुनौतीको समयमै पहिचान र समाधान गर्न नियमित सम्पर्क, आपसी विश्वास, सूचनाको प्रभावकारी आदानप्रदान र संस्थागत समन्वयलाई निरन्तरता दिने विषयमा दुवै पक्षले छलफल गर्नेछन्।
रासस



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।