वासिङ्टन।ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो बोल्सोनारो र उनको परिवारलाई अमेरिकाले भिसा दिने भएको छ।
अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीको अनुसन्धानमा रहेका बोल्सोनारोलाई ब्राजिलको अदालतले राहदानी बुझाउन आदेश दिएको छ।
बोल्सोनारो कहाँ छन्भन्ने स्पष्ट छैन। राष्ट्रपति लुलाले उनले देश छाडेको जानकारी पाए पनि गन्तव्य थाहा नभएको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोल्सोनारो परिवारलाई ‘असल मानिस’ भन्दै अमेरिकामा स्वागत गर्ने बताएका छन्।

बोल्सोनारोले चुनावी हार स्वीकार गरेका छैनन्। उनले धाँधलीको आरोप लगाउँदै परिणाम उल्ट्याउन माग गरेका छन्। लुलाले ६ करोड ४० लाखभन्दा बढी मत प्राप्त गर्दा बोल्सोनारोले ६ करोडभन्दा कम मत पाएका थिए। परिणाम उल्ट्याउन ४४ लाख मतको अन्तरलाई प्रभावित पार्ने धाँधलीको प्रमाण पेस गर्नुपर्नेछ।
बोल्सोनारोका भाइ एडुआर्डो टेक्सासमा बस्दै आएका छन्। उनलाई ट्रम्प प्रशासनसँग सम्बन्धित गैरकानूनी पैरवी गरेको अभियोगमा अनुपस्थितिमै चार वर्षको जेल सजाय सुनाइएको छ। बोल्सोनारोले भने राहदानी बुझाएर आफूविरुद्धका कदमको सामना गर्ने बताएका थिए।
बोल्सोनारोका पिता तथा पूर्व राष्ट्रपति जायर बोल्सोनारो सन् २०२२ को चुनावमा पराजित भएपछि विद्रोहको प्रयास गरेको अभियोगमा २७ वर्षको जेल सजाय भोगिरहेका छन्। फ्लेभियोमाथि सरकारी निवृत्तिभरणबाट ठगीपूर्ण कटौती र विवादास्पद बैंकरबाट लाखौं डलर लिएको आरोपमा अनुसन्धान भइरहेको छ।
उनले कुनै गलत काम नगरेको दाबी गर्दै अनुसन्धानको नेतृत्व गरिरहेका न्यायाधीशको निष्पक्षतामाथि प्रश्न उठाएका छन्। बोल्सोनारोको सिनेटरका रूपमा कार्यकाल सन् २०२७ जनवरी ३१ मा सकिँदैछ। त्यसपछि उनले सर्वोच्च अदालतमा प्राप्त विशेष क्षेत्राधिकार गुमाउने छन्। –रासस /एपी



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।