विज्ञापन
समाज

म्याग्दीका सरकारी कार्यालयमा बाढीको असर, सेवा प्रवाह प्रभावित

काठमाडौं। म्याग्दीमा गत असोज दोस्रो साता आएको बाढीपहिरोले सरकारी कार्यालयका भवन र सामग्रीमा क्षति पुर्याउँदा सेवा प्रवाह प्रभावित भएको छ। बाढीका कारण कार्यालयका कागजात, अभिलेख, कम्प्युटर, फर्निचर र अन्य उपकरण नष्ट भएपछि नियमित कामकाज सञ्चालनमा समस्या देखिएको हो।

असोज ११ गते बिहान बेनी नगरपालिका-७ स्थित बराहपाखोबाट आएको बाढीले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालय र बेनी नगरपालिकाको भवनमा क्षति पुर्‍याएको थियो। बाढीले भुइँतलामा रहेका कोठा पुरेपछि कार्यालयका सेवा अवरुद्ध भएका हुन्।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले नयाँ भवनबाट सेवा सुरु गरे पनि महत्त्वपूर्ण कागजात र उपकरण अभावमा काम गर्न कठिन भएको पशु विकास अधिकृत गोपाल गिरीले बताउनुभयो। उहाँले भन्नुभयो, “नयाँ भवन निर्माण पूरा गरेर कार्यालय सञ्चालनमा ल्याएका छौँ। तर, कागजात, अभिलेख, औजार, उपकरण र फर्निचर बाढीले नष्ट गरेकाले समस्या भएको छ।” बाढीले कार्यालय परिसरमा राखिएका सवारीसाधनसमेत पुरिदिएको थियो।

विज्ञापन

डिभिजन वन कार्यालयको अवस्था पनि उस्तै छ। डिभिजनल वन अधिकृत वसन्तकेशव अधिकारीका अनुसार कार्यालयको योजना शाखाका तीनवटा कोठामा क्षति पुगेको छ भने सवारी पार्किङ गर्ने ग्यारेज भत्किएको छ। हाल कार्यालयका भुइँतलाका शाखालाई भू तथा जलाधार व्यवस्थापन कार्यालयको भवनमा सारेर काम सुरु गरिएको छ। उहाँले भन्नुभयो, “जेनतेन कार्यकक्ष बनाएर काम सुरु गरेका छौँ। तर, फर्निचर, कम्प्युटर, अभिलेख, प्रिन्टर र कागजात नष्ट भएकाले समस्या भएको छ।”

अधिकारीका अनुसार भवन मर्मतका लागि बजेटको अभाव अर्को चुनौती बनेको छ। बाढीले बेनी नगरपालिकाको भवनमा पनि क्षति पुर्‍याएको थियो, जहाँ कृषि र पशु सेवा शाखाले माटो पन्छाएर सेवा सुरु गरेका छन्। कार्यालय परिसरमा थुप्रिएको माटो र गेग्रान हटाउन समय लाग्दा भौतिक संरचना पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।