इलाम-झापा सीमा जोरकलशदेखि ताप्लेजुङसम्म विभिन्न खण्डमा मेची राजमार्गको चौडा विस्तार धमाधम भइरहेको छ। सडक साँघुरो भएका ठाउँमा डबल लेन बनाउनेगरी ६ प्याकेजमा चौडा बढाउने काम भइरहेको हो।
जोरकलशदेखि हर्कटे हुँदै राजदुवाली पहिरो मर्मतसम्म २५ करोड रुपैयाँमा ठेक्का लागी काम धमाधम भइरहेको छ। सडक डिभिजन कार्यालयका अनुसार यो खण्डको १५ किमीमा डबल लेन सडक बनाउने र स्तरोन्नति गर्ने जिम्मा जेनएनजे निर्माण सेवाले लिएको छ।
यही राजमार्गको धोबीधारादेखि मिलगोलाईसम्म साढे ७ किलोमिटरका २ प्याकेजमा राजमार्गको चौडा विस्तारको काम भइरहेको छ। गत साउनमै काम सुरु भएको र २ प्याकेजमा गरी १५ किमी सडक विस्तार हुने डिभिजन प्रमुख पवन भट्टराईले जानकारी दिए। धोबीधारादेखि ढकालबारीसम्मको प्याकेज ३४ करोड १४ लाख ९४ हजार रुपैयाँमा ठेक्का लागेको हो। गौरी गणेश-शंकर त्रिशक्ति जेभीले कामको जिम्मा लिएको छ। गत जेठ २१ मा सम्झौता भएको काम गर्ने म्याद २०८५ मंसिर १९ सम्म छ।

ढकालबारीदेखि मिलगोलाईको अर्को प्याकेजको कामसमेत धमाधम छ। सरोज-उद्देश्य जेभीले ४६ करोड १८ लाख ३७ हजार रुपैयाँमा कामको ठेक्का लिएको छ। ‘यी प्याकेजमा चाहिँ सडक चौडामात्र हुँदैन, सानवीरे खोल्सीमा २५ मिटरको पुल पनि बन्छ,’ डिभिजन प्रमुख भट्टराईले भने, ‘बञ्चरेगोलाई र मिलगोलाईको पहिरो गएको ठाउँमा आधुनिक प्रविधिको पहिरो नियन्त्रणको कामसमेत हुनेछ।’ उनका अनुसार एंकर, आरसिसी वाल, बायोइन्जिनियरिङसहितका काम यी प्याकेजमा छन्।
बाघखोरदेखि राँके खण्ड ज्यादै साँघुरो भएकाले यहाँ पनि चौडा बढाइँदैछ। करिब १० किमीको यो सडकको चाहिँ मोड सुधार प्राथमिकतामा भइरहेको छ। ‘यो खण्डमा सडक विस्तारभन्दा पनि रोड सेफ्टी इम्पु्रभमेन्टको कार्य भइरहेको छ,’ डिभिजन प्रमुख भट्टराईले भने, ‘यो काम गरिसक्दा १० किमीजति डबल लेनको सडक बन्छ। मोडलाई ट्राफिक जाम र सम्भावित दुर्घटनाबाट सेफ बनाउने मुख्य उद्देश्य हो।’ कामको ठेक्का भगवती क्युएस्टले लिएको छ।
मेची राजमार्गअन्तर्गत पाँचथरको जोरपोखरीदेखि गोपेटारसम्मको अति साँघुरो सडक सुधार गरिँदैछ। कालोपत्रै कहिल्यै नटिक्ने समस्या रहेको यो खण्डको ५ किमीमध्ये ३ किमी सडक ढलान थालिएको छ।
प्रमुख भट्टराईका अनुसार मेची राजमार्गको काबेलीसम्म अहिले इन्टरमिडिएट लेन (साढे ५ मिटर चौडाको गाडी गुड्ने भाग रहेको) छ। तर, काबेलीदेखि ताप्लेजुङसम्मको साढे २२ किमी सडक चाहिँ सिंगल लेन (चौडा ४ मिटर) छ। यो खण्डमा ज्यादै दुर्घटना हुने र जलविद्युत् आयोजनाहरू पनि धेरै भएकाले सडकमा निकै चाप छ। यहाँ पनि मोड सुधार भइरहेको उनले जनाए। हिमालयन निर्माण सेवाले यहाँको काम गरिरहेको छ।
डिभिजन प्रमुख भट्टराईले डिभिजनले निर्धारित समयमा काम सम्पन्न गराउनेगरी निर्माणकर्तालाई ताकिता गरिरहेको जनाए। ‘समयमै काम सक्नेगरी अघि बढाउन डिभिजनले प्रयास गरिरहेको छ,’ उनले भने, ‘अहिलेसम्मको कामको गतिले निर्धारित समयमा काम सकिने अनुमान गर्न सकिन्छ।’
मेची राजमार्गका विभिन्न ठाउँमा सडक साँघुरो भएको र धेरै ठाउँमा भत्किएर सवारीका साधन चलाउन समस्या भइरहेको छ। यही बेला डिभिजनले विभिन्न खण्डमा सडकको चौडा बढाउने कार्य अघि बढाएको हो। तर, राजमार्गका विभिन्न स्थानमा राजमार्गकै क्षेत्राधिकारभित्र बनेका घर, बजार, संरचनालगायत हटाउन भने चुनौतीपूर्ण देखिएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।