विज्ञापन
कृषि

धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर। गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन थालेपछि भोजपुरका किसानलाई धान काट्न र थन्क्याउन कामदार पाउन मुस्किल हुन थालेको छ । खेतीपातीका लागि आवश्यक जनशक्ति अभाव हुँदा किसानले पाकेको धान समयमै भित्र्याउन समस्या भोग्नुपरेको छ ।

धान खेतीका लागि वर्षभरि मेहनत गरेका किसानलाई बाली भित्र्याउने समयमा कामदार खोज्नुपर्ने बाध्यता परेको छ । वैदेशिक रोजगारी तथा अन्य कामका लागि गाउँबाट युवा बाहिरिएपछि किसानलाई मर्का परेको छ ।

धान काट्ने, बिटा बाँध्ने, खेतबाट बोकेर खलोमा पुर्‍याउने, झाँट्ने, बत्ताउने र घरसम्म बोकेर लैजाने काममा शारीरिक रूपमा बलियो जनशक्ति आवश्यक पर्ने भएकाले युवा अभावले किसानलाई समस्या भएको स्थानीय किसानको भनाइ छ ।

विज्ञापन

टेम्केमैयुङ गाउँपालिका–६ का किसान बलबहादुर राईले वैदेशिक रोजगारी तथा सहर केन्द्रित बसाइँसराइका कारण गाउँमा युवा जनशक्ति अभाव हुँदै गएको बताए । पहिले गाउँघरमै पर्याप्त जनशक्ति पाइने गरेकामा अहिले धान थन्क्याउने समयमा कामदार खोज्न मुस्किल हुने गरेको उनको भनाइ छ ।

“गाउँमा खेती गर्ने युवा घट्दै गएका छन् । धान पाकेपछि काट्ने, बिटा बाँध्ने, बोकेर खलोमा पुर्‍याउने र झाँटेर घरसम्म भित्र्याउने काममा बलियो जनशक्ति चाहिन्छ । तर, अहिले गाउँमा युवा नहुँदा यी काम गर्न कठिन भएको छ,” उनले भने।

हतुवागढी गाउँपालिका–२ लुङ्गिनका स्थानीय किसान जयबहादुर थापाले खेतीपातीको काम महिला र ज्येष्ठ नागरिककै भरमा गर्नुपर्ने अवस्था रहेको बताए। युवा जनशक्ति गाउँमा नहुँदा परिवारका सदस्य मिलेर खेतीको काम धान्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

शारीरिक श्रम बढी लाग्ने भएकाले महिला र ज्येष्ठ नागरिकलाई कठिन हुने गरेको किसान बताउँछन् । जनशक्ति अभावमा परिवारकै सदस्यले बढी मेहनत गर्नुपर्ने र काम सम्पन्न गर्न समय लाग्ने गरेको छ ।

परम्परागत रूपमा गाउँघरमा एकअर्काको खेतीमा सघाउने चलन रहे पनि पछिल्लो समय युवा जनशक्ति घट्दै जाँदा मेलापातबाट काम सम्पन्न गर्न कठिन हुन थालेको छ । पहिले छिमेकी र आफन्त मिलेर पालैपालो धान काट्ने तथा थन्क्याउने गरिए पनि अहिले काम गर्ने मानिसको अभावले किसानले थप समस्या झेल्नुपरेको किसानको भनाइ छ ।

स्थानीय सरकारले युवालाई गाउँमै राख्न सक्दो पहल गर्नुपर्ने र आधुनिक कृषि प्रणाली अवलम्बन गर्न प्रेरित गर्नुपर्ने स्थानीय किसानको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कृषि बाट थप

थप — कृषि

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।