ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

भक्तपुरमा बृहत् नेपालभाषा साहित्य सम्मेलन सुरु

भक्तपुरमा शुक्रबारदेखि ४६औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत् साहित्य सम्मेलन) तथा सांस्कृतिक ब्वज्या सुरु भएको छ। दुई दिन दुई रातसम्म निरन्तर सञ्चालन हुने सम्मेलन शनिबार राति समापन हुनेछ। आयोजकले यसलाई नेपालकै ऐतिहासिक साहित्य सम्मेलनका रूपमा दाबी गरेको छ।

भक्तपुर नगरपालिका–७, गोमारीको यातामा शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको सम्मेलनको उद्घाटन सांस्कृतिक गुरु एवं ज्येष्ठ नागरिक मोतीबहादुर खायमलीले गरे। ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ प्रत्येक वर्ष आयोजना हुँदै आएको तःमुंज्या यस वर्ष गोमारीमा सञ्चालन भइरहेको हो। भक्तपुर नगरका विभिन्न टोलमा पालैपालो आयोजना गरिने यो सम्मेलन नेपालभाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित छ।

सम्मेलनको पहिलो दिन आमन्त्रित तथा अतिथि साहित्यकारले आफ्ना रचना प्रस्तुत गरे। भाषा तथा साहित्यसम्बन्धी विज्ञका मन्तव्य, साहित्यकार तथा कलाकारको सम्मान र समसामयिक सामाजिक विषयमा छलफलसमेत गरिएको थियो। परम्पराअनुसार दिउँसो साहित्यिक र साँझ सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो। साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिमार्फत समसामयिक राजनीतिक र सामाजिक विषयका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमसमेत अभिव्यक्त गरिएका थिए।

विज्ञापन

पहिलो चरणमा कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचनका साथै विभिन्न क्षेत्रका विज्ञले आफ्ना अनुभव र विचार प्रस्तुत गरे। कार्यक्रममा राजनीतिज्ञ, कूटनीतिज्ञ, कानुन व्यवसायी, लेखक, पत्रकार, साहित्यकार तथा जलस्रोतविज्ञलगायतले आ–आफ्नो क्षेत्रका विषयमा मन्तव्य राखेका थिए।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाही, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, जलस्रोतविद् रतन भण्डारी, डा. धनरत्न शाक्य, डा. सरोज धिताल, डा. तारालाल श्रेष्ठ तथा साहित्यकार हरिहर तिमल्सिना, अभय श्रेष्ठ र कृष्णकुमार वैद्यलगायतले मन्तव्य व्यक्त गरे। साहित्यिक कार्यक्रमका बीचमा गीत–सङ्गीतका प्रस्तुतिसमेत समावेश गरिएका थिए।

सम्मेलनमा नेपालभाषाका कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचन गरिएको थियो। नवप्रतिभाले प्रतियोगितात्मक रूपमा आफ्ना सिर्जना प्रस्तुत गरे भने वरिष्ठ साहित्यकारका रचनासमेत वाचन गरिए। साँझदेखि रातिसम्म प्रतियोगितात्मक नाटक, ख्याल, नृत्य, गीतिनाटक तथा गीतलगायत सांस्कृतिक प्रस्तुति सञ्चालन गरिएको थियो।

नेपाल संवत् ११०० अर्थात् विसं २०३७ देखि निरन्तर आयोजना हुँदै आएको तःमुंज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति तथा सम्पदाको संरक्षण र संवर्द्धनमा योगदान पुर्‍याउँदै आएको आयोजकले जनाएको छ। चार दशकभन्दा लामो इतिहास बोकेको सम्मेलनले साहित्यिक गतिविधिमार्फत सामाजिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई नेपालभाषामा लेख्न, सिर्जना गर्न र सार्वजनिक मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गर्न प्रोत्साहित गर्दै आएको आयोजकको भनाइ छ।

भक्तपुरका विभिन्न वडा तथा टोलमा प्रत्येक वर्ष आयोजना हुने तःमुंज्यामा नेपालभाषाका अतिरिक्त अन्य भाषाका साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिलाई समेत स्थान दिइँदै आएको छ। प्रतियोगितात्मक साहित्य वाचनमार्फत नयाँ पुस्ताका लेखक, कवि तथा कलाकारलाई प्रोत्साहन गर्नु सम्मेलनको उद्देश्य रहेको आयोजक समितिका अध्यक्ष उकेश कवांले जानकारी दिए। सम्मेलनमा साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, शिक्षक, विद्यार्थी, स्थानीय समुदाय तथा भाषा–संस्कृतिप्रेमीको सहभागिता रहेको छ।

सम्मेलनका अवसरमा कवि दामोदर सुवाल, दयालक्ष्मी जोशी तथा विसं २०८२ को मदन पुरस्कार प्राप्त पुस्तक ‘मुकुण्डो’की लेखक वीणा जोशीलाई सम्मान गरिएको थियो। कार्यक्रममा ‘तःमुंज्या’ स्मारिकासमेत विमोचन गरियो।

पहिलो दिनको कार्यक्रमको सभापतित्व इभा कंशाकारले गरेकी थिइन्। शनिबार हुने दोस्रो दिनको कार्यक्रमको सभापतित्व वसन्त महर्जनले गर्ने आयोजकले जनाएको छ। सम्मेलन शनिबार राति समापन हुनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।