विज्ञापन
समाज

फल लाग्ने बेलामा अकबरे खुर्सानी मर्न थालेपछि किसान चिन्तित

अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका छन्। मुख्य उत्पादन दिने सिजनमै बोट मर्न थालेपछि व्यावसायिक अकबरेखेती गर्दै आएका जिल्लाका किसान चिन्तित बनेका हुन्। बोट एकाएक पहेँलिने र मर्ने समस्या देखिएको माङसेबुङ गाउँपालिका–६ का किसान प्रदीप राईले बताए। अकबरे खुर्सानीमा फल लाग्न थालेसँगै पात पहेँलिने, हाँगा सुक्ने र पूरै बोट मर्ने समस्या देखिएको उनले बताए।

राम्रो आम्दानीको अपेक्षा गरेका राईको अकबरे खुर्सानी बगानमा एकाएक रोग देखापरेको हो। उनले बारीमा लगाएको अधिकांश बोट मर्न थालेका छन्। सुरुमा बोट राम्रोसँग हुर्किए पनि उत्पादन सुरु भएसँगै पाक्ने बेलामा डढ्ने, कुहिने र बोट मर्न थालेपछि आफू चिन्तित भएको उनले बताए।

राईले दुई वर्षदेखि व्यावसायिक अकबरे खुर्सानी खेती गर्दै आएका छन्। अघिल्लो वर्ष अकबरे खुर्सानी बेचेर तीन लाख ५० हजार रुपैयाँ हात पारेका उनले यस वर्ष आम्दानी अझ बढाउने उद्देश्यका साथ खेती विस्तार गरेका थिए। राईले यस वर्ष दुई रोपनी क्षेत्रफलमा एक हजार ८०० बोट अबकरेको बिरुवा रोपेका थिए तर एकाएक बोट मर्न थालेपछि लगानी नै नउठ्ने भएपछि उनी चिन्तित बनेका हुन्।

विज्ञापन

“यस वर्ष उत्पादन बढाउने उद्देश्यले अकबरे खुर्सानीको खेती विस्तार गरेको थिएँ”, उनले भने, “तर बोट हुर्किएर फल लाग्न थालेपछि फलको आधा भाग डढ्ने, कालो हुने र कुहिने समस्या बढ्यो। यसले गर्दा सबै लगानी डुब्यो।”

प्रदीप जस्तै व्यावसायिक रूपमा खेती गरिरहेका त्यहाँका अन्य किसानले पनि यस्तै समस्या भोगिरहेका छन्। अर्का किसान जीवन राईका अनुसार खुर्सानीमा फलमा फलमा डढुवा लाग्ने, कीरा लाग्ने, बोट पहेँलो हुने र कुहिने समस्या देखिएको बताए।

“अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुने आशाले अन्नबाली हुने बारीमा दुई हजार बोट अकबरे खुर्सानीको बोट रोपेको थिएँ”, उनले भने, “तर फल लाग्ने समयमा रोगको प्रकोप देखिएपछि उत्पादन लिनै नपाई अधिकांश बोट नष्ट भए। मिहिनेत र लगानी दुवै खेर गएपछि अहिले के गर्ने भन्ने चिन्ता थपिएको छ।”

खुर्सानी पाक्ने र टिप्ने समयमा डढुवा लाग्ने, कीरा पर्ने, बोट सुक्नेजस्ता रोग फैलिएपछि किसान समस्यामा परेको अर्की किसान कल्पना राईले बताइन्। रोगको सङ्क्रमण सुरु भएको एक महिनामा बारीको खुर्सानी पूर्ण रूपमा नष्ट भएको उनले बताइन्।

रोगका कारण किसानको वर्षभरिको मिहिनेत खेर गएको उनको गुनासो छ। “यो वर्ष एकाएक खुर्सानीमा रोगको प्रकोप बढेको छ”, उनले भनिन्, “फल लागेको खुर्सानीको बगान सखाप भयो, मिहिनेत सबै खेर गयो। अब अन्य बाली लगाउन थालेको छु।”

यहाँ उत्पादित अकबरे स्थानीय बजारसहित झापाको दमक बजारमा पुग्ने गर्दछ। स्थानीय व्यापारीले प्रतिकेजी २०० देखि २५० रुपैयाँसम्ममा बगानबाटै खरिद गरेर लैजाने गरेका छन्। इलाममा पछिल्लो समय परम्परागत खाद्यान्न बालीको विकल्पका रुपमा अकबरे खुर्सानीको व्यावसायिक खेतीप्रति किसानको आकर्षण बढ्दो छ। नगदे बालीका रूपमा राम्रो आम्दानी दिने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो।

– रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।