काठमाडौं। बाढी, पहिरो र सडक निर्माण कार्यका कारण देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ७ बजे सार्वजनिक गरेको विवरणअनुसार केही स्थानमा यातायात पूर्ण रूपमा ठप्प छ भने केही स्थानमा एकतर्फी सञ्चालन भइरहेको छ।
बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोकको बीपी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। रोशी गाउँपालिकाको वडा नम्बर ९ स्थित पिनथली र वडा नम्बर ८ स्थित गिम्दिबेसीमा कात्तिक १४ गते बिहान ४:५५ बजे खसेको पहिरो पन्छाएपछि सवारी साधन चल्न थालेका हुन्। सोही प्रदेशको पृथ्वी राजमार्ग भने पूर्ण रूपमा अवरुद्ध छ। बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ९ भालुवाटारमा पुल निर्माण तथा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि सडक बन्द गरिएको प्रहरीले जनाएको छ।
गण्डकी प्रदेशको गोरखामा बाढीले क्षति पुर्याएपछि आवागमन पूर्ण रूपमा ठप्प छ। आरुघाट गाउँपालिकाको वडा नम्बर २ र ३ स्थित सोतिदेखि मान्बु जाने पुल असोज २५ गते बिहान ५:३० बजेदेखि बन्द रहेको छ।

यसैगरी लुम्बिनी र कर्णाली प्रदेशका राजमार्गहरू पनि पहिरोका कारण प्रभावित भएका छन्। लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सन्धिखर्क-गोरुसिङ्गे सडकखण्डमा कात्तिक १५ गते बिहान ४:१५ बजे पहिरो गएपछि हाल एकतर्फी मात्र सवारी साधन सञ्चालन भइरहेका छन्। कर्णाली प्रदेशमा पनि सुर्खेतस्थित कर्णाली राजमार्गको बराहताल गाउँपालिका वडा नम्बर ७ औलिसेमा कात्तिक १४ गते बिहान ५:५५ बजे खसेको पहिरोका कारण एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।