काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।
गाँजा दुईवटा स्कार्पियो गाडीमा लोड गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
बिहीबार बिहान करिब ३ बजे गोप्य सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीले दुईवटा गाडीमा गाँजा लोड भइरहेको फेला पारेको थियो। प्रहरीलाई देखेपछि गाडीसहित भाग्न खोजेका व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलबाट आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा बरामद गरिएको छ। गाँजा ओसारपसारमा प्रयोग गरिएका दुवै स्कार्पियो गाडीसमेत नियन्त्रणमा लिइएको छ।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल र भारतको बिहारस्थित मधुबनीका ३८ वर्षीय सन्तोष ठाकुर रहेका छन्।
त्यस्तै, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खेलाई पनि प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार रामसागर र राजकुमार दुवै गाडीका चालक हुन्।
पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।