काठमाडौं। नेपाल रेडक्रस सोसाइटीले ब्लड बैंकमा रगतको मौज्दात सकिएको भन्दै रक्तदान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। दसैँ बिदाका कारण रक्तदान कार्यक्रमहरू कम हुनु र अस्पतालमा बिरामीको चाप बढ्नुले रगतको अभाव सिर्जना भएको हो।
केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवका अनुसार रक्तसञ्चार केन्द्रमा सबै समूहको होल ब्लड, प्याक्ड रेड ब्लड सेल र प्लेटलेट्सको मौज्दात सकिएको छ। यसले गर्दा बिरामीका लागि आवश्यक रगतको व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ। रेडक्रसले १८ वर्ष पूरा भएका स्वस्थ युवायुवती र रक्तदान गरेको तीन महिना पुगेका स्वयंसेवी रक्तदातालाई रक्तदान गर्न आह्वान गरेको छ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले चाडपर्वका कारण कार्यालय तथा शैक्षिक संस्था बन्द हुँदा रक्तदान कार्यक्रम घटेको बताए। उनले स्वयंसेवी रक्तदाता तथा विभिन्न सङ्घसंस्थालाई रगतको अभाव टार्न सहयोग गर्न अपिल गरेका छन्।

महामन्त्री ऋषि खनालका अनुसार नेपाल रेडक्रस सोसाइटीले हाल ७३ जिल्लाका १२० स्थानबाट रक्तसञ्चार सेवा प्रदान गर्दै आएको छ। रगत आवश्यक परेमा वा रक्तदान गर्न इच्छुक व्यक्तिले केन्द्रीय रक्तसञ्चार सेवाको फोन नम्बर ०१५३८८४८५ र ०१५३८८४८६ वा नेपाल रेडक्रसको निःशुल्क हटलाइन ११३० मा सम्पर्क गर्न सक्नेछन्। साथै, सेवा सम्बन्धी जानकारीका लागि ‘एनआरसीएस बीटीएस’ एप डाउनलोड गर्न सकिने रेडक्रसले जनाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।