काठमाडौं। बंगालको खाडीमा विकसित ‘अरणव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्लामा भारी वर्षा, चट्याङ र हावाहुरीको जोखिम बढेको छ। प्रदेश सरकारको आन्तरिक मामिला, कानून तथा यातायात मन्त्रालयले कात्तिक १३ र १४ गते विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई उद्धृत गर्दै मन्त्रालयले कात्तिक १२ गते बिहीबार रातिदेखि मौसमी प्रणालीको प्रभाव सुरु हुने जनाएको छ। रुकुम पूर्व, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा, कपिलवस्तु र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाहरू उच्च जोखिममा रहेको मन्त्रालयले जनाएको छ। प्रभावित क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र यसले नदी तथा खोलामा पानीको बहाव बढाउनुका साथै सडक र हवाई यातायातमा समेत असर पार्न सक्ने चेतावनी दिइएको छ।
जोखिम न्यूनीकरणका लागि मन्त्रालयले किसानहरूलाई कात्तिक १२ गतेअघि नै धानबाली काट्ने र भित्र्याउने काम सक्न सुझाव दिएको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न र अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ। नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना प्रणालीको जानकारी लिन र सुरक्षित स्थानमा रहन भनिएको छ।

मन्त्रालयले स्थानीय तह, जिल्ला सुरक्षा समिति र सुरक्षा निकायहरूलाई विपद्को पूर्वतयारीमा रहन तथा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिएको छ। आवश्यकताअनुसार सवारी आवागमन रोक्ने र नागरिकलाई सूचना प्रवाह गर्ने व्यवस्था मिलाउन पनि सम्बन्धित निकायलाई भनिएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।