ताप्लेजुङ। विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन बढेको छ। पर्यटकीय मौसम सुरु भएसँगै पदमार्ग र आधार शिविरहरूमा चहलपहल बाक्लिएको हो।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अनुसार असोजको तेस्रो सातादेखि पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। मङ्गलबारसम्मको तथ्याङ्कअनुसार उत्तरी आधार शिविर क्षेत्रमा ६२३ जना बाह्य पर्यटक पुगेका छन्। त्यस्तै, दक्षिणी आधार शिविरतर्फ ६९ जना विदेशी र ८३ जना स्वदेशी पर्यटकले भ्रमण गरेका छन्।
स्थानीय पर्यटन व्यवसायी तेन्जिङसेराप शेर्पाका अनुसार खम्बाचेन, लोनाक र पाङ्पेमा आधार शिविरमा पर्यटकको चाप बढेको छ। पर्यटकको बाक्लो उपस्थितिले होटलहरूमा बास बस्न केही असहज भए पनि विदेशी पर्यटकहरूले टेन्ट र स्लिपिङ ब्यागसहितका सामग्री बोक्ने भएकाले ठूलो समस्या नरहेको व्यवसायीहरू बताउँछन्।

कञ्चनजङ्घा क्षेत्रमा असोज र कात्तिक तथा चैत, वैशाख र जेठ गरी वर्षमा दुई पटक मुख्य पर्यटकीय सिजन मानिन्छ। यस पटक मौसम सफा रहेकाले पर्यटकको आगमन उत्साहजनक रहेको स्थानीयको भनाइ छ। भ्रमणमा आउने विदेशी पर्यटकहरूमा अमेरिका, रसिया, बेलायत, जर्मनी र चीनका नागरिकहरू रहेका छन्। यसबाहेक सार्क राष्ट्रका र आन्तरिक पर्यटकसमेत यस क्षेत्रमा पुगेका छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।