विज्ञापन
प्रविधि

दुधे रङ्गशालामा पहिलो पटक रिङलक प्रविधिको प्याराफिट

झापा।झापाको शिवसताक्षीस्थित दुधे रङ्गशालामा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण झापा महिला गोल्डकपका लागि रिङलक प्रविधिमा आधारित आधुनिक अस्थायी प्याराफिट निर्माण गरिएको छ।

मैदानको पूर्वतर्फ निर्माण गरिएको प्याराफिटमा एकै पटक दुई हजार दर्शक अटाउन सक्ने सञ्चालकको दाबी छ। उनका अनुसार नेपालमा यस्तो प्रविधिको प्याराफिट पहिलो पटक झापा महिला गोल्डकपमा प्रयोग गर्न लागिएको हो।

मंसिर ५ गतेदेखि सुरु हुने प्रतियोगितालाई लक्षित गरी निर्माण गरिएको प्याराफिट ग्याल्भनाइज्ड स्टिलका पाइप, रिङलक प्रणाली र प्लेटफर्म प्रयोग गरेर तयार पारिएको हो। आवश्यकता अनुसार जडान गर्न र प्रतियोगिता सम्पन्न भएपछि फुकालेर अन्यत्र लैजान सकिने भएकाले यस्तो संरचना ठूला खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा कन्सर्टका लागि उपयोगी मानिन्छ।

विज्ञापन

प्याराफिटका सञ्चालक सुमन भण्डारीले पाँच वर्षदेखि यो व्यवसायमा संलग्न रहेको बताए। यसअघि विभिन्न कन्सर्टमा यस्ता प्याराफिट निर्माण गरेको अनुभव सुनाउँदै उनले झापा महिला गोल्डकपमा पहिलो पटक यस प्रविधिको प्रयोग गर्न लागिएको जानकारी दिए।

भण्डारीका अनुसार प्याराफिट ६ तहको हुनेछ। संरचनामा प्रयोग हुने ८ गुणा ४ फिटको एउटा प्लेटफर्मले दुई हजार किलोग्रामसम्म भार धान्न सक्ने उनको दाबी छ। यसमा दर्शकले बसेर खेल हेर्नुका साथै उभिएर हुटिङ गर्दै खेलाडीलाई उत्साह प्रदान गर्न सक्ने छन्।

उनका अनुसार प्याराफिटको इन्जिनियरिङ डिजाइन, भार परीक्षण, रेलिङ, भर्‍याङ, आपतकालीन निकास तथा सुरक्षा प्रमाणीकरणको व्यवस्था गरिएको छ। प्रतियोगितापछि फाइनल खेल समेत सम्पन्न भएपछि संरचना फुकालेर अन्यत्र लैजाने उनले बताए। यसबाट स्थायी संरचना निर्माण नगरी आवश्यकताअनुसार दर्शकदीर्घा तयार गर्न सकिनेछ।

दुधे रङ्गशालाको पश्चिमतर्फ स्थायी प्याराफिट छ भने पूर्वतर्फ रिङलक प्रविधिको अस्थायी प्याराफिट निर्माण गरिएको छ। उत्तर र दक्षिणतर्फ बाँसका अस्थायी प्याराफिट निर्माण गर्ने तयारी छ। प्रतियोगिताका लागि रङ्गशालाको दर्शक क्षमता विस्तारसँगै दर्शक व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ।

झापा महिला गोल्डकप आयोजक मूल समारोह समितिले यस पटक टिकट व्यवस्थापन, दर्शक प्रवेश तथा निकास, पार्किङ र सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको छ। विगतका प्रतियोगितामा देखिएका कमजोरी सच्याउँदै यस वर्ष व्यवस्थापनमा नयाँ रणनीति अपनाउन लागिएको आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले बताए।

प्रतियोगिताको उपाधि विजेताले नगद ११ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ। पुरस्कार राशिसहित आधुनिक दर्शकदीर्घा र व्यवस्थापनमा सुधार गर्ने तयारीले यस संस्करणको प्रतियोगितालाई थप व्यवस्थित बनाउने आयोजकको अपेक्षा छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

प्रविधि बाट थप

थप — प्रविधि

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।