हैदराबाद।भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा ८९ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। बुधबार बिहान तट पार गरेको चक्रवातले तीव्र हावा र भारी वर्षा ल्याएपछि तटीय क्षेत्रमा जनजीवन प्रभावित भएको छ।
राज्यको विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख प्रखर जैनका अनुसार तटमा प्रवेश गर्नुअघि चक्रवात केही कमजोर भए पनि हावाको अधिकतम गति प्रतिघण्टा १८५ किलोमिटरसम्म पुगेको थियो।
यसले आन्ध्र प्रदेशका विभिन्न तटीय जिल्लामा भारीदेखि अति भारी वर्षा गराएको छ। चक्रवात भित्री भागतर्फ अघि बढ्दै जाँदा थप कमजोर हुने र हावाको गति भोलिपल्ट प्रतिघण्टा ११० किलोमिटरसम्म झर्ने अनुमान गरिएको छ। घटनामा मानवीय क्षति भएको तत्काल कुनै विवरण प्राप्त भएको छैन।

भारतीय मौसम विभागका अनुसार आन्ध्र प्रदेशको तटीय क्षेत्र र छिमेकी ओडिसाका केही भागमा आगामी चार घण्टासम्म भारी वर्षा र तीव्र हावा चल्ने सम्भावना छ। विभागका प्रमुख मृत्युञ्जय महापात्रले चक्रवातको अग्रभाग जमिनमा प्रवेश गरिसकेको र तट पार गर्ने सम्पूर्ण प्रक्रिया पूरा हुन करिब चार घण्टा लाग्ने बताएका छन्।
मंगलबार ढिलो अर्नब अत्यन्त शक्तिशाली चक्रवाती आँधीमा परिणत भएको थियो। त्यसपछि तटीय क्षेत्रमा तीव्र हावा र भारी वर्षा सुरु भएको थियो।
राज्यको विपद् व्यवस्थापन प्राधिकरणका अधिकारीहरूका अनुसार बङ्गालको खाडीमा आँधी तीव्र भएपछि यसको बाहिरी भागले मंगलबार रातिदेखि नै आन्ध्र प्रदेशको तटमा असर पार्न थालेको थियो। चक्रवातले अपेक्षा गरिएभन्दा चाँडै तट पार गरेको हो।
चक्रवातको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले मंगलबार नै राज्यका सबै तटीय जिल्लालाई उच्च सतर्कतामा राखेका थिए। तल्लो भू–भाग र बाढीको जोखिम भएका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालिएको थियो। केही क्षेत्रमा भारी वर्षा र तीव्र हावा सुरु भएपछि रेल सेवासमेत रद्द गरिएको थियो।
राज्यको विपद् व्यवस्थापन प्राधिकरणका अनुसार चक्रवातको सम्भावित मार्गमा एक करोड २० लाखभन्दा बढी मानिस बसोबास गर्छन्।
प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीका अनुसार अधिकारीहरूले २० जिल्लामा दुई हजारभन्दा बढी चक्रवात आश्रयस्थल स्थापना गरेका छन्। जोखिममा रहेका लाखौं बासिन्दाको मोबाइल फोनमा आपतकालीन चेतावनी सन्देश पठाइएको छ।
जैनका अनुसार तटीय क्षेत्रमा ३० हजारभन्दा बढी माछा मार्ने डुङ्गालाई सुरक्षित राखिएको छ भने आपतकालीन सहायता उपलब्ध गराउन करिब एक हजार १०० स्वास्थ्य टोली परिचालन गरिएको छ।
यसैबीच, छिमेकी ओडिसाका अधिकारीहरूले चक्रवातबाट प्रभावित हुन सक्ने क्षेत्रका करिब ४८ हजार मानिसलाई सुरक्षित स्थानमा सार्ने योजना बनाएका छन्। –रासस / एपी



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।