चाडपर्वका बेला सवारीसाधन नपाउने र आर्थिक अभाव झेलिरहेका महिला तथा बालबालिकालाई लक्षित गर्दै खोटाङका युवाहरूले यसपालिको दसैंमा ६ सय ४२ जना छोरीचेलीलाई निःशुल्क मोटरसाइकल सेवा प्रदान गरेका छन्।
कराते खेलाडी, सामाजिक अगुवा तथा कराते महासंघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईको नेतृत्वमा विगत ३ वर्षदेखि सञ्चालन हुँदै आएको ‘दसैं, तिहार : चेलीलाई उपहार’ अभियानअन्तर्गत ५० जना युवा स्वयंसेवकले आफ्नै खर्चमा मोटरसाइकल चलाएर सेवा दिएका हुन्।
सचिवालय प्रमुख निराजन ढकालका अनुसार कात्तिक ३ देखि ६ गतेसम्म सञ्चालित ४ दिने अभियानमार्फत जिल्लाका १० वटै स्थानीय तहका चेलीहरू लाभान्वित भएका छन्।

पहिलो दिन ५०, दोस्रो दिन १ सय १०, तेस्रो दिन २ सय ५२ र अन्तिम दिन २ सय ३० जनालाई घर तथा माइत-मावल आउ-जाउ गराइएको थियो।
सदरमुकाम दिक्तेल बजारस्थित रत्नपार्कमा सचिवालय स्थापना गरी ३५ किलोमिटरसम्म सेवा दिने लक्ष्य राखिए पनि आवश्यकताअनुसार छिमेकी जिल्ला भोजपुर सीमाको चखेवाभन्ज्याङसम्म गरी ४२ किलोमिटर दूरीसम्म पुगेर सेवा दिइएको सचिवालयले जनाएको छ।
यस अभियानबाट दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकासहित रावाबेँसी, ऐसेलुखर्क, केपिलासगढी, खोटेहाङ, बराहपोखरी, साकेला, दिप्रुङ चुइचुम्मा र जन्तेढुङ्गा गाउँपालिकाका विभिन्न वडाका महिलाहरू लाभान्वित भएका छन्।
यात्रा गर्न चाहने चेलीहरूले सचिवालयमा सम्पर्क गरी गन्तव्य, संख्या र मिति टिपाएपछि स्वयंसेवकहरू मोटरसाइकल लिएर तोकिएकै स्थानमा पुग्ने व्यवस्था मिलाइएको थियो।
चार दिनमा ५० वटा मोटरसाइकल परिचालन गर्दा इन्धनमा १ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ। जसमध्ये मनकारीहरूबाट प्राप्त करिब ५० हजार रुपैयाँ स्वेच्छिक चन्दाबाहेक बाँकी रकम सचिवालयले नै व्यवस्थापन गरेको प्रमुख ढकालले जानकारी दिए।
सुरुवाती वर्ष २०८१ मा १ सय ६० र गत वर्ष ४ सय ५० जनालाई सेवा दिएको यस अभियानलाई आगामी दिनमा संस्थागत रूपमै विस्तार गर्ने योजना बनाइएको छ।
दसैंको सेवा सफलतापूर्वक सम्पन्न भएपछि अब आउँदो तिहारका अवसरमा कात्तिक २४, २५ र २६ गते ३ दिन पुनः निःशुल्क यात्रा सेवा दिने संयोजक राईले बताएका छन्। युवाहरूको यस सामाजिक कार्यको जिल्लाभर प्रशंसा भइरहेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।