काठमाडौं। चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापार घाटा ३४.७१ प्रतिशतले बढेको छ। भन्सार विभागले बुधबार सार्वजनिक गरेको साउनदेखि असोजसम्मको तथ्यांक अनुसार यस अवधिमा व्यापार घाटा ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यो घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ थियो।
समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि भई ७ खर्ब ६१ अर्ब ७ करोड ९ लाख रुपैयाँ पुगेको छ। कुल व्यापारमा आयातको हिस्सा ८४.९८ प्रतिशत र निर्यातको हिस्सा १५.०२ प्रतिशत रहेको छ। यस अवधिमा आयात ३८.१८ प्रतिशतले बढेर ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ भने निर्यात ५७.०३ प्रतिशतले वृद्धि भई १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ।
निर्यातको वृद्धिदर आयातको तुलनामा उच्च देखिए पनि कुल व्यापारमा निर्यातको हिस्सा निकै न्यून छ। आयात र निर्यातको अनुपात ६.४३ बाट घटेर ५.६६ मा आएको छ। तथ्यांक अनुसार यस अवधिमा नेपालले सबैभन्दा धेरै डिजेल ४७ अर्ब ३१ करोड १८ लाख रुपैयाँ बराबरको आयात गरेको छ। त्यसपछि सोयाबिन तेल २९ अर्ब २० करोड ९३ लाख ६९ हजार, पेट्रोल २४ अर्ब ६२ करोड २३ लाख ९२ हजार, खाना पकाउने ग्यास २३ अर्ब १८ करोड ९८ लाख ८५ हजार र फलाम तथा स्टिल १४ अर्ब ४१ करोड ५ लाख ३० हजार रुपैयाँ बराबरको आयात भएको छ।

निर्याततर्फ सोयाबिन तेल सबैभन्दा अगाडि छ। तीन महिनामा ५२ अर्ब ६० करोड ९८ लाख रुपैयाँ बराबरको सोयाबिन भारततर्फ निर्यात भएको छ। त्यसैगरी, जुट र त्यसबाट बनेका सामग्री २९ अर्ब ६७ करोड ६६ लाख रुपैयाँ र अलैँची २५ अर्ब ७२ करोड ३३ लाख रुपैयाँ बराबरको भारततर्फ निर्यात भएको भन्सार विभागले जनाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।