राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलाई लक्षित गर्दै मुलुकका ठूला भ्रष्टाचार र अपराध काण्डका दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन चुनौती दिएका छन्।
सोमबार सामाजिक सञ्जालमा लेख्दै सांसद शाहीले फेसबुकमा स्टाटस लेखेर मात्रै तर्साउने काम नगर्न आग्रह गरेका छन्। ‘बालेन ब्रो, सुदन ब्रो, कहिले समात्ने हो यी देश लुट्नेहरूलाई ? कि फेसबुकमा स्टाटस लेखेर मात्रै थर्काउने हो ?’ उनले लेखेका छन्।
मुलुकका ठूला घोटाला तथा गम्भीर अपराधका दोषीहरू अहिलेसम्म कारबाहीको दायरामा नआएको उल्लेख गर्दै उनले आक्रोश पोखे।

सांसद शाहीले लेखेका छन्, ‘वाइडबडी काण्डका दोषीहरू, एनसेल काण्डका दोषीहरू, गिरिबन्धु टी स्टेटका दोषीहरू, जेनजीका हत्याराहरू र निर्मला पन्तका बलात्कारीहरू आज पनि कालो चस्मा लगाएर छाती फुलाउँदै खुलमखुला सडकमा हिँडिरहेका छन्।
पछिल्लो समय सामाजिक सञ्जालमा चेतावनीपूर्ण अभिव्यक्ति दिने क्रम चलिरहेका बेला सांसद शाहीले फेसबुकमा सीमित नभई पुराना र गम्भीर प्रकरणका अभियुक्तहरूलाई पक्राउ गरेर देखाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।