सुर्खेत। कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन ३० दिन बाँकी रहँदा सोमबार काउन्टडाउन सुरु गरिएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एक कार्यक्रमका बीच काउन्टडाउनको उद्घाटन गरेका हुन्। मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताका लागि आवश्यक तयारी पूरा भएको सरकारी दाबी छ।
राष्ट्रिय खेलकुद परिषद् र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भइरहेको तयारीबारे मन्त्री पोखरेलले वीरेन्द्रनगर पुगेर स्थलगत निरीक्षण गरेका छन्। प्रतियोगिताको प्रचारप्रसार सोचेजस्तो नभएको भन्दै मन्त्री पोखरेलले चिन्ता व्यक्त गरेका छन्। उनले भने, ‘जुन किसिमको सबैतिर यति ठुलो दशौँ राष्ट्रिय खेलकुद हुँदैछ, त्यो खालको उत्साह हुनुपर्ने थियो, त्योचाहिँ अलिकति कम भएको हो कि भनेर हामी यता आएका हौँ।’
प्रतियोगिताको मुख्य स्थल प्रादेशिक रङ्गशाला अझै हस्तान्तरण हुन बाँकी छ भने बसोबासको व्यवस्थापनबारे पनि चर्चा भएको छ। प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्दले केही रकम भुक्तानी बाँकी रहेकाले रङ्गशाला हस्तान्तरणमा ढिलाइ भएको तर यसले प्रतियोगितामा असर नगर्ने स्पष्ट पारे। होटल व्यवसायीहरूसँगको छलफलपछि बसोबासको समस्या नहुने परिषद्का उपाध्यक्ष प्रमोद हमालले जनाएका छन्।

मन्त्री पोखरेलका अनुसार प्रतियोगिताका लागि संघीय र प्रदेश सरकारबीच कार्यविभाजन स्पष्ट छ। खेल सञ्चालन, पुरस्कार वितरण र खरिद प्रक्रियाको जिम्मेवारी संघीय सरकारको छ भने आवासीय व्यवस्थापन र यातायातको जिम्मा प्रदेश सरकारले लिएको छ। अबको ३० दिनका लागि हरेक उपसमितिका कम्तीमा एक जना सदस्य कर्णालीमै बसेर काम गर्ने गरी व्यवस्था मिलाइएको छ। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले यो प्रतियोगिता प्रदेशका लागि अवसर र चुनौती दुवै भएको उल्लेख गर्दै सफल बनाउन सबैको भूमिका आवश्यक रहेको बताए।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।