युरोप ऐतिहासिक रूपमा न्यून ग्यास भण्डारणसहित जाडोयाममा प्रवेश गर्न लागेको छ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का प्रमुख फातिह बिरोलले मध्यपूर्वको युद्धका कारण ऊर्जा आपूर्ति प्रभावित भइरहेकाले युरोपले आगामी महिनामा ग्यासको मूल्यवृद्धि र आपूर्ति अभावको चुनौती सामना गर्नुपर्ने चेतावनी दिएका छन्।
युरोपमा फेब्रुअरीयता ग्यासको मूल्य १४० प्रतिशतले बढेको छ। युरोपेली संघ (ईयू) को ग्यास भण्डारण क्षमता अहिले करिब ७२ प्रतिशत मात्रै भरिएको छ, जबकि जाडोअघि सामान्यतया यो ९० प्रतिशतसम्म पुग्ने गरेको थियो। ग्यासको भण्डारण कम हुँदा चिसो मौसममा घर तताउन, विद्युत् उत्पादन गर्न र उद्योग सञ्चालन गर्न कठिनाइ हुन सक्ने देखिएको छ।

बुधबार बर्लिनमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा अल जजिरासँग कुरा गर्दै बिरोलले होर्मुज जलमार्गमा ऊर्जा आपूर्तिमा आएको अवरोधले विश्वका विभिन्न क्षेत्र प्रभावित भएको बताए। युरोपले मध्यपूर्वबाट ग्यास आयात गर्न एसियाली देशहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले अवस्था थप चुनौतीपूर्ण बनेको उनको भनाइ छ।
‘सामान्यतया जाडोअघि युरोपेली देशहरूमा पर्याप्त ग्यास भण्डारण हुन्छ। तर, यसपटक हामी ऐतिहासिक औसतभन्दा निकै कम भण्डारणसहित जाडोमा प्रवेश गर्दैछौं,’ बिरोलले भने। उनका अनुसार जाडो अत्यधिक चिसो भए युरोपमा प्राकृतिक ग्यासको मूल्य अझै बढ्न सक्छ।
इरानमाथि अमेरिका र इजरायलको युद्धका कारण होर्मुज जलमार्गबाट हुने ऊर्जा आपूर्ति प्रभावित भएको छ। विश्वको महत्त्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक मानिने यस जलमार्गमा अवरोध हुँदा ग्यास तथा तेलको आपूर्तिमा दबाब परेको छ। बाब अल-मन्देब जलमार्गमा देखिएको जोखिमले पनि ऊर्जा बजारको अवस्था थप जटिल बनाएको बिरोलले बताए।
उनले ऊर्जा आपूर्तिका वैकल्पिक मार्ग र पाइपलाइन निर्माणमा देशहरूले पहिले नै लगानी गर्नुपर्ने बताए। ‘सरकारहरूले आवश्यक कदम समयमै नचालेकोमा म निराश छु। अहिले सबै जना हतारमा उपाय खोजिरहेका छन्, तर यी काम धेरै पहिले गरिनुपर्थ्यो,’ उनले भने।
युरोपले ग्याससँगै डिजेलजस्ता इन्धनको आपूर्तिमा पनि चुनौती सामना गरिरहेको छ। रूसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपले रूसी ऊर्जामाथिको निर्भरता घटाउने प्रयास गरेको थियो। तर, मध्यपूर्वको संकटले ऊर्जा आपूर्तिको अर्को जोखिम थपेको छ। युक्रेनले रूसी रिफाइनरीमा गरेको आक्रमणका कारण पनि डिजेल आपूर्तिमा कमी आएको बिरोलले बताए।
ऊर्जा संकटको असर कम गर्न जी-७ राष्ट्रहरूले रणनीतिक भण्डारबाट कच्चा तेल र डिजेल बजारमा पठाउने निर्णय गरेका छन्। बिरोलका अनुसार आपत्कालीन भण्डार बजारमा ल्याउँदा तेलको मूल्य घटाउन सहयोग पुगे पनि अहिले फेरि मूल्य बढ्न थालेको छ। उनले युद्धको असर आगामी महिनाहरूमा पनि कायम रहने चेतावनी दिए।
उनले ऊर्जा क्षेत्र आर्थिक कारोबारभन्दा बढी भूराजनीतिक प्रतिस्पर्धाको विषय बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्। होर्मुज र बाब अल-मन्देब जलमार्गमा आवागमन चाँडै सामान्य नभए ऊर्जा बजारलाई थप मूल्यवृद्धिबाट जोगाउन कठिन हुने उनको चिन्ता छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।