विज्ञापन
कला तथा मनोरञ्जन

कलाभन्दा परको जीवन

पर्दामा शबाना आजमी अनेकौँ जीवन बाँचेकी छन्। कहिले सामाजिक अन्यायसँग जुध्ने महिला, कहिले सम्बन्धको जटिलतामा अल्झिएकी पात्र त कहिले परम्परागत मान्यताविरुद्ध उभिने विद्रोही चरित्र। तर काठमाडौँमा स्वस्तिमा खड्कासँगको संवादमा उनले अभिनय गरेका पात्र होइन, आफ्नै जीवनका अनुभवहरू अगाडि आए। त्यो जीवनमा रङ्गमञ्चको पछाडि बितेको बाल्यकाल थियो, कम्युनिस्ट विचारधाराबाट प्रभावित परिवार थियो, प्रेम र मित्रतामा आधारित वैवाहिक सम्बन्ध थियो र समाजमा महिलाको समानताका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता थियो।

अग्रज भारतीय अभिनेत्री शबाना आजमी।

काठमाडौँमा शनिबार बाहिर झरी परिरहेको थियो। मौसममा चिसोपन थपिएको थियो। सडकमा पानी जमेको थियो। तर प्रेक्षालयमा दर्शकको उपस्थिति उल्लेख्य थियो। उनीहरूका अगाडि मञ्चमा दुई अभिनेत्री थिए, भारतीय सिनेमामा पाँच दशकभन्दा लामो समयदेखि आफ्नो अभिनयको विशिष्ट पहिचान बनाएकी शबाना आजमी र नेपाली चलचित्रमा आफ्नै पुस्ताको प्रतिनिधित्व गरिरहेकी स्वस्तिमा खड्का।

विज्ञापन

स्वस्तिमाका प्रश्नहरू सामान्य परिचय र औपचारिक प्रशंसामा सीमित थिएनन्। उनी आजमीको बाल्यकाल, अभिनयको सुरुवात, परिवार, राजनीतिक चेतना, प्रेम, विवाह र महिलाको सामाजिक अवस्थाबारे जान्न चाहन्थिन्। आजमीका जवाफमा एउटा कलाकारको आत्मकथा मात्र थिएन, त्यसलाई आकार दिने परिवार, विचार, समाज र समयको कथा पनि थियो।

शबाना आजमीसँग संवाद कार्यक्रममा संवादका क्रममा स्वस्तिमा खड्का।

आजमीले आफ्ना जीवनका प्रसङ्ग सुनाउँदै गर्दा कहिले बाल्यकालको अभाव सम्झिइन्, कहिले बुबाको एउटा सानो वाक्यबाट प्राप्त प्रेरणा। कहिले अभिनयलाई पेसाभन्दा ठूलो जिम्मेवारीका रूपमा व्याख्या गरिन् त कहिले वैवाहिक सम्बन्धमा मित्रताको महत्त्व सुनाइन्। स्वस्तिमाले आफ्नै जीवनका अनुभव पनि जोड्दै गइन्।

शबाना आजमीको बाल्यकाल नै रङ्गमञ्चको अभ्यास, कलाकारको आवतजावत र सिर्जनात्मक वातावरणबीच बितेको थियो।

काठमाडौँ महानगरपालिकाले आयोजना गरेको ‘काठमाडौँ फिल्म फेस्टिभल’ अन्तर्गत अक्टोबर ३१ मा आयोजित ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ शीर्षकको यो संवाद दुई अभिनेत्रीबीचको भेटघाटभन्दा धेरै फराकिलो थियो। फरक देश, पुस्ता र चलचित्र उद्योगबाट आएका दुई कलाकारका अनुभवमा एउटा साझा प्रश्न उपस्थित थियो, कलाकार हुनु भनेको पर्दामा चरित्र निर्वाह गर्नु मात्रै हो कि आफू बाँचेको समाजप्रति पनि कुनै जिम्मेवारी वहन गर्नु हो?

आजमीको जीवनले यस प्रश्नको उत्तर खोज्ने अनेक प्रसङ्ग दिन्छ। उनको अभिनयको इतिहास हेर्दा पुरस्कार, चर्चित चलचित्र र लोकप्रिय चरित्र देखिन्छन्। तर त्यसको पछाडि एउटा यस्तो पारिवारिक वातावरण छ, जहाँ कला, राजनीति, साहित्य र समानताको विचार एउटै जीवनपद्धतिका हिस्सा थिए।

कार्यक्रमका सहभागी।

रङ्गमञ्चबाट सुरु भएको यात्रा

शबाना आजमीको अभिनयसँगको सम्बन्ध चलचित्रको पर्दाबाट सुरु भएको थिएन। उनको बाल्यकाल नै रङ्गमञ्चको अभ्यास, कलाकारको आवतजावत र सिर्जनात्मक वातावरणबीच बितेको थियो।

उनकी आमा शौकत कैफी भारतीय रङ्गमञ्चकी परिचित अभिनेत्री थिइन्। उनी पृथ्वी थिएटरसँग आबद्ध थिइन्। आमाले चारदेखि छ महिनाको उमेरदेखि नै आफूलाई रिहर्सलमा लैजाने गरेको आजमीले सुनाइन्। घरमा हेरचाह गर्ने मानिस राख्ने आर्थिक अवस्था नभएकाले आमा काममा जाँदा छोरीलाई पनि सँगै लैजान्थिन्।

यसरी उनको बाल्यकालको एउटा हिस्सा रङ्गमञ्चको पछाडि बित्यो। कलाकारहरू संवाद अभ्यास गरिरहेका हुन्थे। मञ्चमा चरित्रहरू जन्मिरहेका हुन्थे। पर्दापछाडिको संसारमा एउटा नाटक तयार हुँदै गर्दा सानी शबाना त्यही वातावरणमा हुर्किरहेकी थिइन्।

शबाना आजमीसँग संवाद कार्यक्रममा संवादका क्रममा स्वस्तिमा खड्का।

तर कलाको त्यो वातावरणलाई आर्थिक सम्पन्नताको कथा ठान्नु गलत हुन्छ। उनको परिवारको जीवन सहज थिएन। उनका बुबा कैफी आजमी उर्दूका प्रतिष्ठित कवि थिए। उनी भारतीय कम्युनिस्ट पार्टीसँग आबद्ध थिए र आफ्नो कमाइको ठूलो हिस्सा पार्टीलाई दिन्थे। परिवार सञ्चालनका लागि सीमित रकम मात्र बाँकी रहन्थ्यो।

आजमीले काठमाडौँको संवादमा आफ्नो बाल्यकाल सम्झँदै परिवारले जम्मा ४० भारतीय रुपैयाँ पाउने गरेको बताइन्। सानो कोठामा परिवारका सदस्यहरू बस्नुपर्थ्यो। साझा शौचालय प्रयोग गर्नुपर्थ्यो। अभाव दैनिक जीवनको हिस्सा थियो।

आजमीले नौ वर्षको उमेरसम्म कम्युनिस्ट पार्टीका कार्यकर्ताका परिवारसँग सामूहिक आवासमा बिताएको जीवनलाई सम्झिएकी छन्।

यो प्रसङ्ग उनले दयनीय बाल्यकालको बयानका रूपमा प्रस्तुत गरेकी थिइनन्। बरु अभावबीच आफूले कल्पनाको संसार निर्माण गर्न सिकेको अनुभव सुनाइन्। आर्थिक स्रोत सीमित भए पनि घरमा विचार, साहित्य, कविता, राजनीति र कलाको अभाव थिएन।

उनको बाल्यकालको यो विवरण अन्य अन्तर्वार्तामा पनि भेटिन्छ। आजमीले नौ वर्षको उमेरसम्म कम्युनिस्ट पार्टीका कार्यकर्ताका परिवारसँग सामूहिक आवासमा बिताएको जीवनलाई सम्झिएकी छन्। त्यहाँ आठ परिवारका लागि साझा सुविधा थिए। उनका अनुसार त्यो वातावरणमा बालबालिकाको हेरचाह र पारिवारिक जिम्मेवारी पनि सामूहिक रूपमा बाँडिन्थ्यो।

कार्यक्रमका सहभागी अतिथिसमक्ष जिज्ञासा राख्दै।

त्यसैले उनको परिवारलाई केवल आर्थिक अभावको उदाहरणका रूपमा बुझ्न सकिँदैन। त्यो एउटा राजनीतिक र सांस्कृतिक प्रयोगको संसार पनि थियो। जहाँ परिवारको परम्परागत संरचना, पुरुष र महिलाको भूमिका तथा बालबालिकाको हुर्काइबारे स्थापित मान्यताभन्दा फरक अभ्यास हुन्थ्यो।

आमाले रङ्गमञ्चमा काम गर्दा बुबाले घर र बालबालिकाको जिम्मेवारी सम्हाल्थे। आजमीले पछि मात्र समाजका धेरै परिवारमा यस्तो अभ्यास सामान्य नभएको महसुस गरिन्। उनको दृष्टिमा लैङ्गिक समानता कुनै पुस्तकबाट सिकेको सिद्धान्तभन्दा पहिले घरभित्र देखेको व्यवहार थियो।

कामको सामाजिक प्रतिष्ठाभन्दा त्यसप्रतिको निष्ठा र उत्कृष्टता महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश त्यसमा थियो।

अभिनयलाई औपचारिक रूपमा आफ्नो पेसा बनाउने निर्णयमा पनि परिवारको भूमिका निर्णायक रह्यो। उनले फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटीआईआई), पुणेमा अध्ययन गर्ने इच्छा राख्दा बुबाले दिएको जवाफ उनको स्मृतिमा गहिरोसँग बसेको छ।

‘तिमीले जुनसुकै बाटो रोजे पनि म तिम्रो साथ दिनेछु। भोलि तिमीले जुत्ता सिलाउने मोची बन्ने इच्छा गरे पनि म तिम्रै साथमा हुनेछु। तर, त्यो पेसामा तिमी सबैभन्दा उत्कृष्ट हुनुपर्छ।’ बुबाको यही भनाइ सुनाउँदा आजमीको स्वरमा पारिवारिक आत्मीयतासँगै एउटा जीवनदृष्टि पनि देखिन्थ्यो। कामको सामाजिक प्रतिष्ठाभन्दा त्यसप्रतिको निष्ठा र उत्कृष्टता महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश त्यसमा थियो।

सहभागीहरूका साथ संवाद कार्यक्रमका अतिथि।

अभावले बनाएको दृष्टि

आजमीको बाल्यकाललाई आकार दिने अर्को महत्त्वपूर्ण पक्ष राजनीतिक चेतना थियो। घरमा कविता र नाटक मात्र होइन, सामाजिक न्याय, वर्गीय विभेद र राजनीतिक परिवर्तनका विषयमा पनि छलफल हुन्थ्यो।

कैफी आजमीको साहित्यिक जीवन केवल प्रेम र भावनाका कवितामा सीमित थिएन। उनका रचनामा श्रमिक, गरिब, शोषित र सीमान्तकृत समुदायका अनुभवले स्थान पाउँथे। भारतीय प्रगतिशील लेखक आन्दोलनसँग जोडिएको उनको साहित्यिक दृष्टिले छोरीको सोच निर्माणमा पनि प्रभाव पारेको थियो।

आजमीले १९ वर्षको उमेरमा पुगेपछि समाजमा समानता अपवादका रूपमा रहेको महसुस गरिन्।

स्वस्तिमाले परिवारमा रहेको राजनीतिक चेतना र लैङ्गिक समानताको सोचले आजमीको अभिनय जीवनलाई कसरी प्रभावित गर्‍यो भनेर सोधिन्। जवाफमा आजमीले बुबाले करिब ७५ वर्षअघि लेखेको एउटा कविताको भाव सम्झिइन्। त्यसमा महिलालाई पुरुषको पछाडि होइन, उनीहरूसँगै काँधमा काँध मिलाएर हिँड्न आह्वान गरिएको थियो।

उनले बाल्यकालमा समानतालाई जीवनको स्वाभाविक नियम ठानेकी थिइन्। तर १९ वर्षको उमेरमा पुगेपछि समाजमा समानता अपवादका रूपमा रहेको महसुस गरिन्।

शबाना आजमीसँग संवाद कार्यक्रममा संवादका क्रममा स्वस्तिमा खड्का।

यो अनुभूति एउटा कलाकारको व्यक्तिगत चेतनाको विकास मात्र थिएन। परिवारभित्र देखेको व्यवहार र बाहिरी समाजमा भोगेको वास्तविकताबीचको अन्तर थियो। घरमा महिलाको स्वतन्त्रता र सहभागिता सामान्य मानिन्थ्यो। तर समाजमा महिलाले आफ्नो स्थान बनाउन निरन्तर सङ्घर्ष गर्नुपर्ने अवस्था थियो।

आजमीले कलाकारको जिम्मेवारीलाई यही सामाजिक चेतनासँग जोडिन्। उनका अनुसार अभिनयलाई बिहान नौ बजेदेखि बेलुका पाँच बजेसम्मको जागिरका रूपमा मात्र बुझ्न सकिँदैन। कलाकारले आफ्नो काममार्फत जीवनको अर्थ, समाजका असमानता र मानव अधिकारका प्रश्नसँग साक्षात्कार गर्छ।

कैफी आजमीले आफ्नो जन्मथलोमा सामाजिक विकासका पहल अघि बढाएका थिए। त्यसलाई पछि शबाना आजमीले पनि निरन्तरता दिइन्।

शोषण र दमन देखेपछि त्यसबारे बोल्ने जिम्मेवारी पनि जन्मिन्छ। दर्शकले कलाकारको आवाज सुन्छन् भने त्यो प्रभावलाई केवल लोकप्रियता कमाउने माध्यमका रूपमा प्रयोग गर्न नहुने उनको धारणा थियो। यसले आजमीको सार्वजनिक जीवन बुझ्न पनि मद्दत गर्छ। उनी अभिनयमा मात्र सीमित रहेकी छैनन्। भारतको राज्यसभामा मनोनीत सदस्यका रूपमा काम गरेकी छन्। महिला अधिकार, बालिका शिक्षा, गरिबी र सामाजिक न्यायसँग सम्बन्धित अभियानमा पनि संलग्न रहेकी छन्।

उनको परिवारले उत्तर प्रदेशको मिजवाँ गाउँमा शिक्षा र महिला सशक्तीकरणका क्षेत्रमा काम गरेको छ। कैफी आजमीले आफ्नो जन्मथलोमा सामाजिक विकासका पहल अघि बढाएका थिए। त्यसलाई पछि शबाना आजमीले पनि निरन्तरता दिइन्।

संवाद कार्यक्रमका सहभागी।

त्यसैले उनको सामाजिक सक्रियता चलचित्रबाट अलग राखेर हेर्न मिल्दैन। उनको विचारमा कलाले समाजलाई प्रश्न गर्न सिकाउनुपर्छ। कलाकारको आवाज केवल पर्दामा सीमित रहनु हुँदैन।

‘अंकुर’ले खोलेको बाटो

सन् १९७४ मा श्याम बेनेगल निर्देशित चलचित्र ‘अंकुर’ बाट आजमीको व्यावसायिक चलचित्र यात्रा सुरु भयो। ग्रामीण भारतको सामन्ती संरचना, शक्ति सम्बन्ध र सामाजिक असमानताको कथा प्रस्तुत गर्ने यो चलचित्रले उनलाई भारतीय समानान्तर सिनेमाको महत्त्वपूर्ण कलाकारका रूपमा स्थापित गर्‍यो।

‘अंकुर’मा लक्ष्मीको भूमिका निर्वाह गरेपछि उनले सन् १९७५ मा सर्वोत्कृष्ट अभिनेत्रीको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरिन्। त्यसपछि ‘अर्थ’, ‘खण्डहर’, ‘पार’ र ‘गडमदर’ जस्ता चलचित्रमा गरेको अभिनयले उनको कलात्मक पहिचानलाई थप बलियो बनायो।

तर आजमीको यात्रा कलात्मक चलचित्रमा मात्र सीमित रहेन। उनले ‘अमर अकबर एन्थोनी’, ‘परवरिश’, ‘अवतार’ र अन्य लोकप्रिय चलचित्रमा पनि अभिनय गरिन्। फरक विधा र दर्शक समूहका चलचित्रमा आफूलाई प्रस्तुत गर्न सक्ने क्षमताले उनलाई भारतीय चलचित्र उद्योगमा अलग स्थान दियो।

व्यावसायिक सफलता, लगानीको जोखिम, दर्शकको रुचि र सिर्जनात्मक स्वतन्त्रताबीच सन्तुलन खोज्नुपर्ने हुन्छ।

आजमीले काठमाडौँको संवादमा एउटा कलाकारले व्यावसायिक चलचित्रमा काम गर्न सक्दैन वा कलात्मक चलचित्रमा मात्र सीमित हुनुपर्छ भन्ने धारणासँग असहमति व्यक्त गरिन्। उनका लागि चलचित्रको विधाभन्दा कथा महत्त्वपूर्ण हुन्छ। त्यो कथा कति इमानदारीपूर्वक प्रस्तुत गरिएको छ र त्यसमा कलाकारले कस्तो योगदान गर्न सक्छ भन्ने प्रश्न निर्णायक हुन्छ।

उनले आफ्नो अनुभवलाई एउटा सरल वाक्यमा प्रस्तुत गरिन्, व्यावसायिक चलचित्रले आर्थिक सुरक्षा दिएको छ भने कलात्मक चलचित्रले आत्मिक सन्तुष्टि।

यो भनाइमा चलचित्र उद्योगको एउटा वास्तविक द्वन्द्व पनि छ। कला र बजारबीचको सम्बन्ध सधैँ सहज हुँदैन। व्यावसायिक सफलता, लगानीको जोखिम, दर्शकको रुचि र सिर्जनात्मक स्वतन्त्रताबीच सन्तुलन खोज्नुपर्ने हुन्छ। तर आजमीले यी दुईलाई एकअर्काका विरोधीका रूपमा बुझिनन्।

संवाद कार्यक्रमका सहभागी।

उनको अभिनय यात्रामा यसको उदाहरण देखिन्छ। ‘अंकुर’ जस्तो सामाजिक यथार्थवादी चलचित्रदेखि लोकप्रिय व्यावसायिक सिनेमासम्म उनले फरक चरित्र निर्वाह गरिन्। पात्रको जटिलता, कथाको गुणस्तर र अभिनयको इमानदारीलाई प्राथमिकता दिइन्।

यस सन्दर्भमा स्वस्तिमाको यात्रा पनि संवादमा जोडियो। व्यावसायिक चलचित्रबाट अभिनय सुरु गरेकी स्वस्तिमाका लागि ‘बुलबुल’ एउटा महत्त्वपूर्ण मोड बन्यो। उक्त चलचित्रमा उनले निर्वाह गरेको चरित्रले उनको अभिनय क्षमतालाई फरक ढङ्गले चिनायो।

दुई अभिनेत्रीका यात्रा समान छैनन्। उनीहरूका चलचित्र उद्योग, समय र सामाजिक परिवेश पनि फरक छन्। तर दुवैको अनुभवमा एउटा साझा पक्ष छ, महिला कलाकारका लागि स्थापित सीमाभन्दा बाहिर गएर आफ्नो अभिनय क्षमता प्रमाणित गर्नु।

विवाहको जगमा मित्रता

संवादको विषय अभिनय र सामाजिक चेतनाबाट व्यक्तिगत सम्बन्धतर्फ मोडियो। स्वस्तिमाले आजमीसँग गीतकार, कवि तथा पटकथा लेखक जावेद अख्तरसँगको वैवाहिक सम्बन्धबारे प्रश्न गरिन्। दुई फरक व्यक्तित्व भएका मानिसले कसरी सम्बन्धलाई सन्तुलित राख्न सक्छन् भन्ने प्रश्नको जवाफमा आजमीले मित्रतालाई सबैभन्दा महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरिन्।

आजमी र अख्तरको वैवाहिक सम्बन्ध सन् १९८४ मा सुरु भएको हो। दुवै भारतीय सांस्कृतिक क्षेत्रमा स्थापित व्यक्तित्व हुन्।

‘सम्बन्धको सबैभन्दा बलियो आधार मित्रता हो। जावेद मसँग सबैभन्दा धेरै मिल्ने साथी हुनुहुन्छ। म पनि उहाँसँग सबैभन्दा धेरै मिल्छु।’ आजमीले आफूलाई न्यूनतमवादी र अख्तरलाई अधिकतमवादी स्वभावको व्यक्ति भनेर चिनाइन्। उनीहरूका रुचि, बानी र व्यक्तित्वमा भिन्नता भए पनि एकअर्काको स्वतन्त्रता र पहिचानलाई सम्मान गर्ने अभ्यासले सम्बन्धलाई बलियो बनाएको उनको भनाइ थियो।

सम्बन्धमा विवाद आउँदा उनीहरूले प्रयोग गर्ने एउटा सामान्य वाक्य पनि उनले सुनाइन्, ‘यसलाई छोडौँ।’

उनका अनुसार बहसले तनाव बढाउन थालेमा केही समयका लागि विषयलाई रोक्ने र दुवै शान्त भएपछि फेरि त्यसमा फर्किएर छलफल गर्ने अभ्यास छ। सामान्य देखिने यो उपायले सम्बन्धमा संवादको ढोका बन्द हुन नदिने उनको अनुभव थियो।

आजमी र अख्तरको वैवाहिक सम्बन्ध सन् १९८४ मा सुरु भएको हो। दुवै भारतीय सांस्कृतिक क्षेत्रमा स्थापित व्यक्तित्व हुन्। उनीहरूको सम्बन्धमा सार्वजनिक चर्चा र व्यक्तिगत जीवनका जटिलता दुवै छन्। तर आजमीले काठमाडौँमा आफ्नो सम्बन्धलाई कुनै आदर्श प्रेमकथाका रूपमा प्रस्तुत गरिनन्। उनले मित्रता, सम्मान, व्यक्तिगत स्वतन्त्रता र एकअर्काका कमजोरी स्वीकार गर्ने क्षमतालाई यसको आधार बताइन्।

स्वस्तिमाले पनि निर्देशक निश्चल बस्नेतसँगको वैवाहिक जीवनका अनुभव साझा गरिन्। उनका अनुसार दुवैको स्वभाव फरक छ। निश्चल अन्तर्मुखी छन् भने उनी बहिर्मुखी। तर जीवनका आधारभूत मूल्य, इमानदारी र सोचमा समानता छ।

दुवै अभिनेत्रीका अनुभवले सम्बन्ध टिकाउन समान रुचि वा स्वभाव हुनु अनिवार्य छैन भन्ने सङ्केत गर्थे। सम्बन्धमा आफ्नो व्यक्तित्व गुमाउनु नपर्ने र अर्को व्यक्तिको स्वतन्त्रतालाई पनि स्वीकार गर्नुपर्ने उनीहरूको अनुभव थियो।

संवादको सबैभन्दा महत्त्वपूर्ण पक्षमध्ये एक महिलाको सामाजिक अवस्था र पितृसत्तात्मक संरचनाविरुद्धको सङ्घर्ष थियो।

व्यक्तिगत सम्बन्धबारेको यो संवादको महत्त्व त्यसको सहजतामा थियो। सार्वजनिक जीवनमा चर्चित व्यक्तित्वहरूले आफ्नो वैवाहिक जीवनलाई सफलताको नमुना बनाएर प्रस्तुत गर्ने प्रवृत्तिभन्दा फरक, आजमी र स्वस्तिमाले भिन्नता स्वीकार गर्ने र त्यसलाई व्यवस्थापन गर्ने अभ्यासबारे कुरा गरे।

पर्दामा बदलिँदै महिला

संवादको सबैभन्दा महत्त्वपूर्ण पक्षमध्ये एक महिलाको सामाजिक अवस्था र पितृसत्तात्मक संरचनाविरुद्धको सङ्घर्ष थियो।

स्वस्तिमाले पर्दामा र पर्दाबाहिर महिलाले पितृसत्ताको सामना कसरी गर्न सक्छन् भन्ने प्रश्न राखिन्। यो प्रश्न दुई अभिनेत्रीको व्यक्तिगत अनुभवसँग मात्र सम्बन्धित थिएन। चलचित्र उद्योगमा महिलाको प्रतिनिधित्व, चरित्र निर्माण, निर्णय प्रक्रियामा सहभागिता र समाजमा महिलालाई हेर्ने दृष्टिकोणसँग पनि जोडिएको थियो।

आजमीले पुराना चलचित्रमा महिला पात्रको प्रस्तुतिलाई सम्झिइन्। कुनै समय मूलधारका चलचित्रमा महिलालाई पुरुष पात्रको कथालाई अघि बढाउने सहायक भूमिकामा सीमित गरिन्थ्यो। उनीहरूको आफ्नै इच्छा, निर्णय र सङ्घर्षभन्दा पुरुषसँगको सम्बन्धले चरित्रको पहिचान निर्धारण गर्थ्यो।

महिला पात्रहरू प्रायः आमा, पत्नी, प्रेमिका वा त्यागको प्रतीकका रूपमा प्रस्तुत हुन्थे। उनीहरूको जीवनको कथा पुरुष पात्रको कथाभन्दा स्वतन्त्र रूपमा अघि बढ्ने अवसर कम थियो।

आजमीले युवा महिला कलाकारलाई आफ्नो कामप्रति इमानदार रहन र आवश्यक पर्दा निर्भीक भएर आवाज उठाउन आग्रह गरिन्।

तर चलचित्रको संसार स्थिर छैन। समाजमा महिलाको बदलिँदो भूमिका र दर्शकको अपेक्षासँगै पर्दामा प्रस्तुत हुने महिला पात्र पनि परिवर्तन भइरहेका छन्। आजमीले अहिले महिलालाई केन्द्रमा राखेर कथा भन्ने प्रयास बढिरहेको बताइन्। उनका अनुसार परिवर्तनको यो यात्रामा कलाकारको महत्त्वपूर्ण भूमिका हुन्छ। समाजलाई आफ्नै व्यवहार र मान्यतामाथि प्रश्न गर्न बाध्य पार्ने कथा भन्न सक्नुपर्छ।

यो भनाइको अर्थ महिला पात्रलाई केवल बलियो देखाउनु मात्र होइन। उनीहरूका कमजोरी, द्विविधा, इच्छा, असफलता, निर्णय र सङ्घर्षलाई पनि मानवीय जटिलतासहित प्रस्तुत गर्नु हो। महिला चरित्रलाई पुरुष पात्रको तुलनामा मात्र मूल्याङ्कन गर्ने दृष्टिकोणबाट बाहिर निकाल्नु हो। आजमीले युवा महिला कलाकारलाई आफ्नो कामप्रति इमानदार रहन र आवश्यक पर्दा निर्भीक भएर आवाज उठाउन आग्रह गरिन्।

उनको अभिनय यात्रामा महिला पात्रको विविधता महत्त्वपूर्ण पक्ष रहँदै आएको छ। ‘अर्थ’मा वैवाहिक सम्बन्धको जटिलता र आत्मसम्मानको प्रश्न छ। ‘फायर’मा महिला प्रेम, यौनिकता र परम्परागत सामाजिक मान्यतासँगको द्वन्द्व प्रस्तुत गरिएको छ। ‘पार’मा सामाजिक तथा आर्थिक शोषणको कठोर यथार्थ छ। यी चलचित्रमा महिला पात्र केवल घटनाको साक्षी होइनन्, कथाको नैतिक र भावनात्मक केन्द्र पनि हुन्।

लोकप्रियता गुम्ने डरले महत्त्वपूर्ण सामाजिक प्रश्नबाट टाढा रहनु कलाकारको जिम्मेवारीबाट पछि हट्नु हो भन्ने उनको विचारसँग संवादको मूल भाव जोडिएको थियो।

विशेषतः दीपा मेहताको ‘फायर’ले भारतीय समाजमा महिला सम्बन्ध, यौनिकता र परम्परागत परिवार संरचनाबारे व्यापक बहस जन्माएको थियो। चलचित्र प्रदर्शनपछि विरोध र विवादसमेत भएको थियो। त्यसले एउटा महत्त्वपूर्ण प्रश्न उठायो, कला र सिनेमाले समाजमा स्थापित मान्यतामाथि प्रश्न उठाउँदा त्यसलाई कति हदसम्म स्वीकार गर्न सकिन्छ?

आजमीका लागि यस्ता प्रश्न चलचित्रको स्वाभाविक क्षेत्रभित्र पर्छन्। कलाकारले समाजलाई असहज लाग्ने विषय उठाउन सक्नुपर्छ। लोकप्रियता गुम्ने डरले महत्त्वपूर्ण सामाजिक प्रश्नबाट टाढा रहनु कलाकारको जिम्मेवारीबाट पछि हट्नु हो भन्ने उनको विचारसँग संवादको मूल भाव जोडिएको थियो।

तर पर्दामा महिला पात्रको उपस्थिति बढ्नु मात्रै पर्याप्त छैन। चलचित्र निर्माणका निर्णय गर्ने तहमा महिलाको सहभागिता, पारिश्रमिकमा समानता, कार्यस्थलको सुरक्षा, यौन दुर्व्यवहारविरुद्ध प्रभावकारी संयन्त्र र महिला निर्देशक तथा लेखकका लागि अवसर पनि उत्तिकै आवश्यक छन्।

आफ्नो करियरमा सफलता प्राप्त गर्नु महत्त्वपूर्ण छ, तर त्यसले अर्को पुस्ताका लागि अवसरको ढोका खोल्न सक्नुपर्छ।

यो प्रश्न भारतीय चलचित्र उद्योगमा मात्र सीमित छैन। नेपाली चलचित्र क्षेत्रमा पनि महिला कलाकारको लोकप्रियता र उपस्थितिका बाबजुद निर्माण, लगानी, लेखन, निर्देशन र निर्णय प्रक्रियामा उनीहरूको प्रतिनिधित्वबारे बहस आवश्यक छ।

स्वस्तिमाको उपस्थितिले यो संवादलाई नेपाली चलचित्र उद्योगको सन्दर्भसँग जोडेको थियो। उनी नयाँ पुस्ताकी लोकप्रिय अभिनेत्री हुन्। तर लोकप्रियता र उद्योगभित्रको संस्थागत शक्ति एउटै कुरा होइनन्। पर्दामा प्रमुख भूमिका पाउनु र चलचित्रको कथा, बजेट तथा निर्माणसम्बन्धी निर्णयमा प्रभाव राख्नु फरक विषय हुन्।

आजमीको भनाइले महिला कलाकारका लागि व्यक्तिगत सफलता र सामूहिक परिवर्तनबीचको सम्बन्ध पनि देखाउँछ। आफ्नो करियरमा सफलता प्राप्त गर्नु महत्त्वपूर्ण छ, तर त्यसले अर्को पुस्ताका लागि अवसरको ढोका खोल्न सक्नुपर्छ।

अभिनयभन्दा ठूलो जिम्मेवारी

शबाना आजमीको सार्वजनिक व्यक्तित्व बुझ्न उनको अभिनय र सामाजिक सक्रियतालाई सँगै हेर्नुपर्छ। उनको परिवारमा कला र राजनीतिक विचारबीच दूरी थिएन। कैफी आजमीले साहित्यलाई सामाजिक परिवर्तनको माध्यम ठाने। शौकत कैफीले रङ्गमञ्चमार्फत आफ्नो पहिचान बनाइन्। छोरीले यी दुवै संसारबाट प्रेरणा लिइन्।

आजमीको दृष्टिमा कलाकारले आफू वरिपरिको जीवनलाई नजिकबाट हेर्नुपर्छ। गरिबी, असमानता, शोषण र विभेदलाई केवल कथाको सामग्रीका रूपमा प्रयोग गर्नु पर्याप्त हुँदैन। त्यसले सिर्जना गर्ने मानवीय प्रश्नसँग पनि कलाकार जोडिनुपर्छ।

महिला अधिकार, बालिका शिक्षा, झुपडबस्तीमा बस्ने समुदायको अधिकार र सामाजिक विकासका अभियानमा उनको संलग्नता रहँदै आएको छ।

उनले यसअघि विभिन्न अन्तर्वार्तामा आफ्नो अभिनयको स्रोत जीवन नै भएको बताएकी छन्। समाजसँग सम्बन्धित नभएको कलाकारको सिर्जनात्मकता पनि अपूर्ण हुन सक्छ भन्ने उनको विचार छ। मानिसको जीवन बुझ्ने क्रममा अन्याय देखिन्छ र अन्याय देखेपछि त्यसबारे प्रश्न उठाउनुपर्ने जिम्मेवारी जन्मिन्छ।

यो दृष्टिकोणले उनलाई अभिनयबाहिर पनि सक्रिय बनाएको छ। महिला अधिकार, बालिका शिक्षा, झुपडबस्तीमा बस्ने समुदायको अधिकार र सामाजिक विकासका अभियानमा उनको संलग्नता रहँदै आएको छ।

भारतको संसद्मा राज्यसभा सदस्यका रूपमा उनको सहभागिता पनि यही सार्वजनिक भूमिकाको एउटा हिस्सा थियो। उनी सन् १९९७ देखि २००३ सम्म मनोनीत सदस्यका रूपमा राज्यसभामा रहिन्। संसद्मा कलाकारको उपस्थितिले नीति निर्माणमा कस्तो योगदान दिन सक्छ भन्ने प्रश्नमा उनको अनुभवलाई पनि हेर्न सकिन्छ।

गाउँमा शिक्षा, महिला सीप विकास र रोजगारीका अवसर सिर्जना गर्ने काममा परिवारको संलग्नता रह्यो।

यद्यपि कलाकारको लोकप्रियता आफैँमा सामाजिक परिवर्तनको ग्यारेन्टी होइन। कुनै मुद्दामा सार्वजनिक अभिव्यक्ति दिनु र त्यसको समाधानका लागि निरन्तर काम गर्नु फरक कुरा हुन्। आजमीको जीवनमा यी दुवै पक्ष जोडिएका छन्। उनी सार्वजनिक रूपमा बोल्ने मात्र होइन, सामाजिक संस्थामार्फत काम गर्ने कलाकारका रूपमा पनि परिचित छिन्।

उनका बुबा कैफी आजमीले उत्तर प्रदेशको मिजवाँ गाउँमा विकासका पहल अघि बढाएका थिए। गाउँमा शिक्षा, महिला सीप विकास र रोजगारीका अवसर सिर्जना गर्ने काममा परिवारको संलग्नता रह्यो। यसले सामाजिक परिवर्तनलाई केवल राजनीतिक भाषणमा सीमित नगरी स्थानीय तहमा कसरी व्यवहारमा उतार्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्छ।

काठमाडौँको संवादमा यी सबै गतिविधिको विस्तृत चर्चा भएन। तर आजमीले कलाकारको जिम्मेवारीबारे राखेको विचारलाई उनको जीवनका यी कामसँग जोडेर हेर्दा त्यसको अर्थ अझ स्पष्ट हुन्छ।

कलाकारले समाज परिवर्तन गर्न सक्छ कि सक्दैन भन्ने बहसको उत्तर उनको विचारमा एउटै छैन। कलाकारले सबै समस्या समाधान गर्न सक्दैन। तर समाजले बेवास्ता गरेका विषयलाई सार्वजनिक बहसको केन्द्रमा ल्याउन सक्छ। मानिसलाई आफूले सामान्य ठानेका व्यवहारमाथि पुनर्विचार गर्न प्रेरित गर्न सक्छ।

आजमीले आफ्नो करियरको सुरुवात गर्दा भारतीय चलचित्र उद्योगमा समानान्तर सिनेमा र व्यावसायिक सिनेमाबीच स्पष्ट विभाजन थियो।

त्यस अर्थमा चलचित्र केवल मनोरञ्जनको माध्यम होइन। यो सामाजिक स्मृति, सार्वजनिक बहस र सामूहिक चेतनाको निर्माणमा सहभागी हुने सांस्कृतिक माध्यम पनि हो।

दुई पुस्ताको साझा भाषा

आजमी र स्वस्तिमाको संवादमा एउटा रोचक समानता थियो। दुवै अभिनेत्री फरक चलचित्र उद्योग र पुस्ताबाट आएका भए पनि अभिनयलाई आफ्नो पहिचान निर्माण गर्ने माध्यमका रूपमा लिन्छन्।

आजमीले आफ्नो करियरको सुरुवात गर्दा भारतीय चलचित्र उद्योगमा समानान्तर सिनेमा र व्यावसायिक सिनेमाबीच स्पष्ट विभाजन थियो। कलात्मक चलचित्रले सामाजिक यथार्थ र प्रयोगलाई महत्त्व दिन्थ्यो भने व्यावसायिक चलचित्रको प्राथमिकता मनोरञ्जन र बजार थियो। उनले यी दुवै क्षेत्रमा काम गरेर त्यो विभाजनलाई आफ्नो अभिनय यात्रामा बाधक बन्न दिइनन्।

स्वस्तिमाको पुस्ताले भने फरक परिवेशमा काम गरिरहेको छ। नेपाली चलचित्र उद्योगमा डिजिटल प्रविधि, नयाँ वितरण माध्यम, सामाजिक सञ्जाल र दर्शकको बदलिँदो रुचिले अभिनय तथा चलचित्र निर्माणका अवसर र चुनौती दुवै परिवर्तन गरेका छन्।

‘बुलबुल’ जस्ता चलचित्रले उनलाई स्थापित व्यावसायिक छविभन्दा बाहिर गएर फरक चरित्र निर्वाह गर्ने अवसर दिएको थियो। यसले उनको अभिनय क्षमताबारे नयाँ बहस सिर्जना गर्‍यो।

कलाकारले कस्तो कथा रोज्ने, कस्तो चरित्र निर्वाह गर्ने र सार्वजनिक रूपमा कुन विषयमा बोल्ने भन्ने निर्णयमा आफ्नो विवेक प्रयोग गर्न पाउनुपर्छ।

तर दुई पुस्ताबीचको तुलना केवल चलचित्रको विधा वा लोकप्रियतामा सीमित हुँदैन। दुवैका लागि महिला पात्रको अर्थ, आफ्नो पेसाप्रतिको इमानदारी र समाजसँग कलाकारको सम्बन्ध महत्त्वपूर्ण विषय हुन्। आजमीको अनुभवले लामो अभिनय यात्रामा कलाकारले आफ्नो पहिचान कसरी जोगाउन सक्छ भन्ने प्रश्न उठाउँछ। स्वस्तिमाको अनुभवले नयाँ पुस्ताले बदलिँदो उद्योगमा आफ्नो स्थान कसरी निर्माण गरिरहेको छ भन्ने देखाउँछ।

यी दुई अनुभवलाई जोड्ने अर्को पक्ष स्वतन्त्रता हो। कलाकारले कस्तो कथा रोज्ने, कस्तो चरित्र निर्वाह गर्ने र सार्वजनिक रूपमा कुन विषयमा बोल्ने भन्ने निर्णयमा आफ्नो विवेक प्रयोग गर्न पाउनुपर्छ। तर स्वतन्त्रतासँग जिम्मेवारी पनि जोडिन्छ। दर्शकको विश्वास प्राप्त गरेका कलाकारले आफ्नो प्रभावलाई कसरी प्रयोग गर्छन् भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ।

आजमीको जीवनमा अभिनय र सामाजिक सक्रियताबीचको सम्बन्धले यही प्रश्नलाई निरन्तर उठाएको छ। स्वस्तिमाका लागि पनि यो संवाद नयाँ पुस्ताको कलाकारले आफ्नो पेसागत पहिचानभन्दा परको सामाजिक भूमिकाबारे सोच्ने अवसर हुन सक्छ।

दर्शकसँग जोडिएको जीवन

संवादको अन्त्यतिर प्रश्नोत्तरको समय सुरु भयो। प्रेक्षालयमा उपस्थित एक सहभागीले आफू शबाना आजमीका चलचित्र हेर्दै हुर्किएको र उनलाई आफ्नै अगाडि देख्दा विश्वास गर्न गाह्रो भइरहेको बताए। त्यो क्षणले संवादको वातावरणलाई केही भावुक बनायो।

स्वस्तिमाका प्रश्नले आजमीलाई आफ्ना अनुभव सुनाउने अवसर दिए। आजमीका जवाफले स्वस्तिमाको पुस्तालाई अभिनयभन्दा परको संसारबारे सोच्ने ठाउँ दिए।

आजमीले दर्शकको माया र सम्मानलाई आत्मीयतापूर्वक स्वीकार गरिन्। लामो अभिनय यात्रामा कलाकारले पुरस्कार र प्रशंसाभन्दा बाहिर पनि एउटा सम्बन्ध निर्माण गरेको हुन्छ। त्यो सम्बन्ध पर्दामा देखिने चरित्रबाट सुरु हुन्छ, तर समयसँगै दर्शकको व्यक्तिगत स्मृतिको हिस्सा बन्न पुग्छ।

कसैले उनको चलचित्र हेरेर बाल्यकाल बिताएको हुन्छ। कसैले कुनै चरित्रमा आफ्नो जीवनको अनुभव भेटेको हुन्छ। कसैका लागि उनको अभिनय एउटा विशेष समयको सम्झना बनेको हुन्छ। कलाकारले सबै दर्शकको जीवनमा समान प्रभाव पार्दैन, तर कुनै एउटा भूमिकाले पनि कसैको स्मृतिमा लामो समयसम्म स्थान बनाउन सक्छ।

आजमीको लामो करियरको एउटा महत्त्वपूर्ण पक्ष यही हो। उनका चलचित्र फरक समयका दर्शकले हेरेका छन्। फरक पुस्ताले उनका अभिनयका फरक अर्थ निकालेका छन्। ‘अंकुर’देखि ‘फायर’सम्मका चरित्रहरूले भारतीय समाजका बदलिँदा प्रश्नलाई पर्दामा ल्याएका छन्। उनले पाएको राष्ट्रिय सम्मान र लोकप्रियता उनको अभिनय यात्राका उपलब्धि हुन्। तर दर्शकको त्यो आत्मीय प्रतिक्रिया कलाकार र समाजबीचको सम्बन्धको अर्को प्रमाण थियो।

काठमाडौँको त्यो वर्षायुक्त शनिबार दुई अभिनेत्रीले आफ्नो जीवनका अनुभव साटे। तर उनीहरूको संवादले उठाएका प्रश्न चलचित्रको सीमाभन्दा बाहिरसम्म पुगे।

स्वस्तिमाका प्रश्नले आजमीलाई आफ्ना अनुभव सुनाउने अवसर दिए। आजमीका जवाफले स्वस्तिमाको पुस्तालाई अभिनयभन्दा परको संसारबारे सोच्ने ठाउँ दिए। संवादमा कुनै औपचारिक निष्कर्ष घोषणा गरिएको थिएन। तर यसको मूल सन्देश स्पष्ट थियो, कलाकारको जीवन उसको पर्दामा देखिने सफलताभन्दा धेरै फराकिलो हुन्छ।

त्यहाँ परिवारबाट सिकिएको समानताको अभ्यास थियो। आर्थिक अभावबीच निर्माण भएको कल्पनाशीलता थियो। बुबाबाट प्राप्त पेसागत इमानदारीको शिक्षा थियो। प्रेम र विवाहमा मित्रताको महत्त्व थियो। पितृसत्ताविरुद्ध आवाज उठाउने प्रतिबद्धता थियो। अनि दर्शकसँग वर्षौँसम्म टिकिरहने सम्बन्ध थियो।

काठमाडौँको त्यो वर्षायुक्त शनिबार दुई अभिनेत्रीले आफ्नो जीवनका अनुभव साटे। तर उनीहरूको संवादले उठाएका प्रश्न चलचित्रको सीमाभन्दा बाहिरसम्म पुगे।  कलाकारले समाजलाई कस्तो कथा सुनाउँछ? उसले पर्दामा कस्ता मानिसलाई स्थान दिन्छ? आफ्नो लोकप्रियतालाई कसरी प्रयोग गर्छ? र, आफूले पाएको स्वतन्त्रताका लागि अर्को पुस्ताले पनि समान अवसर पाउनुपर्छ भन्ने आवाज कति दृढतापूर्वक उठाउँछ?

प्रेक्षालयमा दर्शकले ताली बजाउँदा एउटा कलाकारको लामो यात्राप्रति सम्मान व्यक्त भइरहेको थियो।

आजमीको जीवनले यी प्रश्नको एउटा सम्भावित उत्तर प्रस्तुत गर्छ। कलाकारको वास्तविक उचाइ उसले निर्वाह गरेका चरित्र वा प्राप्त गरेका पुरस्कारले मात्र निर्धारण गर्दैन। उसले आफ्नो समय, समाज र मानिसहरूसँग कस्तो सम्बन्ध बनायो भन्ने कुराले पनि निर्धारण गर्छ।

प्रेक्षालयमा दर्शकले ताली बजाउँदा एउटा कलाकारको लामो यात्राप्रति सम्मान व्यक्त भइरहेको थियो। तर त्यो तालीभित्र एउटा अर्को अर्थ पनि थियो, पर्दामा देखिएका चरित्रहरू समयसँगै ओझेल पर्न सक्छन्, चलचित्रका दृश्यहरू पुराना हुन सक्छन्, तर इमानदार कलाले उठाएका प्रश्नहरू बाँकी रहन्छन्।

सायद यही नै कलाभन्दा परको जीवन हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।