विज्ञापन
कृषि

सयपत्री बेचेर १० लाख कमाउने लक्ष्य

तनहुँ।तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीमूल यान्चोकका महिलाले आगामी तिहारमा १० लाख रुपैंयाँ मूल्यको सयपत्री फूल बिक्री गर्ने तयारी गरेका छन्। सामूहिक रूपमा व्यावसायिक फूलखेती गर्दै आएका महिलाले गत वर्ष पनि नौ लाख रुपैंयाँ बराबरको फूल बिक्री गरेका थिए।

तिहार नजिकिएसँगै आँधीमूलका खेतबारी अहिले ढकमक्क फुलेका सयपत्री फूलले पहेँलपुर बनेको देख्न पाइन्छ। अहिले त्यस क्षेत्रका महिला फूल टिप्ने, बिक्रीका लागि तयारी गर्ने र भण्डारण गर्ने काममा व्यस्त छन्। टिपिएका फूललाई बिक्रीको समयसम्म ताजा राख्न चिस्यान केन्द्रमा भण्डारण गरिएको समूहका अध्यक्ष सुन्तली गुरुङले बताइन्।

तीन वर्षअघि स्थानीय महिलाले सुरु गरेको व्यावसायिक सयपत्री फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ। यसमा ४५ जना महिला आबद्ध छन्। सामूहिक रूपमा गरिएको फूलखेती उनीहरूका लागि आम्दानीको स्रोत मात्रै बनेको छैन, आर्थिक आत्मनिर्भरतातर्फ अघि बढ्ने अवसर समेत बनेको उनले बताइन्।

विज्ञापन

फूलखेतीको उत्पादन र क्षेत्रफल बढ्दै गएपछि बजारमा पनि माग आउन थालेको छ। पहिलो चरणमा टिपिएको फूलमध्ये ५० किलोको माग आएको थियो। दमौलीमा कोसेली घर सञ्चालन गर्दै आएकी उद्यमी कल्पना गौलीले उक्त फूल खरिद गरिसकेकी छन्।

गुरुङका अनुसार फूलखेतीलाई निरन्तरता दिँदै उत्पादन बढाउन र बजार विस्तार गर्न सके महिलाको आम्दानीमा थप वृद्धि गर्न सकिन्छ। स्थानीयस्तरमै सयपत्री फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनु पर्ने निर्भरता घटाउन पनि सहयोग पुगेको उनले बताइन्। उनका अनुसार प्रतिकिलो चार सय रुपैंयाँसम्म फूल बिक्री हुने गरेको छ।

तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले महिलाले उत्पादन र बिक्रीलाई सोहीअनुसार व्यवस्थापन गरिरहेका छन्। फूल टिपेर चिस्यान केन्द्रमा राख्ने व्यवस्थाले बिक्रीका लागि तयार पारिएको फूल ताजा राख्न सहयोग पुगेको उनले उल्लेख गरिन्।

आँबुखैरेनी गाउँपालिकाको कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार व्यावसायिक फूलखेतीका लागि बजारको समस्या छैन। स्थानीयस्तरमै महिलाले उत्पादन गरेको फूलको माग आउन थालेपछि उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुगेको उनले बताए।

सामूहिक प्रयास, बजारको माग र चाडपर्वमा हुने फूलको खपतलाई आधार बनाएर आँधीमूलका महिला यस वर्षको बिक्री लक्ष्य पूरा गर्ने तयारीमा छन्।

तिहारमा घर, मठमन्दिर र सार्वजनिकस्थल सजाउन प्रयोग हुने सयपत्री फूलको व्यावसायिक खेतीले स्थानीय उत्पादनलाई बजारसँग जोड्नुका साथै महिलाको आम्दानी बढाउने सम्भावना देखाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कृषि बाट थप

थप — कृषि

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।