ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

उच्च अदालतले भन्यो: मैथिली, भोजपुरी र बज्जिकालाई मधेशको सरकारी कामकाजको भाषा बनाउनू

मधेश प्रदेशमा नेपाली भाषाबाहेक मैथिली, भोजपुरी र बज्जिका भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न आवश्यक कानुनी व्यवस्था गर्न उच्च अदालत जनकपुरले निर्देशनात्मक आदेश जारी गरेको छ। अदालतले भाषिक अधिकारलाई मौलिक हकसँग जोड्दै संविधानप्रदत्त अधिकारको प्रभावकारी कार्यान्वयनका लागि कानुन निर्माण गर्नु राज्यको दायित्व भएको व्याख्या गरेको छ।

उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश श्यामकुमार भट्टराईको संयुक्त इजलासले रुक्शना कपालीले दायर गरेको परमादेशसम्बन्धी रिटमा यस्तो आदेश दिएको हो। हालै सार्वजनिक भएको फैसलाको पूर्णपाठमा संविधानको भाषा तथा संस्कृतिसम्बन्धी मौलिक हकसँग तादात्म्यता हुने गरी आवश्यक कानुनी व्यवस्था गर्न विपक्षीहरूका नाममा निर्देशनात्मक आदेश जारी गरिएको उल्लेख छ।

अदालतको आदेशअनुसार भाषा आयोगले २०७८ सालमै सरकारी कामकाजको भाषासम्बन्धी सिफारिस नेपाल सरकारसमक्ष पेस गरेको थियो। उक्त सिफारिसमा मधेश प्रदेशमा मैथिली, भोजपुरी र बज्जिका भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न सिफारिस गरिएको थियो।

विज्ञापन

विधेयक ल्याइयो, फेरि फिर्ता

मुद्दाको सुनुवाइका क्रममा मधेश प्रदेश सरकार र सम्बन्धित मन्त्रालयहरूले पेस गरेका लिखित जवाफअनुसार प्रदेश सरकारले नेपालीबाहेक मैथिली, भोजपुरी, बज्जिकालगायत भाषालाई सरकारी कामकाजको भाषा बनाउने उद्देश्यले ‘प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ प्रदेशसभामा पेस गर्ने प्रक्रिया अघि बढाएको थियो।

प्रदेश मन्त्रिपरिषद्ले २०८१ कात्तिक ८ गते उक्त विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको थियो। तर, मन्त्रिपरिषद्ले २०८१ माघ ११ गते प्रदेशसभामा पेस गरिएको विधेयक फिर्ता लिने निर्णय गरेको अदालतको आदेशमा उल्लेख छ।

प्रदेश सरकारले पनि आफ्नो लिखित जवाफमा विधेयक फिर्ता लिएको तथ्य स्वीकार गरेको थियो। यसरी कानुन निर्माणको पहल भए पनि प्रक्रिया अन्तिम निष्कर्षमा पुग्न नसकेको अदालतले औँल्याएको छ।

प्रदेशसभा सचिवालयले कानुन निर्माण गर्ने अधिकार प्रदेशसभाको भएको जिकिर गर्दै रिट खारेज गर्न माग गरेको थियो। शिक्षा तथा संस्कृति मन्त्रालयले रिट दायर हुनुअघि नै विधेयक प्रदेशसभामा पेस भइसकेको आधारमा निवेदन खारेज गर्न माग गरेको थियो। गृह, सञ्चार तथा कानुन मन्त्रालयले भने भाषासम्बन्धी कानुन तर्जुमा गर्ने क्षेत्राधिकार शिक्षा तथा संस्कृति मन्त्रालयमा रहेको जिकिर गरेको थियो।

भाषिक अधिकार कार्यान्वयन गर्नु राज्यको दायित्व

अदालतले भाषिक अधिकारसम्बन्धी संवैधानिक व्यवस्थालाई नीतिगत घोषणा वा प्रतीकात्मक व्यवस्थामा मात्र सीमित गर्न नमिल्ने व्याख्या गरेको छ। संविधानले प्रत्याभूत गरेका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्नु राज्यको दायित्व भएको फैसलामा उल्लेख छ।

आदेशमा भाषिक न्याय र समावेशी शासनका सिद्धान्तलाई समेत महत्त्व दिइएको छ। बहुभाषिक समाजमा राज्यले विभिन्न भाषिक समुदायको पहिचान, सम्मान र सहभागिता सुनिश्चित गर्नुपर्ने अदालतको ठहर छ।

अदालतले समानताको अवधारणा औपचारिक समानतामा मात्र सीमित नहुने उल्लेख गर्दै ऐतिहासिक रूपमा पछाडि पारिएका भाषिक समुदायको सशक्तीकरणका लागि आवश्यक उपाय अवलम्बन गर्नुपर्ने जनाएको छ। राज्यको संरचना, प्रशासनिक प्रक्रिया, शिक्षा प्रणाली र न्यायिक संयन्त्रमा भाषिक विविधताको समुचित समावेश आवश्यक रहेको फैसलामा उल्लेख छ।

भाषिक विविधताको अवहेलनाले राज्यका नीति तथा सेवा प्रवाहबाट केही समुदाय बहिष्करणमा पर्न सक्ने र त्यसले दीर्घकालीन रूपमा असमानता तथा असन्तोष बढाउन सक्ने विषय पनि अदालतले औँल्याएको छ।

विधेयक प्रदेशसभामा पेस भएर पनि फिर्ता लिइएको तथ्यले भाषासम्बन्धी कानुन निर्माण प्रक्रिया पूरा नभएको स्पष्ट भएको अदालतको ठहर छ। त्यसैले संविधानमा व्यवस्था गरिएको भाषा तथा संस्कृतिसम्बन्धी मौलिक हकसँग तादात्म्यता हुने गरी आवश्यक कानुनी प्रबन्ध गर्न अदालतले निर्देशनात्मक आदेश जारी गरेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।