दाङ।जिल्ला भूमि समस्या समाधान समितिले आज यहाँका आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखरेलले आठ जना भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेका हुन्।
अध्यक्ष पोखरेलले दिएको जानकारीअनुसार साविकको गोवरडिया गाविस वडा नं ६ ‘ख’ (हाल गढवा–३) का पाँच, साविक सोनपुर–५ ‘क’ (हाल लमही नगरपालिका ३) का दुई र साविक लालमाटिया–३ का (हाल राप्ती गाउँपालिका–१) का एक जना भूमिहीन दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ।

भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।